मानपुर जोड्ने उत्तर–दक्षिण मार्गको स्तरोन्नति आफ्नो प्रमुख चुनावी प्राथमिकता : उम्मेदवार सिग्देल

तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार केदार सिग्देलले जरेवर–रिट्टाभन्ज्याङ–सिमलभञ्ज्याङ हुँदै मानपुर जोड्ने उत्तर–दक्षिण मार्गको स्तरोन्नति आफ्नो प्रमुख चुनावी प्राथमिकता हुने बताएका छन्। चुनावी अभियानअन्तर्गत भीमाद नगरपालिकाको भानुमति लगायतका क्षेत्रमा आयोजित जनभेट कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सिग्देलले उक्त मार्गलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने योजना अघि बढाइने बताए। विगतमा यस सडकको स्तरोन्नतिका लागि पहल भएको भए पनि हालका जनप्रतिनिधिहरूले आवश्यक तदारुकता नदेखाउँदा योजना अलपत्र परेको उनको आरोप थियो। उनले भने, “भूगोलसँग भिजेको र क्षेत्रको आवश्यकताबारे जानकार जनप्रतिनिधि चुन्न जरुरी छ ।
उनले तनहुँ क्षेत्र नं. २ को भूगोलसमेत राम्रोसँग नबुझ्ने उम्मेदवारहरू मत माग्न आएको टिप्पणी गर्दै स्थानीय सरोकार र विकासप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए। एमालेले जितेको समयमा विकास निर्माणका कामले गति लिएको दाबी गर्दै उनले हाल आफूहरूले गरेका कामको जस अरूले लिन खोजेको आरोप लगाए ।
चुनावको मुखमा विभिन्न सामग्री वितरण गरी मतदातामा भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति सचेत रहन उनले आग्रह गरे। उम्मेदवार सिग्देलले भने, “भूगोलसँग साइनो नभएका व्यक्तिको चिप्लो कुरामा नफस्न जनतालाई आग्रह गर्छु ।”
उनका अनुसार एमाले नेतृत्वमा रहँदा करोडौँ रुपैयाँका योजना यस क्षेत्रमा विनियोजन भएका थिए। विभिन्न पुल तथा सडक निर्माण कार्य सम्पन्न गरिएको उल्लेख गर्दै उनले अहिले ती कामको श्रेय अन्यले लिन खोज्नु अराजनीतिक भएको बताए। दोभान र क्याक्मीका पुलसहित विभिन्न सडक पूर्वाधार एमालेकै पालामा बनेको उनको दाबी थियो ।
“जनताको सामिप्यता नै मेरो जितको आधार हो”, सिग्देलले भने, “पुनः एमालेका जनप्रतिनिधिलाई जिताएर बाँकी रहेका विकास निर्माणका काम पूरा गर्न सहयोग गर्नुपर्छ ।”










