सम्पादकीय : भानुको ‘गुन्द्रुक ब्राण्ड’ – स्थानीय उत्पादनको बजार, कृषकको सशक्तिकरण

स्थानीय सरकारको विकास यात्रा अब केवल सडक, भवन र आधारभूत सेवामा सीमित छैन । समयसँगै यसको भूमिका स्थानीय उत्पादनको मूल्यवृद्धि, कृषकको आम्दानी विस्तार र ग्रामीण अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने दिशामा विस्तार भइरहेका छन् । यसै सन्दर्भमा तनहुँको भानु नगरपालिकाले अघि सारेको ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण र दीर्घकालीन हाटबजार मोडेल दुबै पहललाई सकारात्मक, अनुकरणीय र दीर्घदृष्टियुक्त कदमका रूपमा लिन सकिन्छ । नेपालको ग्रामीण क्षेत्रमा साग, तरकारी, अन्न वा फलफूल जस्ता उत्पादनको प्रचुरता भए पनि तिनको बजारीकरण भने अझै असंगठित र परम्परागत शैलीमै सीमित छ । उत्पादनको मौसमी उतार–चढाव, बजारसम्मको पहुँचको अभाव, प्याकेजिङ–लेबलिङको कमजोरी र उपभोक्तामा ब्राण्डप्रति विश्वासको कमीका कारण किसानले आफ्नो श्रमको न्यायोचित मूल्य पाउने अवस्था प्रायः रहँदैन । भानु नगरपालिकाले स्थानीय स्तरमै उत्पादन हुने सागलाई प्रशोधन गरेर ‘भानु गुन्द्रुक’ नामक ब्राण्डमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना ल्याएको छ, जसको नेतृत्व स्वयं नगरप्रमुखले गर्न लागेका छन् । यो केवल उत्पादन विस्तारको कुरा होइन, उत्पादनको मूल्य श्रृंखलामा किसानको सहभागिता र लाभांशलाई सुनिश्चित गर्ने प्रयास हो ।
भानुको यो योजना कुनै आकस्मिक विचार होइन । नगरपालिकाले यसअघि इलामको रोङ गाउँपालिकामा अध्ययन भ्रमण गरी त्यहाँको कृषिजन्य उत्पादनको प्रशोधन र बजार व्यवस्थापनको सफल अभ्यासबारे प्रत्यक्ष अनुभव लिएपछि सार्वजनिक गरिएको योजना हो । त्यस अध्ययनबाट प्रेरणा लिएर भानुले गुन्द्रुक उत्पादनमा नवीनतम प्रविधि, गुणस्तरको एकरूपता, आकर्षक प्याकेजिङ र स्पष्ट लेबलिङका साथै उत्पादन ट्र्याकिङ, डिजिटल मार्केटिङ र क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता प्रणालीगत सुधार ल्याउने बताइएको छ । यी सुधारका तीन प्रमुख फाइदा देखिन्छन् । पहिलो, कृषकको आम्दानी प्रत्यक्ष रूपमा बढ्नेछ किनकि उत्पादन स्थिर मूल्यमा निरन्तर बजारमा पुग्नेछ । दोस्रो, उपभोक्ताले विश्वासिलो, सुरक्षित र पहिचानयोग्य उत्पादन पाउनेछ । तेस्रो, भानु नगरपालिका ‘गुन्द्रुकको केन्द्र’को रूपमा राष्ट्रिय मानचित्रमा स्थापित हुनेछ । यसबाट कृषकको मात्र होइन, स्थानीय उद्योग, पर्यटन र सेवा क्षेत्रको समेत विकास सम्भावना बढ्छ ।
तर उत्पादनको ब्राण्डिङ र बजार विस्तार केवल सरकारी नीतिले मात्र सफल हुँदैन । यसको मूलमा किसानको सक्रिय सहभागिता, गुणस्तरमा निरन्तर सुधार र बजार मागअनुसारको उत्पादन योजना हुनुपर्छ । त्यसैले भानुको योजना अनुसार कृषक समूहको क्षमता अभिवृद्धि, तालिम, प्रविधि प्रयोग र सहकारी मोडलमा उत्पादन व्यवस्थापन अनिवार्य छ । भानुले अगाडि सारेको अर्को महत्त्वपूर्ण पहल हाटबजारको दीर्घकालीन मोडेल हो । गत वर्षदेखि सञ्चालनमा आएका दुई नयाँ हाटबजारलाई सफल बनाउने लक्ष्यसहित नगरप्रमुखको नेतृत्वमा टोलीले पाँचथरको तुम्बेवा गाउँपालिकामा सफल हाटबजार व्यवस्थापनबारे अध्ययन गरेको बताएको छ । तुम्बेवाको हाटबजार केवल किनमेलको स्थान मात्र नभई गाउँलेहरूका लागि सामाजिक भेटघाटको चौतारी, सांस्कृतिक आदानप्रदानको स्थल र सामुदायिक आत्मीयताको केन्द्र भएको बताइन्छ। त्यहाँका किसानहरू आफ्नै खेतबारीमा उत्पादन गरेका ताजा तरकारी, फलफूल र अन्य स्थानीय वस्तु लिएर बजारमा आउँछन् । यसरी किसान र उपभोक्ताबीचको प्रत्यक्ष लेनदेनले बिचौलियाको भूमिका घटाउँछ र किसानलाई बढी मूल्य मिल्छ ।
भानुले हाटबजारलाई केवल आर्थिक गतिविधिमा सीमित नराखी समुदाय–केन्द्रित मोडेलमा विकास गर्ने सोच ल्याएको छ । यसमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान–उपभोक्ता सम्बन्धलाई बलियो बनाउने र हाटबजारलाई सांस्कृतिक र सामाजिक मिलनबिन्दुको रूपमा उपयोग गर्ने अवधारणा छ । यस किसिमको मोडेलले ग्रामीण बजारलाई सक्रिय बनाउने मात्र होइन, गाउँको संस्कृति, जीवनशैली र आपसी सम्बन्धलाई समेत संरक्षण गर्नेछ । यी दुवै पहल– ‘भानु गुन्द्रुक’ ब्राण्ड र दीर्घकालीन हाटबजारको साझा लक्ष्य स्पष्ट छ– स्थानीय स्रोतको मूल्यवृद्धि गर्दै कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने । तर यसलाई सफल बनाउनका लागि तीन तहको तयारी अपरिहार्य छ । पहिलो, बजार अध्ययन र लक्ष्य ग्राहक वर्गको स्पष्ट पहिचान । दोस्रो, गुणस्तरीय उत्पादन सुनिश्चित गर्ने प्राविधिक र व्यवस्थापकीय संरचना । तेस्रो, स्थायी वितरण प्रणाली र प्रचार–प्रसारको रणनीति ।
अहिलेको चुनौती भनेको यस्ता योजनाहरू कागजमै सीमित नहुने, प्रारम्भिक उत्साहपछि मन्द नपर्ने र स्थायित्व कायम रहने हो। यसका लागि नगरपालिकाले कृषक, सहकारी, निजी क्षेत्र, प्रविधि प्रदायक र वित्तीय संस्थासँग सहकार्यको स्पष्ट मोडेल बनाउनुपर्छ । साथै, युवालाई कृषिमा आकर्षित गर्न प्रोत्साहन, लगानी सुरक्षा र नवीनतम प्रविधि सिकाउने अवसर दिनुपर्छ । स्थानीय सरकारको दायित्व अब केवल सेवा प्रवाह पु¥याउने मात्र होइन, आर्थिक अवसर सिर्जना गर्ने, उत्पादनलाई मूल्य दिने र समुदायलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । भानुले अंगाल्न खोजेको यो बाटो अरू नगर–गाउँपालिकाका लागि पनि उदाहरण बन्न सक्छ । यदि हामीले स्थानीय उत्पादनको मूल्य श्रृंखलालाई व्यवस्थित गर्न सक्यौं भने, भानुको ‘गुन्द्रुक’ केवल टोकरी वा भाँडोमा सीमित नरही, अन्तर्राष्ट्रिय बजारको भान्सासम्म पुग्नेछ । त्यस दिन किसानको खेतमा उम्रिएको सानो सागको पात, गाउँको हाटबजारको रमाइलो र नगरपालिकाको दूरदृष्टि– यी सबै मिलेर ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्नेछन् ।










