प्रणय दिवसमा बागबजार युवा क्लवद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

दमौली । व्यास नगरपालिका-२ स्थित बागबजार युवा क्लवले प्रणय दिवसको अवसर पारेर दुई वटा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
क्लवले व्यास नगरपालिका-५ पाटनस्थित राष्ट्रिय परोपकार महासंघद्वारा सञ्चालित ज्येष्ठ नागरिक आश्रम र सोही वडाको वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत क्लवले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको क्लवका अध्यक्ष सुदीप गफ्फारले जानकारी दिए । उनले भने, ‘प्रणय दिवसमा केही नयॉ कार्यक्रम गरौ भनेर वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेका हौ ।’
राष्ट्रिय परोपकार महासंघ तनहुँका अध्यक्ष तारानाथ घिमिरेले दाताको सहयोगले आश्रम सञ्चालनमा सहयोग मिलेको बताए ।उनले भने, ‘विभिन्न व्यक्ति तथा संघसंस्थाले स्वतस्फूर्त सहयोग गरिरहनुभएको छ । जसले गर्दा आश्रम चलाउन सहज भएको छ ।’