तनहुँ उद्योग वाणिज्य संघको महाअधिवेशन सुरु, माघ ६ गते उम्मेदवारी दर्ता
भञ्ज्याङन्यूज

तनहुँ उद्योग वाणिज्य संघको १७औ महाधिवेशन शनिबारदेखि सुरु भएको छ । प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्रि शंकर भण्डरीले एक कार्यक्रमका बीच शनिबार संघको महाधिवेशनको शुभारम्भ गरेका छन् ।
जिल्लाको आर्थिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय विकासमा हातेमालो गरी तनहुँ उद्योग वाणिज्य संघ अगाडि बढेको चर्चा गर्दै सांसद भण्डारीले व्यवसायीहरुको हक हितका साथै जिल्लाको आर्थिक सामाजिक विकासमा अग्रसर रहन आग्रह गरे ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतमा आयोजित महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गर्दै आर्थिक मन्दिका कारण धरासयि बन्दै गएका उद्योग व्यवसायलाई टिकाई राख्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै, संघको महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ । सार्वजनिक कार्यतालिका अनुसार माघ ७ गते उम्मेदवारी उपर दावी विरोध, माघ ८ गते छानबिन, १० गते उम्मेदवारी फिर्ता, १० गते नै अन्तिम नामावली प्रकाशन, १३ गते मतदानको कार्यतालिका रहेको निर्वाचन समिति संयोजक डम्बरदेव हड्खलेले जानकारी गराएका छन् ।









