ऐतिहासिक राज्य लिगलिगकोट र राजा द्रब्य शाह
देव बस्न्यात

विषय प्रवेश
२०८० साल फागुन ५ गतेका दिन अचानक पालुङटार जाने सुअवसर मिल्यो । बिहान करिब १० बजेको समयमा भतिज मोहन बस्न्यात र भदाह विष्णुबहादुर पाण्डेसंगै हाम्रो पारिवारिक टोलीले लिगलिगकोटको यात्रा सुरुआत गरेको थियो । हामी दरौंदी पुल हुँदै गोखाको बाटोलाई छोडेर बिर्ता, शेरा, पौवाटार हुँदै ठाँटीपोखरी जाने बाटोलाई आफ्नो गन्तब्य बनाएका थियौ । बिर्ति पुगेपछि पालुङटार नगरपालिका-९ मा पारिवारिक भेटघाट भए पश्चात लिगलिगकोट तर्फयात्रा तय गरेका थियौ । पालुङटार बाह्रपिर्के हुँदै लिगलिगकोटको उकालो लागियो । ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्व बोकेको लिगलिगकोट गोरखाली शाह वंशको ऐतिहासिक भूमि थियो ।
लिगलिगकोटको भौगलिक अबस्था
वि.सं. १६१६ मा द्रव्य शाहले गोरखा राज्य स्थापना गरेका हुन् । लिगलगकोट राज्य समुन्द्र सतहबाट करिव १४३७ मिटर उचाइमा रहेको छ । लिगलिगकोट हाल गोरखा जिल्लाको साविक आँपपिपल गाउँ विकास समिति-४ हाल पालुङटार नगरपालिका-२ खोल्लीमा पर्दछ । तत्कालीन लिगलिगकोट राज्यमा साविकका आँपपिपल लगायतका हर्मी, पालुङटार, छोप्राक र खोप्लाङगाउँ विकास समितिहरु पर्दथे । तत्कालीन लिगलिगकोट राज्यमा सातसय घरधुरी भएकाले यस ठाउँलाई सातसय लिगलिगकोट पनि भन्ने गरिन्थ्यो । वि.सं. २०३२ सालसम्म यहाँका जिम्मावाल मुखियाहरुले बाली शेर्मा उठाउँदा लिगलिग मौजे भनेर रसिदमा उल्लेख गर्ने प्रचलन देख्न पाइन्थ्यो ।
लिगलिगकोटको राज्य स्थापना हुनुको पूर्ववस्था
विशाल खसान राज्य स्थापना हुनु पूर्व गोरखामा काठमाडौंका मल्ल राजाहरुको अधिनस्थ भूमि थियो भन्ने कुरा गोरखनाथ गुफाभित्र फेला परेको शिलालेखले जनाउँछ । भोटको शाक्यमठमा रहेको वि.सं. १०५५ को शिलालेख वि.सं. ११५० गण्डकी गुल्म निवासी जीवधर सिंहले सारेको अभिलेखले पनि गोरखा सहितको लिगलिगकोट काठमाडौंको अधिनमा रहेका जनाउँछ । वि.सं. १३४४, १३४५, १३४६ मा सिञ्जाका सम्राट जितारी मल्लले काठमाडौं आक्रमण गर्दा वि.स. १३०४ पहिलो आक्रमण नुवाकोटमा गरेका थिए भन्ने उल्लेख भएकाले गोरखा धादिङको त्रिशुली भु-भाग सिञ्जा साम्राज्य अन्तर्गत थियो भन्ने पुष्टि गर्दछ । बिस्तारै गोरखा सिञ्जा साम्राज्य अन्तर्गत पर्न आयो । वि.सं. १४४५ मा खसान साम्राज्यको जग हल्लिएपछि क्रमशः कर्णाली क्षेत्रमा बाइसी र गण्डकी क्षेत्रमा चौबिसी राज्यको स्थापना भयो ।
वि.सं १५२४ मा आएर पुनः यक्षमल्लले गोरखालाई आफ्नो स्वामित्वमा राखेको पाउँदछौं । काठमाडौं राज्यको भाइ अंश लाग्न थालेपछि आपसमा हुने कलझगडाबाट काठमाडौंको शक्तिमा ह्रास आयो । काठमाडौंका राजा यक्षमल्लले धादिङ र गोरखा राज्य धान्न सकेनन् । वि.संं १५८१/१५८२ मा पाल्पाली राजा मुकुन्द सेनले गोरखा धादिङ क्षेत्र पाल्पा राज्यको मातहतमा राखेका थिए । वि.सं. १६१० मा मुकुन्द सेनले पाल्पा राज्यको राजगध्दी त्याग गर्ना साथ उनको भाइ छोरा तथा भतिजहरुले आफु प्रशासक भएको स्थानलाई स्वयं राजा भएको घोषणा गरे ।
तनहुँका प्रशासक भृङ्गी सेनले विशाल तनहुँ राज्यको सञ्चालन गर्न असमर्थ भएका कारण अजिरकोट, बारपाक, धादिङ र गोरखामाझकोटका मुखियाहरुले आफुलाइ ससक्त बनाउँदै लगे । वि.सं. १५४६ देखि नै लिगलिगकोटमा दौडेर मुखिया हुने प्रथा सुरु भएतापनि यही समयदेखि नै लिगलिगकोट राज्यमा दौड प्रतियोगिता गरेर राजा थपना गर्ने परम्परा बसालिएको थियो भन्न सकिने स्थिति देखिदैन । मर्स्याङ्दी नदी र चेपे नदीको बेनी चेपेघाटबाट लिगलिगकोटसम्म हरेक वर्ष राजा छान्नका लागि दौड प्रतियोगिता हुने गर्दथ्यो । दौडिएर जितेमा राजा हुन पाइने भएपछि लमजुङका राजकुमार द्रव्य शाहले पनि लिगलिगकोटमा हुने दौड प्रतियोगितामा भाग लिने दृड निश्चय गरे । सो दौड जसरी पनि जित्ने अभियानमा द्रव्य शाह अगाडि बढे ।
गैर लिगलिगकोटे भएकोले लिगलिगे घलेहरुले द्रव्यशाहलाई दौडमा समावेश गर्न चाहेनन । द्रब्यशाहले शक्ति प्रयोग गरे । दुब्ले र लिखुरे देखेर घलेहरुले द्रव्य शाहलाई दौडमा सहभागी बनाए । दौड प्रतियोगितामा द्रव्य शाह अघि अघि थिए । जसले द्रव्य शाहलाई दौडमा उछिन्न खोज्दथ्यो उनीहरुलाई द्रव्य शाहका सैनिकहरुले तरवारले काटेर भीरबाट लडाइ दिने गर्दथे । अन्ततः वि.सं. १६०४ मा दौडेर राजा भएका १९ वर्षीय दलसुर घलेले पनि द्रव्यशाहलाई पछि पार्दै कोट पुग्न लागेको बेलामा दरवार भित्रै लुकेर बसेका द्रव्य शाहका सैनिकहरुले घलेलाई काटेर दरवार भित्रै लुकाइ दिए ।
अन्ततः वि.सं. १६१५ मा भएको दौड प्रतियोगिता राजकुमार द्रव्यशाहले जितेको घोषणा गरियो । दौड प्रतियोगितामा प्रथम घोषित भएका लमजुङका राजकुमार द्रब्य शाह विजयदशमीको दिन लिगगिकोटको राजा बनेको घोषणा गरिएका थिए । तत्कालै द्रव्यशाहले गणेश पाण्डेलाई मूलकाजी भागिरथ पन्तलाई सेनापति, नारायण अर्याललाई राजगुरु, सर्वेश्वर खनालालई पुरोहित, केशव बोहरालाई राजस्व हेर्ने काजी र गङ्गाराम खवास र मुक्ति खवासलाई सुरक्षा अधिकारीको रुपमा नियुक्त गरी सदा-सदाको लागि लिगलिगकोटलाई तनहुँबाट अलग गर्राई द्रव्यशाहले स्वतन्त्र लिगलिगकोट राज्य घोषण गरेका थिए ।
पितृअंशको राज्य जोगाउन नसक्नु
वि.सं. १६०३ भनिएता पनि वि.सं. १६१० सम्म आइपुग्दा पाल्पाको अधिनमा रहेको गोरखा भाइ अँश लगाउँदा तनहुँ राज्यको अधिनमा परेको थियो । पाल्पा राज्यबाट पितृअंशमा पाएको मर्स्याङदी देखि बूढीगण्डकी सम्मको गोरखाको भु-भाग पुनः तनहुँले कहिले पनि आफ्नो बनाउन सकेन । विशाल तनहुँ राज्यमा राजा भृङ्गी सेनले शासन गर्न नसक्दा गोरखा पूर्व लिगलिगकोट, अजिरकोट, स्रि्रानचोक माझकोट बारपाक र धादिङका प्रशासकहरुले स्वयं स्वतन्त्र राज्य घोषणा गरेका थिए ।
तनहुँका राजा हम्वीरसेनका धर्मपुत्र त्रिविक्रम सेनले आफ्नो गुमेको गोरखाको भूभागलाई आफ्नो बनाउन प्रयत्नहरु जरुर गरे तर कहिल्यै सफल हुन सकेनन् । गोरखाले तनहुँलाई पेल्दै गयो । बुद्धिको हिसावले तनहुँका काजीहरुको प्रख्याती यत्रतत्र फैलियता पनि रणमैदानमा तनहुँको बाहुबली शक्ति कमजोर सावित हुँदै गएको थियो । अन्तत् १६३६ मा चितवन खण्ड १६३९ मा तनहुँका माथिल्लो पहाड खण्ड तनहुँसुर वि.सं. १६४१ मा तनहुँको बन्दीपुरको पहाडी खण्ड गोरखा राज्यमा विलय गराइ विशाल नेपालको सुत्रपात हुन पुगेको थियो। पराजयको प्रमुख कारण भनेकै तनहुँको प्रशासनिक एवं जङ्गी सेवामा बाहुनहरुको वर्चस्वनै प्रमुख कारक तत्व रहेको पाउँदछौं।
दौडेर राजा हुने परम्परा
विशाल पाल्पा राज्यबाट तनहुँ स्वशासित क्षेत्र लिगलिगकोटमा वि.सं. १६१६ भन्दा अगाडि लिलिगकोटमा दौड जित्ने ब्यक्ति राजा हुने परम्परा थियो । हरेक वर्ष दौड प्रतियोगिता हुने गर्दथ्यो । यहाँ राजा हुने र बनाउने प्रचलन नौलो एवं अनौठो परम्परामा आधारित रहेको थियो । जो दौडमा प्रथम हुन्थ्यो त्यही व्यक्ति एक वर्षका लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो । विगत ४/५ वर्षदेखि लिगलिगकोटका राजा दलसुर घले १० किलोमिटर टाडा रहेको मर्स्याङदी र चेपेको बेनीघाटबाट लिगलिगकोट सम्मको दौड प्रतियोगितामा प्रथमभई लिगलिगकोटका राजा हुँदै आएका थिए । वि.सं.१६१५ मा चेपेघाटबाट लिगलिगकोटसम्म दौड प्रतियोगिता हुँदै थियो । लमजुङका राजकुमार द्रव्य शाह र तत्कालीन लिगलिगकोटका राजा दलसुर घले सहित धेरै जना दौडमा भाग लिंदै अगाडि बढी रहेका थिए । गणेश पाण्डे, गङ्गाराम राना र पोखरेलको छलपूर्वक कार्यले लिगलिगकोटका राजा दलसुर घलेलाई लिगलिगकोटमा मारी द्रव्य शाहलाई लिगलिगकोटका राजा बनाएका हुन् ।
पुरातात्विक एवं ऐतिहासिक महत्वको लिगलिगकोट शाहवंशीय गोरखा राज्यको सुत्रधार नै द्रव्य शाह हुन् । लिगलिगकोटको विजय भएको धन्यै एक वर्ष भित्रमा लिगलिगकोटका राजा द्रव्यशाहले गोरखा माझकोटका राजा मानसिंह खड्कलाई १५ दिन सम्म युद्ध गरेका थिए । खड्गदेवीका पूजारी भएकाले उनलाई मानसिंह खडका भनिएको हुन सक्दछ । उनै मानसिंह खड्का तनहुँका तत्कालीन प्रधनपञ्च मोतिलाल थापाका पूर्वज भएको अनुमान गर्न थालिएको छ । राजा द्रब्यशाहले गोरखालीहरुलाई युद्धमा परास्त गरी विशाल गोरखा राज्य बनाइ १६१६-१६२७ सम्म शासन गरेका थिए । यसै गरी क्रमशः पुरेन्द्र शाह १६२७-१६६२, छत्रशाह १६६२-१६६३, राम शाह १६६३-१६६९०, डम्बर शाह १६९०-१६९९, श्रीकृष्ण शाह, १६९९-१७१५, रुद्र शाह १७१५-१७२६, पृथ्वीपति शाह १७२६-१७७३, नरभूपाल शाह १७७३-१७९९ र पृथ्वीनारायण शाहले १७९९-१८३१ सम्म गोरखामा राजकाज गरेका थिए । वि.सं. १८२५ माउनै पृथ्वी नारायण शाहले गोरखाको सदरमुकाम काठमाडौंमा सारी गोरखालाई नेपाल राज्य बनाएका हुन । (श्रोत : विकिपिडया)
दौड प्रतियोगिता हुने स्थान
नगरपालिका वडा नं. ९ निवासीमानबहादुर पाण्डेले बताए ।विभिन्न इतिहासविदहरुले लिगलिगे दौड विभिन्न स्थान तोकेता पनि दिनेशराज पन्तले गोरखाको इतिहास भाग एकको पेज नं. ४९ मा चोरकाटेदेखि लिगलिगकोटसम्म, नरु थापाको भनाइ अनुसार चोरकाटेको शिवालय मन्दिरदेखि, लिगलिगकोटसम्म, भीमनिधी तिवारीको शिलन्यास नाटक अनुसार चेपे र मर्स्याङदी नदीको दोभानबाट दौड सुरु भएको उल्लेख गरिएको भनिएतापनि आजकल स्थानीय निकायहरुले मरस्याङदी नदीको दोभानबाट लिगलिगकोटसम्म दौड सुरु भएको गोरखा पालुङटार नगरपालिका वडा नं. ९ निवासी मानबहादुर पाण्डेले बताए ।
दूधपोखरी हुँदै बग्ने चेपे र मनाङदेखि बग्दै आउने मर्स्याङदी नदी नागबेली आकारको शिला भएको स्थान चेपेघाटमा मिसिए पछि यसलाई चेपेघाट तथा चेपेबेनी भन्ने गरिन्छ । यही बेनीघाटमा दूधपोखरीमा तपस्या गरी बस्ने च्यवन ऋृषि हिउँदको महिनामा त्यही नागबेली ढुङ्गामा बसेर तपस्या गर्दथे भन्ने सुनिन्छ । दूधपोखरीबाट बगेर आएकी चेपे नदी मर्स्याङदी नदीमा समाहित भएपछि तनहुँ र चितवनको बीचमा रहेको घुमाउने घाटमा रहेका सुमेरु पर्वत स्थित बेनीमा अमृतरुपि नदी सेतीमादीसँग भेट हुन पुग्दछ । दूध रुपि पञ्चामृतका चेपे र सेती नदीहरु यही स्थानमा एक आपासमा भेट भएकोले श्रीङ्गी ऋषिले अयोध्याका राजा दशरथका लागि आफ्नो तपोभूमि तथा कर्मभूमि श्रृंमादन पर्वतको सराङघाटमा पुत्रेष्टि यज्ञ गरिदिएकाले राजा दशरथलाई राम सहित चार पुत्र प्राप्त भएको कथा पुराण तथा योगी नरहरिनाथको शिखरणी यात्राले समेत पुटि गर्दछ ।
लिगलिग नामको नामाकरण
(क) लिङलिङबाट लिगलिग
लिगलिगकोट माथि द्रव्यशाहको विजय हुनु पूर्व यस स्थानमा मगरहरुको स्वशाषित राज्य थियो । मगरात क्षेत्र हुनाले लिगलिगकोटमा मगर भाषा नै बोलचालको प्रमुख भाषा रहेको थियो । लिगलिग शब्दको नाम कसरी उत्पति भयो भन्ने विषयमा विभिन्न तर्कहरु स्थापित भएका छन् । मगर भाषामा टाढाका दृष्यहरुलाई र्छलङ्ग र सफा सङ्ग देखिने स्थान तथा कोटलाई लिङलिङ भन्ने गरिन्छ । त्यही लिङलिङ शब्द अपभ्रंश भइ लिगलिग नाम रहन गएको हो भन्ने विषयमा धेरैको सहमती हुन सक्दछ ।
(ख) लगलगबाट लिगलिग
छोप्राकका गणेश पाण्डे लगायतका व्यक्तिहरुले लिगलिगकोट माथि दौडेर राजा हुने प्रतियोगितामा भागलिनका लागि लमजुङका कान्छा राजकुमार द्रव्यशाहलाई उक्साए । दौड प्रतियोगितामा भाग लिन सुझाए। छलपूर्वक द्रव्यशाहलाई लिगलिगकोट दरवारमा पुर्याउन मद्धत पनि गरे । लिगलिग दरवारमा पुग्ने बेलामा जो कोही निहुरिएर मात्र दरवार अगाडि रहेको मूलढोकाबाट मात्र दरवार प्रवेश गर्न सक्दथ्यो । दौडमा सहभागी भएका दलसुर घले लगायतका दरवार पुग्ने बेलामा निहुरिएर प्रवेश गर्दा भए । यही मौकामा राजकुमार द्रब्यशाहले दौडमा संभावित विजयोन्मुख सहभागी सबैलाई तरवारले काटेर मृत्युको घाट उतारी दिएका थिए । शत्रु दमन पश्चात राजकुमार द्रव्यशाह स्वयंले आफैलाई लिगलिगकोटको राजा भएको घोषणा गरेका थिए । लगातार ४/५ वर्ष राजा भइ सकेको दलसुर घलेजस्तो महसुर ब्यक्तिलाई मार हान्ने बेलामा द्रव्य शाहको आत्मा कमजोर भै आफ्नो गोडा लगलग कमाएको हुनाले सो कोटको नाम लगलग राखिएको हुनु पर्दछ । कालन्तरमा शब्द अपभ्रंश भइ लिगलिग कोट भएको हुन सक्दछ ।
लिगलिगकोटका गढीहरु
लिगलिगकोटमा मूलगढी सहित ५ वटा गढीहरु देख्न सकिन्छन् । लिगलिगकोट साविक आँपपिपल गा.वि.स. वडा नं. ५ को हाल पालुङटार गा.वि.स वडा नं. २ खोल्लीमा पर्दछ। यहाँ रहेका ५ वटै गढीहरुको स्याहा सुसार हुन सकेको छैन । दिन प्रतिदिन लिगलिगकोट खण्डहरु हुँदै गएको छ । बेलैमा मर्मत तथा सम्भार हुन नसकेमा ५०० वर्षअगाडिको गोर्खाली शाह वँशको चिन्हो न मेटिएला भन्न सकिन्न । लिगलिगकोटको मूलदरवारको केही तल लिगलिगकोट कालिकाको मन्दिर रहेको छ । हरेक बडा दशैं चैते दशैंमा यहाँ फूलपाती भित्र्याउने र बलि दिइ लिगलिगकोट कालिकाको पूजाआजा गर्ने परम्परा रहेको छ । यहाँ पञ्च बलि लैजाने परम्परा अद्यापि रहेको पाउँदछौं । तलको कोटमा रहेको ६० मिटर अग्लो झण्डाले लिगलिगकोट कति टाढा छ भन्ने कुरा छ भन्ने कुरा पालुङटारबाटै सहजै अनुमान गर्न सकिन्छ ।
प्रकृतिले सजिएकी लिगलिगकोट
पर्यटनको हिसावबाट बन्दीपुरले पहाडकी रानी उपनाम पाएकी छे । मगरढुट भाषमा लिङलिङ भन्नाले पहाडको अनुपम दृष्य देखिने स्थान पहाडकी रानीलाई जनाउँछ । जता हेर्यो उतै रमाइलो देखिने पहाडकी सुन्दरी तथा अप्सरा लिगलिग सबैको नजरमा राम्री छे तर पर्यटनको पूर्वाधर तयार नहुनाले विरक्तिएकी छे । हाम्रा मगर बा को भाषा खसले बुझेनन् कि मगरले खसहरुलाई बुझाउने प्रयत्न गरेनन के भो विगतका कमी कमजोरीहरु न केल्याउँ ।
लिलिगकोटको माथिल्लो दरवारबाट गोरखामा रहेका हिमालचुली र बौद्धहिमाल, दायँवायाँ तल-माथि फैलिएका छिम्केश्वरी देबचुली, वरचुली गोरखा लगायतका चुचुरा एवं महाभारत पर्वत श्रृंखलाहरु र मर्स्याङदी तथा दरौंदी नदीले बनाएका उपत्यकाहरुको राम्रोसंग अवलोकन गर्न सकिन्छ । प्रदेश सरकारले पर्यटनका सिमित पूर्वाधार तय गरी दिएकाले हाल आएर लिगलिगकोटमा दिन प्रतिदिन आन्तरिक पर्यटकहरुको संख्या बृद्धि हुँदै गइरहेको भएता पनि यस क्षेत्रमा घरवास र राम्रा होटलहरुको सुविधा नभएकोले पर्यटन विकासले गति लिन नसकिरहेको तथ्य भेटिन्छ । स्थानीय सरकारको मात्र आर्थिक पहुँच पुग्न नसकेको अवस्थामा प्रदेश एवं संघीय सरकारले पनि विशेष चासो दिनु पर्ने महसुस गरेका छौं ।
लिगलिगकोट पुग्ने मार्गहरु
तनहुँको डुम्रे बजारदेखि तुरतुरेसम्मको यात्रा तय गरेपछि पालुङटारबाट सवारी साधन या पैदलै लिगलिगकोटसम्म पुग्न सकिन्छ। यसै गरी तनहुँको डुम्रेबजारबाट बाइसजंगार नारिनघाट गरमवेसी हुँदै लिगलिगकोटसम्म, गोरखा बजारदेखि १२ किलो छेपेटार, खोप्लाङ लुइंटेल बटडाँडा हुँदै लिगलिगकोट वेसीशहरबाट पाउँदीढिक तार्कुघाट धमिलीकुवा पालुङटार हुँदै लिगलिगकोट सम्म पुग्न सकिन्छ । पर्यटकहरुको बढदो गतिविधिलाई मध्यनजर गरी पालुङटार नगरपालिकाले यसलाई पर्यटनको गन्तव्य क्षेत्र तोकी विकास निर्माणका कामहरु सञ्चालन गर्दै आइरहेको छ।
अन्त्यमा नेपाल एकीकरणको जग बसेको लिगलिगकोटसम्म जान लिगलिगकोटको कालिकामाई र डुम्रेडाँडाको कालरात्री देवीले सबैलाई प्रेरणा प्रदान गरुन । यही शुभेच्छा छ ।
श्रोत तथा सन्दर्भ
– गोर्खा वंशावली -योगी नरहरिनाथ
– लिगलिगकोट जहाँ दौड जित्नेले राजा हुन पाउँथेः हिमाल दर्पन ।
– नेपालको विश्लेषणत्मक इतिहासः ढुण्डीराज शास्त्री
– संरक्षणको पखाइमा गोरखाको लिगलिगकोट- गोरखा समाचार
– प्रत्यक्ष वार्ता विष्णु बहादुर पाण्डे पालुङटार-९
– श्रव्यदष्यन चित्र- डा. प्रेमसिंह बस्न्यात समाजको आवाज डटकम