संरक्षणको प्रतीक्षामा रामायण भवन, मंसिरदेखि भानुगृहको निर्माण सुरु गरिदै

भञ्ज्याङ समाचारदाता/दमौली

आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका-४ शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको प्रतिक्षामा रहेको छ । रामायण भवनको संरक्षण नहुँदा भवन जीर्ण बन्न थालेको छ ।

भवनका झयाल तथा ढोकामा क्षति पुर्‍याइएको छ भने संरक्षण नहुँदा काठ धमिराले धुल्याउन थालेको छ। रामायण भवनको संरक्षणका लागि पटक-पटक आवाज उठाउँदा सुनुवाइ नभएको स्थानीय सन्देश आचार्यले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसबारे बारम्बार सवाल उठाइरहँदा पनि सम्बन्धित निकायहरू कहिँ कतैबाट संरक्षणमा चासो देखाएको पाइँदैन । भानुभक्त आचार्य यस क्षेत्रमा जन्मिदिएर सबैलाई चुलोचौको गर्न सजिलो भयो। उनकै नाउँमा राजनीति गर्न पाइयो । उनकै नाउँमा कमाई खान पाइयो ।” नेपाली भाषाको एकीकरण र विकासमा भानुभक्तको योगदान सबैका लागि मार्गदर्शक रहेको बताउँदै उहाँले भन्नुभयो, “भानुभक्तले लगाएको गुनको पैँचो हामीले कहिले तिर्ने हो ?”

जङ्गलको बीचमा रहेको रामायण भवन नजिक बेला-बेलामा आगलागी भइरहन्छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिँदै आएका छन् । स्थानीयवासी महेश आचार्यले डढेलो लाग्दा दिनरात नभनी आगो नियन्त्रणमा आफूहरु खटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो तर्फबाट संरक्षण गरिरहेका छौँ तर सम्बन्धित र सरोकार स‹संस्थाको भने चासो नभइदिँदा समस्या भइरहेको छ ।”

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले जङ्गलको बीचमा भएकाले केही समस्या भए पनि आफूहरु यसको संरक्षणमा जुटिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संरक्षण नै नभएको भन्ने होइन । जन्मस्थल समिति लागि रहेको छ । सिसी क्यामरा जडान र तारबारको पनि व्यवस्था गर्दैछौँ ।” रानाभाटका अनुसार यही ठाउँमा मंसिरदेखि भानुगृहको निर्माण सुरु हुँदैछ । पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको काम सुरु गर्न लागेको हो । “त्यसपछि यो ठाउँ अझ व्यवस्थित हुन्छ । पानी र बत्तीको व्यवस्था भइसकेको छ”, उहाँले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा एकीकृत पर्यटन पूर्वाधार विकासअन्तर्गत रामायण भवन निर्माण गरिएको छ । आचार्यको जन्मस्थल शिखर कटेरी चुँदी रम्घाको जन्मघर खण्डहर बन्दै गएपछि भानु जन्मस्थल विकास समितिले भानु शिखर कटेरी गुरुयोजना बनाएर भानुको जन्मस्थलको संरक्षणको काममा चासो देखाएको थियो । रानाभाटका अनुसार रु तीन करोड लागतमा भवन निर्माण गरिएको हो । समितिले दश रोपनी क्षेत्रफलभित्र भानु गृह, सङ्ग्रहालय, अतिथि गृहलगायत निर्माण गर्ने लक्ष्य राखे पनि काम हुन सकेको छैन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker