बेलबासका एक युवक तीनदिनदेखि झापुटारबाट बेपत्ता, तीन पक्राउ, दुई फरार

दमौली : तनहुँको ब्यास नगरपालिका–१३ बेलबासका २७ वर्षीय कमलेस चन्द ठकुरी गत साउन ७ गतेदेखि रहस्यमय ढंगले बेपत्ता भएका छन् ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा साथीहरूसँग गएका उनी सोही दिनदेखि सम्पर्कविहीन भएको उनका परिवारले जनाएका छन् ।
बेपत्ता युवाका पिता दिलबहादुर चन्दका अनुसार छोराको खोजीका लागि आफन्त, स्थानीयबासी तथा प्रहरीले समेत प्रयास जारी राखेपनि हालसम्म कुनै पत्तो लाग्न सकेको छैन ।
‘मेरो छोरा कहाँ के–कस्तो अवस्थामा छ, त्यसको जानकारी चाहियो’ भनि उनले न्याय माग गर्दै शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनका अनुसार केही युवाहरूले छोरालाई लखेटेर बेपत्ता बनाएको आशंका गरिएको छ ।
यस घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक अशोक थापाले प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट तीन जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । साथै, फरार रहेका थप दुई जनाको खोजी कार्य तीव्र पारिएको पनि उनले बताए ।
‘हराउनुभन्दा केही समयअघि झापुटारमा भेटिएका युवाहरूलाई संकाको आधारमा नियन्त्रणमा लिई अभद्र व्यवहारमा म्याद थपको लागि ल्याइएको हो’, उनले भने । अनुसन्धानको सिलसिलामा दुई जना युवतीहरूलाई पनि सोधपुछका लागि ल्याइएको प्रहरी स्रोतले जनाएको छ ।
कमलेस चन्द ठकुरीको रहस्यमय बेपत्तापछि स्थानियबासीमा चासो तथा चिन्ता बढेको छ । घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि कडा कारबाहीको माग उठ्न थालेको छ ।










