वृद्धाश्रम, विद्यार्थी तथा चेपाङ समुदायलाई शाहीले गरे खाद्यन्न तथा न्यानो कपडा सहयोग
भञ्ज्याङ न्यूज (दमौली)

वृद्धाश्रमका वृद्धवृद्धा, विद्यार्थी तथा चेपाङ समुदायलाई न्यानो कपडा सहयोग गरिएको छ । व्यवसायी तथा रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास-२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले स्वर्गीय मातापिताको स्मृतीमा व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको एक/एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।
पिताचन्द्र बहादुर शाही र माता छविन्द्रकुमारी शाहीको स्मृतिमा रजनले व्यास-११ रामथुम्की स्थित चण्डेश्वरी आधारभूत विद्यालयका २२ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । विद्यालयमा अध्ययरत् सिमान्तकृत, विपन्न चेपाङ समुदायका बालबालिकालाई ट्रयाक सुट र जुत्तामोजा सहयोग गरेका हुन् ।
जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु भन्दा वृद्धवृद्धा तथा बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको शाहीले बताए। सामाजिक उत्तरदायित्व बहन गर्दै आफुले परदेशमा कमाएको केही अंश आफ्नो भूमिमा सहयोग गर्न पाउनु गर्वको कुरा हो उनले भने । फजुल खर्च गर्न भन्दा सामाजिक काममा गरिने योगदानले बालबालिकाको शैक्षिक गुणस्तर उकास्न मद्दत पुग्ने भन्दै शाहीले स्वदेश तथा विदेशमा रहेका साथीभाईरुलाई यसरी नै मद्दत गर्न आग्रह समेत गरे ।
विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट र विद्याल यव्यवस्थापन समितिका अध्यक्ष रामबहादुर परियारले विदेशमा परिश्रम गरी स्वदेशको शैक्षिक विकासमा शाहीले गरेको योगदान प्रशंसनीय रहेको बताए ।
त्यस्तै शाहीले व्यास-५ पराशर स्थित राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्लाकार्य समिति तनहुँद्वारा सञ्चालित जेष्ठ नागरिक चौतारी वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । दैनिक उपभोग्य चामल, दाल, तेल, आटा, मसला लगायतका सामग्री शाहीले आश्रमलाई उपलब्ध गराएका हुन् । सहयोग सामाग्री प्रति आभार व्यक्त गर्दै आश्रमका उपाध्यक्ष सु. बलबहादुर रानाभाटले यस्तै दाताहरुको सहयोगबाट आश्रम चलेको बताए ।
शाहीले आइतबारै भानु नगरपालिका-६ चेपाङबस्तीका ८ घरपरिवारलाई सिरक हस्तान्तरण गरे। चण्डेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक शंकर रानाभाट मार्फ सो गाउँमा न्यानो कपडाको अभाव भएको भन्ने जानकारी पाएपछि आफुले सहयोग गरेको शाहीले बताए ।
त्यस्तैगरी शाहीले बन्दीपुर-१ भुडाँटार स्थित ज्योति प्रथामिक विद्यालयका ४० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । रोटर्याक्ट क्लबअफ वेदव्यासले शाहीसँग समन्वय गरी क्लबको अफरिङ ह्याप्पीनेस-२ प्रोजेक्ट अन्तर्गत बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष सन्जु घलेले जानकारी दिइन्।










