व्यास नगरपालिकाको सार्वजनिक सुनुवाई : बजेटको भुक्तानी प्रक्रिया पनि वडाबाटै सहज बनाउनुपर्ने

दमौली : व्यास नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ तनहुँको समन्वयमा आज व्यास नगरपालिका–७ कलेस्तीमा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय बासिन्दाहरूले विविध समस्या तथा गुनासाहरू प्रस्तुत गरेका छन् ।

व्यास–७ का शम्शेरबहादुर कुँवरले गाउँमा बाँदरको आतङ्क बढ्दै गएको भन्दै नियन्त्रणका लागि पहल गर्न माग गर्नुभयो । यस्तै, बलबहादुर रानाले राष्ट्रिय परिचयपत्र वडाबाटै वितरण गर्न र वडाबाट विनियोजन भएको बजेटको भुक्तानी प्रक्रिया पनि वडाबाटै सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय सीता नेपालीले तालिम लिए पनि उद्यमी बन्न पर्याप्त सहयोग नपाएको गुनासो गर्दै नगरपालिकाले उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

व्यास–१० गणेश टोल विकास संस्थाका अध्यक्ष श्रीराम कुँवरले अव्यवस्थित बसोबासीको जग्गा नापजाँच एकैपटक व्यवस्थित ढङ्गले गर्न आग्रह गर्दै बैरेनी जग्गा एकीकरण आयोजनामा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण गराउनुभयो ।

व्यास–६ का बामदेव पण्डितले आस्थाका आधारमा बजेट विनियोजनमा विभेद नगर्न आग्रह गर्नुभयो । व्यास–९ माझफाँटका नारायण न्यौपानेले कुहिने फोहरलाई मलको रूपमा प्रयोग गर्ने र प्लाष्टिक तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि हप्तामा कम्तीमा एक दिन सवारी साधनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, व्यास–७ की सीता गुरुङले वडाले विकास निर्माणमा अपेक्षित प्राथमिकता नदिएको गुनासो राख्नुभयो । त्यसअवसरमा स्थानीय देवी परियार, विजय गिरीले पनि आफ्ना समस्या तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उठेका गुनासाहरू सम्बोधन गर्दै बाँदर नियन्त्रण राष्ट्रियस्तरकै समस्या भएको उल्लेख गर्नुभयो । नगरपालिकाले यसअघि केही प्रयास गरे पनि अपेक्षित सफलता हासिल नभएको भन्दै आगामी दिनमा थप छलफल र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता जनाउँदै नागरिकका गुनासा सम्बोधनलाई प्राथमिकतामा राखिने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरू, खर्च विवरण र उपलब्धिहरू सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा व्यास–५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ, ६ का वडाध्यक्ष जीवन गुरुङ, ७ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, ९ का वडाध्यक्ष सुरेश थापा लगायतले सहभागीका जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले गर्नुभएको थियो ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker