देवघाट गाउँपालिकामा स्वास्थ्य सेवा : उपलब्धी उत्साहजनक, चुनौती यथावत्
स्वास्थ्य सेवा सुधार तथा निःशुल्क सेवा विस्तार गर्दै १० शय्याको अस्पताल बनाउने योजना छ : अध्यक्ष थापा

देवघाट गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ र जनमुखी बनाउने उद्देश्यसहित नीति तथा कार्यक्रम तय गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले सबै वडामा आधारभूत तथा गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य राख्दै सेवा पहुँच विस्तार, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासमा जोड दिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले बताए ।
उनका अनुसार पालिकाले सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने, स्वास्थ्य सेवालाई भरपर्दो र जनमैत्री बनाउन स्वास्थ्य तथा सूचना व्यवस्थापन प्रणाली लागू गर्ने योजना बनाएको छ । विपन्न, दलित, अल्पसंख्यक तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने गरी काम गर्दै आएको अध्यक्ष थापाले बताए ।
स्वास्थ्य संस्थामा नियमित औषधि आपूर्ति सुनिश्चित गरिनुका साथै अस्पताल तथा स्वास्थ्य चौकीमार्फत वितरण हुने निःशुल्क औषधिलाई गुणस्तरीय र सर्वसुलभ बनाउनेतर्फ बजेट व्यवस्था गरिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘भौगोलिक विकटता, ग्रामीण बस्ति, पालिकाको कमजोर आन्तरिक जस्ता कारणले चाहेजस्तो स्वास्थ्य क्षेत्रको सेवा प्रवाह गर्न सकिएको छैन ।’
गर्भवती महिलालाई ८ पटकसम्म निःशुल्क गर्भ परीक्षण तथा संस्थागत सुत्केरी गराए वापत पोषण, प्रोत्साहन वा यातायात खर्च उपलब्ध गराउने व्यवस्था निरन्तरता दिइरहेको बताउँदै अध्यक्ष थापाले भने, ‘वर्थिङ सेन्टरहरूमा सुत्केरी र कुरुवाका लागि बसोबास र खानाको सुविधा समेत मिलाउँदै आइएको छ ।’
गाउँपालिकाले १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई विद्यालयमार्फत १३ हप्ताको अन्तरालमा आइरन–फोलिक एसिड चक्की वितरण गरिने कार्यक्रम पनि सञ्चालनमा गर्दै आएको छ । ग्रामीण क्षेत्रमा गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा विस्तार गर्न उपकरण खरिददेखि सेवा प्रदायकलाई भत्ता तथा यातायात खर्चको व्यवस्था समेत गाउँपालिकाले गर्दै आएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकास, प्रोत्साहन तथा व्यवस्थापनलाई प्राथमिकता दिएको गाउँपालिकाले स्वास्थ्यकर्मीहरूलाई आवश्यकता अनुसार तालिम दिइने तथा दुर्गम क्षेत्रमा खटिएका जनशक्तिलाई यातायात सुविधा उपलब्ध गाउने, उमेर पुगेका तथा अशक्त कर्मचारी र स्वयंसेविकालाई सम्मानजनक बिदाइ गर्ने नीति गाउँपालिकाले बनाएको छ ।
गाउँपालिकाले क्षयरोग, कुष्ठरोग तथा यौनजन्य रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने, मदिरा तथा सुर्तिजन्य पदार्थको बिक्री वितरणलाई व्यवस्थित गर्दै जनस्वास्थ्यमा पर्ने असर न्युनिकरण गर्ने प्रयास गरेको अध्यक्ष थापाले जानकारी गराए । महामारी तथा आकस्मिक रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन तथा गाउँघर क्लिनिक र खोप क्लिनिकलाई आवश्यकता अनुसार विस्तार वा समायोजन गर्दै आएको अध्यक्ष थापाले बताए ।
सबै स्वास्थ्य चौकीमा विद्युत, सोलार तथा इन्टरनेट सुविधा विस्तार, देवघाट धर्मार्थ अस्पतालमा चिकित्सक सेवा निरन्तर सञ्चालन तथा सो अस्पतालको प्रयोगशाला स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको गाउँपालिकाले स्तरीय १० शैयाको अस्पताल निर्माण कार्यलाई निरन्तरता दिँदै समयमै सम्पन्न गर्न संघीय सरकारसँग समन्वय गर्दै आएको छ ।
गम्भीर बिरामीलाई रिफर गर्दा लाग्ने यातायात खर्चका लागि बजेट व्यवस्था गरेको गाउँपालिकाले विभिन्न वडामा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामीण क्षेत्रका बासिन्दाले सहज र शुलभ रुपमा स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइएको अध्यक्ष थापाले बताए ।
संघीय र प्रदेश सरकारसँग सहकार्य गर्दै राष्ट्रिय जनस्वास्थ्य कार्यक्रमहरू सञ्चालन र लक्ष्यअनुसार प्रगति हासिल गर्ने पालिकाको लक्ष्य रहेको छ । ५ वर्ष मुनिका बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्दै घरधुरी सर्वेक्षणमार्फत पूर्ण खोप पालिका घोषणा गरिएको छ ।
देवघाट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सेवा पहुँच विस्तार, पूर्वाधार विकास र जनचेतना अभिवृद्धिलाई सँगसँगै अघि बढाउने रणनीति लिएको अध्यक्ष थापाले बताए । उनले भने, ‘निःशुल्क सेवा, बिमा विस्तार, मातृ–शिशु स्वास्थ्य र रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । यदि योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सके, देवघाट गाउँपालिका ग्रामीण स्वास्थ्य सेवा सुधारको एक उदाहरणीय मोडेलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।’
स्वास्थ्य शाखा प्रमुख : प्रदिप कुमार बुढाथोकी
गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार देवघाटले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तार र गुणस्तर सुधारमा उल्लेखनीय पहल गरेको छ । कुल १३ हजार ८८५ जनसंख्या रहेको यस पालिकामा हाल एक अस्पताल, चार स्वास्थ्य चौकी र दुई सामुदायिक स्वास्थ्य इकाइमार्फत आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकीले जानकारी गराए ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ३ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। पालिकाले स्वास्थ्यलाई कति प्राथमिकतामा राखेको छ भन्ने स्पष्ट पार्दछ। यद्यपि, दीर्घकालीन (५–१० वर्षे) स्वास्थ्य योजना भने अझै निर्माण हुन सकेको छैन ।
पालिकाभित्र रहेको एक अस्पतालबाट २४सैं घण्टा सेवा उपलब्ध छ भने चार स्वास्थ्य चौकीमा सुत्केरी सेवा २४सै घण्टा सञ्चालनमा छन् । पाँच स्थानमा प्रसूति सेवा उपलब्ध हुनु सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । प्रयोगशाला सेवा दुई स्थानमा सञ्चालनमा छ भने पाँच स्वास्थ्य संस्थामा गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले जनाए ।
तर, एम्बुलेन्स सेवाको अभाव अझै चुनौतीकै रूपमा रहेको उनले बताए । आफ्नै एम्बुलेन्स नहुँदा दुई वडामा मात्र पहुँच सीमित छ । गम्भीर बिरामीलाई चितवन मेडिकल कलेजसँगको सहकार्यमा २० प्रतिशत छुटसहित रिफर गर्ने व्यवस्था गरिएको भए पनि स्वास्थ्य बिमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा सर्वसाधारणले समस्या झेल्दै आउनुपरेको छ ।

स्वास्थ्य क्षेत्रमा ४३ जना दरबन्दी अनुसारकै जनशक्ति कार्यरत छन् । तर, विशेषज्ञ चिकित्सकको अभावले सेवा विस्तारमा अवरोध सिर्जना हुने गरेको प्रमुख बुढाथोकीले बताए । उनले भने, ‘दुर्गम भौगोलिक अवस्थाका कारण जनशक्ति टिकाउन कठिनाइ देखिएको छ ।’
पालिकामा संस्थागत सुत्केरी दर बढ्दो क्रममा छ । चालु आर्थिक वर्षको फागुनसम्म ४५ जना महिलाले स्वास्थ्य संस्थामै सुत्केरी सेवा लिएका छन् । साथै, पालिका पूर्ण खोप सुनिश्चित गरिएको घोषणा भइसकेको छ । बालबालिकाको वृद्धि अनुगमन दर पनि उल्लेखनीय रूपमा बढेको स्वास्थ्य शाखाले जनाएको छ ।
पालिकामा ज्वरो, खोकी, छालासम्बन्धी रोग, कमजोरी, पेट दुखाइ, टाउको दुखाइ जस्ता रोगहरू प्रमुख रूपमा देखिने गरेको छ । नसर्ने रोगतर्फ गरिएको एक महिने स्क्रिनिङ अभियानमा १ हजार ६७१ जनाको परीक्षण गर्दा २४३ जनामा उच्च रक्तचाप, १५६ जनामा मधुमेह, ११ जनामा मिर्गौला समस्या र ६०८ जनामा मोटोपना देखिएको तथ्याङ्क रहेको छ । भने, मानसिक स्वास्थ्य सेवा पनि परामर्शदातामार्फत सीमित रूपमा उपलब्ध गराउँदै आइएको छ ।
पालिकाले हालै पूर्ण खोप गाउँपालिका घोषणा पाएको छ भने, संस्थागत सुत्केरी दर वृद्धि र बाल स्वास्थ्य अनुगमनमा सुधार उल्लेखनीय उपलब्धि भएको गाउँपालिकाले जनाएको छ । जिल्लाभरका स्वास्थ्य संस्थामध्ये छिपछिपे स्वास्थ्य चौकी उत्कृष्ट ठहरिनु पनि गौरवको विषय बनेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुढाथोकी बताउँछन् ।
यातायातको अभाव, कमजोर इन्टरनेट सेवा र भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा देखिएको बताउँदै उनले भने, ‘यी समस्याले सेवा प्रवाहलाई प्रभाव पारिरहेका छन् ।’ पालिकाले स्वास्थ्य चौकीहरूमा सार्वजनिक सुनुवाइ र न्यूनतम सेवा मापन प्रणाली लागू गर्नुका साथै गुनासो व्यवस्थापनका लागि गुनासो पेटिका राखिएको छ भने सूचना अधिकारी तोकिएको छ ।
पालिकाले १० शैयाको अस्पताल सञ्चालनमा ल्याउने, घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झार्ने र विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि सारेको छ । साथै, स्वास्थ्य बिमा विस्तार, औषधि आपूर्ति सुधार, किशोरी स्वास्थ्य कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको प्रमुख बुढाथोकीले बताए ।
देवघाट गाउँपालिकाले सीमित स्रोतसाधनबीच स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको देखिन्छ । तर, विशेषज्ञ चिकित्सकको अभाव, एम्बुलेन्स सेवा र भौगोलिक कठिनाइजस्ता चुनौती समाधान गर्न संघ र प्रदेश सरकारसँगको सहकार्य अझ आवश्यक देखिन्छ । स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तर सुधारमा केन्द्रित प्रयास जारी राखेमा पालिका नमुना स्वास्थ्य प्रणालीको रूपमा स्थापित हुन सक्ने सम्भावना छ ।










