आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान खरिद–विक्री नगर्न तनहुँ प्रहरीको आग्रह

दमौली : तनहुँमा भदौ २४ गते भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा सरकारी तथा निजी संरचना, कार्यालयका कागजात, बहुमूल्य सामग्री र नगद समेत लुटपाट भएको तनहुँ प्रहरीले जनाएको छ ।
कार्यालयका कागजात, बहुमूल्य सामाग्री र नगद समेत लुटपाट भएको घटनाबारेमा जिल्ला प्रहरी कार्यालय तनहुँले गम्भीर चासो व्यक्त गर्दै चोरी तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाएका छन् ।
उनका अनुसार प्रदर्शनका क्रममा केही समूहले विभिन्न भवनमा आगजनी र तोडफोड गर्नुका साथै त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा सामग्री नष्ट गरेका थिए । साथै बहुमूल्य सामान तथा नगद समेत लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले शनिबार एक सूचना जारी गर्दै यस्तो अवस्थामा चोरी वा लुटपाट भएका सामानहरूको खरिद–विक्री तथा सञ्चय नगर्न सबैलाई अनुरोध गरेको छ । सूचनामा भनिएको छ, ‘यस्ता सामानहरू खरिद–विक्री वा सञ्चय गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही हुनेछ ।’
प्रहरीलाई सहयोग गर्न आह्वान
प्रहरीले यस्ता चोरी तथा लुटपाट भएका सामानबारे कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा खबर गर्न, वा त्यस्ता सामान भेटिएमा बुझाउन समेत आग्रह गरेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय तनहुँको कन्ट्रोल रुम ९८५६०९०१७८ वा प्रहरी हेल्पलाइन १०० मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।
प्रहरी नायब उपरीक्षक थापाले शान्ति–सुरक्षाको अवस्था कायम राख्न जनसहभागिता अपरिहार्य रहेको भन्दै नागरिकलाई सचेत र जिम्मेवार हुन आग्रह गरेका छन् ।










