प्राकृतिक रुपमै लकडाउनमा बन्दिपुर : विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानी समेत अवरुद्ध

भञ्ज्याङ समाचारदाता

पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीयस्थल बन्दिपुर अहिले प्राकृतिक रुपमै लकडाउनमा परेको छ । बिगत तीन दिनदेखि परेको वर्षासंगै आएको बाढीपहिरोले गाउँपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

गाउँपालिकाको कार्यालय बन्दिपुर तथा वडा कार्यालयहरुमा जाने मोटर मार्गहरु समेत पहिरोका कारण बन्द हुँदा अहिले प्राकृतिक रुपमै गाउँपालिका लकडाउनको अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

‘गाउँपालिकाको कार्यालय समेत म जान सकेको छैन । मोटर बाटो सबै पहिरोले भत्काएको छ, वडा कार्यालयहरुमा पनि जान सक्ने अवस्था छैन’, अध्यक्ष थापाले भने, ‘बन्दिपुरमा अहिले टेलिफोन, इन्टरनेट, विद्युत् र खानेपानी सेवा समेत अवरुद्ध भएको छ ।’

तीन दिनदेखि परेको अबिरल वर्षाले पहिरो जाँदा विद्युतका पोल ढाल्नुका साथै खानेपानीका मुहान र पानी संकलन ट्याङ्की समेत भत्काइदिएको छ ।

बन्दिपुर गाउँपालिका क्षेत्रका अधिकांश खेत बगरमा परिणत भएका छन् । पहिरोमा परी २ जनाको मृत्यु भएको छ, ५/६ जना घाइते हुनु भएको छ । ठूलोमात्रमा भौतिक क्षति पुगेको गाउँपालिका अध्यक्ष थापाले बताए ।

मुकुन्देश्वरी डाँडाबाट पहिरो खस्दा खानेपानीको मुहान तथा ट्याङ्की भत्काएर क्षति बनाएको छ । करिब २० करोड रुपैयाँको लागतमा सम्पन्न भएको छापनाहाला खानेपानी ट्याङ्की पूर्ण क्षति बनाउँदा डुम्रे बजारबासीले खानेपानीको समस्या भोग्नुपरेको छ ।

अविरल वर्षाका कारण कृषि बालीमा समेत क्षति पुगेको छ । कृषकको पाकेको चैते धान, मकैबाली तथा भखरै रोपिएको धान खेतीमा समेत ठूलो क्षति पुगेको अध्यक्ष थापाले बताए । उनले भने, ‘बाढीपहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क संकलन भइरहेको र समस्यामा परेका वडाबासिको उद्धार तथा राहतमा हामी अहिले जुटिरहेका छौ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker