दसै बिदामा पोखरा जाने हो ?

के.बि. मसाल

दसै पर्व सुरु भएको छ । दसैको वरपर पारेर घुमफिरमा निस्कने धेरै को संस्कार र संस्कृति बसेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । तर पनि धेरैको रोजाइका पोखरा पर्दछ । यदि तपाईंसँग घुमफिरको लागि एक हप्ताको समय र आर्थिक जोहो गर्न सक्नुहुन्छ भने पोखरा जान सक्नुहुन्छ । नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । असोज महिना माछापुच्छ्रेले बादलको घुम्टो उघार्ने समय हो । यतिबेला पोखरा जाने पर्यटकहरुले माछापुच्छ्रेको अदभुत दृश्य देख्न सक्दछन ।

पोखरामा पर्यटनसंग प्राकृतिक सुन्दरता, हिमाल र ताल जोडिएको छ । फेवातालमा छर्लङ्ग हिमालको छाँया देखिने दुर्लभ दृष्यले पर्यटहरु अचम्म मान्दछन । पोखराबाट अन्नपूर्ण हिमश्रृंखला आरोहणका लागि खुल्ला गरिएका १८ हिमाल देखिन्छन् । यो बाहेक मनास्लु रेञ्जका हिमाल पनि पोखराबाट देखिन्छ । माछापुच्छ्रे हिमालमा त आरोहण गर्न पाइदैन् । तर पोखराबाट आफ्नै अगाडि माछापुछ्रे हिमाल देखिने हुँदा धेरै पर्यटकले पोखराभन्दा माछापुच्छ्रे हिमाल सम्भिmने गर्छन् । पोखरा बजारको बिचमा भूगर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फदेखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमश्रृखलाले पहिलो पटक पोखरा पुग्ने पर्यटकहरु आर्श्चर्य चकित पर्दछन । प्रकृतिको सुन्दर उपहार हो पोखरा । पोखरा उपत्यकामा पर्यटकलाई मन बहलाउने धेरै चिज छन् । पोखरा पुगेपछि पर्यटकहरु लेकसाइड, ताल बाराही मन्दिर, बिन्ध्याबासीनी मन्दिर, डेभिस फल, गुप्तेश्वर गुफा, चमेरे गुफा, विश्व शान्ति स्तुप, पुम्दिकोटको बिशाल महादेव मुर्ती लगाएतका ठाउहरुमा पुग्न खोज्दछन । घुमफिरको समय लामो छ भने कतिपय पर्यटकहरु घान्द्रुक, धम्पुस, लान्द्रुक सिक्लेस, ल्वाङ्ग, घरेल र ताङतिङ लगाएतका गाउँमा पनि पुग्दछन । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्लायर जस्ता मानव निर्मित साहसिक खेलपनि पर्यटनका लागि आकर्षण बन्दछ ।
र्
पर्यटनका लागि पोखरा नेपालकै सर्वाधिक लोकप्रिय गन्तव्य हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । दसै लगायतका लामो छुट्टी हुने चाड पर्वहरुमा धेरै पर्यटकहरुले घुमफिरको रोजाइ पोखरामा हुने गर्दछ । तपाइले पनि यो वर्षो दसैलाई परिवार सहित घुमेर मनाउने योजना बनाउनु भएको छ भने पोखरा जानुहोस । पोखरा घुमफिर गर्न पर्यटकहरुसंग प्याकेज कार्यक्रम भयो भने राम्रो हुन्छ । तपाई समूहमा हुनुहुन्छ की एक्लै हुनुहुन्छ ? समूकमा पोखरा घुमफिर गर्न जादा रमाइलो त छ दै छ ! खर्चमा समेत कमि हुन्छ । पर्यटकहरुले पोखरा घुमफिर गर्ने प्याकेज बनाउदा कहा बस्ने ? पहिलो दिन कहाँ जाने ? दोस्रो दिन कहाँ पुग्ने, के गर्ने ? तेस्रो दिन के गर्ने ? भनेर आँफ्नो यात्राको एउटा तालिका बनाउदा घुमफिर सहज हुन्छ। घुमफिर गर्ने ठाउको रुड बनाउन सके समयको पनि बचत हुन्छ । पोखरामा साना गाडीहरु भाडामा पाइन्छ । समूहमा साना गाडीमा यात्रा गर्दा खासै महगो पनि हुदैन ।

पोखरामा पर्यटकको पहिलो आकर्षण भनेकै फेवाताल हो । पोखरा घुमफिरमा जाने कोही पनि पर्यटक फेवातालमा बोटिङको मज्जा लिन छुटाउदैनन् । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरले पर्यटकहरुलाई आकर्षा थपेको छ। डुंगा चढेर मन्दिरमा पुग्नु र पुजा गरेर फेरि डुंगामै फर्किनु पर्यटकका लागि रमाइलो हुन्छ। फेवातालमा डुङ्गा भाडामा लिएर दिनभरि बोटिङ गर्ने पर्यटकहरु पनि हुन्छन । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ । डुंगामा बसेर माछापुच्छ्रे हिमालको छायाँलाई कैद गर्दै सेल्फी खिच्ने, भिडिओ बनाउने पर्यटकहरु पनि धेरै हुन्छन । फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइन्छ । फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्ष छ। बिशेष गरी रातको समयमा लेकसाइडले पश्चिमा मुलुकको झल्को दिन्छ। रातको समयमा सिंगारिएका झिलिमिली बत्ति र सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मोहित बनाउने गर्दछ । फेवातालको पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो । पामेमा सराङकोटबाट उडेको प्याराग्लाइडिङ ओर्लने गर्छन् ।

पोखरा पुग्ने अधिकांश पर्यटक फेवा ताल हेर्न पुग्छन् । फेवा ताल बाहेक पोखरामा अरु तालहरु पनि छन् भन्ने कुरा धेरै पर्यटकलाई थाहा हुदैन । घुमफिरको समय छुटयाउने हो भने पोखराका सबै तालहरुमा पर्यटक पुग्न सक्दछन । फेवातालबाट १६ किलोमिटर पूर्व साविकको लेखनाथ नगरपालिकामा बेगनास र रुपा ताल पर्दछ । च्यवन ऋषिको रुप प्रादुर्भाव भएको तलाउलाई रुपाताल भनिन्छ । बेगनास र रुपा तालमा पनि पर्यटकहरुले डुङ्गा सयर गर्ने व्यवस्था छ। माछाका विभिन्न परिकारका लागि बेगनास निकै चर्चित मानिन्छ । डाँडावारि बेगनास र डाँडापारि रुपाताल पर्दछ । बेगनास र रुपातालको बिचमा पर्ने ठूलाकोटमा भ्युटावर समेत निर्माण भएको छ । भ्युटावरदेखि दुबै ताल एकै ठाउबाट देख्न पाउदा पर्यटकहरुले छुट्टै आनन्दको अनुभूति गर्दछ । बेगनास र रुपाताल क्षेत्रमा खास्टे, दिपाङ, मैदी, गुदे, निउरेनी, कश्यप र कमल ताल पर्दछ । तर ती तालहरु पोखरीजस्तै साना छन् ।

सराङकोट पोखरा बजारदेखी उत्तरमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । सराङकोट वरपर भुमे कालिका मन्दिर, चिसाखोला वेदविद्याश्रम, वाहकोट देवीको मन्दिर, वागेश्वरी मन्दिर, पदेंली शिव मन्दिर छन । सराङकोटबाट पोखराको रमाइलो दृष्यावलोकन गर्न सकिन्छ । केबलकार बनेसँगै सूर्योदय हेर्न सराङकोटमा पर्यटकहरु बिहानै पुग्दछन । लेकसाइडबाट मोटरबाट एक घण्टामा पुगिने सराङकोट अहिले अन्नपूर्ण केबलकार बनेसँगै १० मिनेटमै पुगिन्छ । केबलकारले पोखराका लेकसाइड र सराङकोटको दूरी मात्रै घटाएको छैन, पर्यटकका लागि सजिलो पनि बनाएको छ। सराङकोट पुगेपछि जिपलाइन, हवाई साइक्लिङ र पिङमा पर्यटकहरु झुम्मीन्छन। सराङकोटमा घोडा सवारीले पर्यटकलाई थप आकर्षण थपेको छ । केवलकारबाट नै लेकसाइड, पामे लगायतको पूरै दृश्य हर्ेदा पर्यटकहरु मोहित हुन्छन । पिङबाट हुइँकिदै हिमालको दृश्यावलोकन गर्दा पर्यटकहरुको मनै प्रफुल्ल बनाइदिन्छ । सराङकोटबाट पोखरा बजार, लेकसाइड, फेवाताल धौलागिरी, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रो, हिमचुली, माछापुच्छ्रे, लमजुङ र मनास्लुलाई लहरै देख्न सकिन्छ ।

पोखरामा जादा विश्व शान्ति स्तुप पुग्नै पर्दछ । विश्व शान्ति स्तुपमा बुद्धका विभिन्न ध्यान मुद्राका मूर्तिहरु कुदिएका छन् । फेवाताल माथिको डाँडामा रहेको विश्व शान्ति स्तुप पर्यटकको लागि आकर्षणको केन्द्र मानिन्छ । विश्व शान्ति स्तुपबाट पोखरा उपत्यका, फेवाताल, हिमाल, सराङकोटको डाँडालगायतका सुन्दर दृश्यहरु देखिन्छ । लेकसाइडबाट ६ किलोमिटरको दूरिमा रहेको स्तुप पोखरा पुग्ने पर्यटकहरुको रोजाइमा पर्दछ । शान्ति स्तूपबाट केही माथि पर्दछ पुम्दिकोट । पोखरामा आजकल धेरै पर्यटक पुम्दीकोट डाँडामा पुग्दछन । समुन्द्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा रहेको पुम्दीकोट डाँडा पोखरा बजारदेखि दक्षिण-पश्चिममा पर्दछ । लेकसाइडदेखि साढे १० किलोमिटर दूरीमा रहेको पुम्दीकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ । पुम्दीकोटमा नेपालीसँगै भारतीय पर्यटकको अत्यधिक भिड हुने गर्दछ। पुम्दीकोट तीर्थाटनको हिसाबले मात्रै नभएर प्राकृतिक दृश्यावलोकनका लागि पनि उत्कृष्ट मानिन्छ । पुम्दीकोटबाट फेवातालको मुहान हर्पन खोला, पोखरा बजार, सराङकोट, अन्तर्राष्ट्रिय विमानस्थल र अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ हिमाल पर्यटकले आँखैअगाडी लस्करै देख्न सक्दछन ।

पोखरा बजारको बिचबाट बगेको सेती नदी केआई सिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म जमिन मुनि लुकेर बगेको छ । सेती नदी माछापुच्छ्रे हिमालबाट उदगम भएर गाईघाटमा गएर त्रिशूलीमा मिसिन्छ । पोखरा बजारमा घुमफिर गर्दा पर्यटकहरुले सेती नदी भूमीगत भएर बगेको देख्दा छक्क पर्दछन । पोखरा पुग्ने पर्यटकहरु मध्य धेरै जना डेभिड फल्समा पुग्दछन । डेभिड फल्स सिर्द्धार्थ राजमार्गकै छेउमा पोखराको छोरेपाटन क्षेत्रमा पर्दछ । फेवातालको डयामबाट छाडिएको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदीमा मिसिन पुग्छ ।

सन् १९६१ मा स्विजरल्यान्डका डेभिड नाम गरेका नागरिक पातले छाँगोमा खसेका थिए । उनको शव तीन दिनपछि सेती नदीको किनारामा भेटिएपछि उनी खसेको स्थानको नाम डेभिड फल्स रहन गएको हो । डेभिड फल्सको गल्छीभित्र देखिने पानीको फोहोरा साँच्चिकै लोभलाग्दो देखिन्छ । सिद्धार्थ राजमार्गको छोरेपाटनमा गुप्तेश्वर गुफा डेभिड फल्सको दक्षिण पट्टी पर्दछ । पोखरामा गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा, हरिहर सन्न्यासी गुफा, सीतालगायत गुफा छन् । गुप्तेश्वर, चमेरे र महेन्द्र गुफामा अन्य गुफाभन्दा धेरै पर्यटक पग्छन् । डेभिस फल्सनजिकै रहेको गुप्तेश्वर गुफा १ सय ४० मिटर लामो छ । महेन्द्र र चमेरे गुफा पोखराको बाटुलेचौरमा पर्दछ ।

पर्यटकहरु पोखरामा विन्दवासिनी मन्दिरमा पनि पुग्न सक्दछन । बिन्दवासिनी मन्दिर परिशरमा धर्मशिला बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभाभगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर आदि ऐतिहासिक तीर्थाटनका स्थलहरु रहेका छन् । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको छ । प्राकृतिक सौन्दर्यका हिसाबले पोखरा सबै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र हो । पछिल्लो समयमा केही मानव निर्मित पर्यटकीय सम्पदा पनि निर्माण भएका छन । पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । इच्छा हुने पर्यटकहरुले अल्ट्रालाइटमा उडेर पोखरा बजार, हिमश्रृंखला र प्राकृतिक सुन्दरताको मज्जा लिन सक्दछन । जीपफ्लाई पोखराको महत्वपूर्ण पर्यटकीय प्रोडक्ट भएको छ । साहसिक खेलमा पर्ने जीपफ्लाई गर्दा थ्रिल महशुस हुन्छ । जीपफ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको घना जंगल र हिमश्रृंखला अवलोकन गर्दै सराङकोटबाट हेम्जा र्झन पाइन्छ ।

पोखरामा पाँच वटा संग्रहालय छन् । सबै भन्दा बढि पर्यटकहरु पुग्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । पोखरा घुमफिरको समयमा अन्तर्राष्ट्रिय पर्वतीय सग्रहालय पुग्न सके राम्रो हुन्छ । सग्रहालयमा पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभूषा लगायत हिमाली कला र संस्कृति पर्यटकले अवलोकन गर्न सक्दछन । सग्रहालयमा हिमाली क्षेत्रमा बसोवास गर्ने जातजातिहरुको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिको साथै भौगोलिक जानकारी मूलक सामग्री राखिएका छन् । त्यसै गरि गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ। गोर्खा मेमोरियल म्युजिममा विश्व युद्धलगायत संसारका अन्य युद्धमा नेपालीको बहादुरी सम्झाउने सामग्री पर्यटकहरुले अवलोकन गर्न सक्दछन। शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ । त्यसै गरि पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम पुतली संग्रहालय बनेको छ । नेचुरल हिस्ट्री म्युजियममा छ सय प्रजातिका पुतली छन् । नयाँ बजारमा क्षेत्रीय संग्रहालय रहेको छ। जहाँ पश्चिमाञ्चलको जनजिवन झल्काउने सामाग्री राखिएको छ ।

पोखरामा पदयात्रा गर्न रुचाउने पर्यटकले हाइकिङ पनि गर्न सक्छन् । पोखराको घुमफिरलाई रोमान्चक बनाउन चाहानुहुन्छ भने हाइकिङ गर्न सके राम्रो हुन्छ । पर्यटकले हाइकिङ गर्दा पोखरामा डाँडाकाँडा उक्लिदै तालको दृश्यसंग रमाउन सकिन्छ । हाइकिङ गर्नका लागि पोखरामा ताल किनार हिँडने, डाँडाकाँडा उक्लने, तालको फन्को लगाउने लगायत आधा दर्जन हाइकिङ रुट छन् । चारदेखि पाँच घण्टामा सराङकोट-कास्कीकोट-नौडाँडा रुट जान सकिन्छ । पोखरा-कालिका-रोयल हाइकिङमा पनि पर्यटकले पाँच घण्टा बिताउन सक्छन् । रानीवन, शान्ति स्तुप जंगल र कच्ची सडक हिँडदै चारदेखि पाँच घण्टामा पुम्दीकोट पुग्न सकिन्छ। त्यसबाहेक दुइ घण्टा फेवाताल किनारमा रहेको रानीवन हिँडेर शान्ति स्तुपसम्म जान सकिन्छ शान्ति स्तुपबाट आधा घण्टा झरेमा फेवातालको तालपारि पुगिन्छ । त्यहाँबाट आधा घण्टा डुंगा शयर गरेर लेकसाइड पुगिन्छ । हाइकिङ रुटबारे पोखरामा आफू बस्ने होटलबाट जानकारी लिँदा राम्रो हुन्छ। हाइकिङले तपाईंको पोखरा घुमफिर थप स्मरणीय बनाइ दिन्छ ।

पोखरा जानको लागि नेपालको ठूला शहर बजार देखि सिघा बस सेवा र काठमाण्डौ, बिराटनगर, भैरहवा र नेपालगञ्जदेखि हवाई सेवा समेत छ । पोखरा घुमफिर गर्दा खाना बस्नको लागि कुनै असुबिधा हुदैन । बजार क्षेत्रमा साना, मजौला र ठूला होटलहरु छन भने ग्रामीण क्षेत्रमा होटल, होमस्टे र साना रेष्ट्ररेन्ट सञ्चालनमा छन । यातायात खर्च र घरमा फर्कदा कोशेली स्वरुप ल्याउने सामान बाहेक बाहेक दैनिक दुइ हजार भए पर्यटकले पोखरामा घुमफिर गर्न सक्दछन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker