व्यासले सञ्चालनमा ल्यायो १५ शय्याको ‘व्यास नगर अस्पताल’ : गुणस्तरीय सेवा दिन नगरप्रमुख न्यौपानेको जोड

दमौली : तनहुँको व्यास नगरपालिकाले १५ शय्याको ‘व्यास नगर अस्पताल’ सञ्चालनमा ल्याएको छ । वडा नं. १० स्थित दुम्सीबजारमा निर्माण सम्पन्न १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवनमा बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। उक्त अस्पताल भवनको नगरप्रमुख बैकुण्ठ न्यौपानेले एक समारोहबीच उद्घाटन गरेका थिए ।

भवन उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले स्वास्थ्य पूर्वाधार निर्माणसँगै अब गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने आवश्यकता औल्याए । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा निरन्तर ध्यान दिइरहेको उनको भनाइ थियो ।

संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले स्थानीय तहबाट स्वास्थ्य पूर्वाधार निर्माण हुनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै यसले नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

नगर उपप्रमुख इन्दिरा दरैले महिलासहित सबै नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सेवा प्रभावकारी र सर्वसुलभ बनाउनुपर्नेमा जोड दिइन् ।

२०७७ सालमा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शिलान्यास गरिएको अस्पताल भवन हाल पूर्ण रूपमा निर्माण सम्पन्न भएको हो। कार्यक्रममा व्यास नगरपालिकाका योजना शाखा प्रमुख डा. राजु पौडेलले भवन निर्माणमा ९६ लाख ३८ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उपकरण व्यवस्थापनसहित हालसम्म कुल २ करोड ६६ लाख रुपैयाँ लगानी भएको उनले बताए । कम्पाउण्ड निर्माणको केही काम बाँकी रहेकाले त्यसलाई छिट्टै सम्पन्न गरिने पनि जानकारी दिइयो ।

अस्पतालका प्रमुख मेडिकल अधिकृत नविना न्यौपानेले स्थानीय स्तरमै स्वास्थ्य सेवा विस्तार हुनु सकारात्मक भएको बताउँदै यसले बिरामीलाई बाहिर जानुपर्ने बाध्यता घटाउने बताइन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जान लागेकी उनलाई सोही अवसरमा सम्मानपत्रसहित विदाइ गरिएको थियो ।

कार्यक्रममा व्यास नगर शिक्षा अधिकारी केदारराज आचार्य, नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, महाधिवेशन प्रतिनिधि हरि प्रसाद मिश्र, बोक्सेगैरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम सुवेदी, चिन्तुटार टोलका तारापति पौडेल, शिवालय आमा समूहकी अध्यक्ष विष्णु लामिछाने, दुम्सी सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेल, शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद सापकोटा, नेपाली कांग्रेस वडा नं. १० का सभापति प्रेमराज मिश्र, समाजसेवी दयाराम शर्मा लगायतले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

अस्पताल निर्माण समितिका अध्यक्ष तथा व्यास–१० का निवर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा कार्यक्रममा अस्पताल निर्माणमा सहयोग पुर्याउने क्लब, टोल विकास संस्था तथा आमा समूहलाई कार्यक्रममा सम्मान गरिएको थियो। कार्यपालिका सदस्य रनसिंड नेपाली तथा वडा नं. १० का वडा अध्यक्ष खेमराज पोखरेलले अस्पताललाई दिगो र नागरिकमैत्री बनाउँदै लैजान सबैको सहकार्य आवश्यक रहेको बताए ।

नयाँ अस्पताल सञ्चालनमा आएसँगै अब ग्रामीण भेगका नागरिकले आफ्नै क्षेत्रमा सहज रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker