सम्पादकीय : भानुको ‘गुन्द्रुक ब्राण्ड’ – स्थानीय उत्पादनको बजार, कृषकको सशक्तिकरण

स्थानीय सरकारको विकास यात्रा अब केवल सडक, भवन र आधारभूत सेवामा सीमित छैन । समयसँगै यसको भूमिका स्थानीय उत्पादनको मूल्यवृद्धि, कृषकको आम्दानी विस्तार र ग्रामीण अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने दिशामा विस्तार भइरहेका छन् । यसै सन्दर्भमा तनहुँको भानु नगरपालिकाले अघि सारेको ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण र दीर्घकालीन हाटबजार मोडेल दुबै पहललाई सकारात्मक, अनुकरणीय र दीर्घदृष्टियुक्त कदमका रूपमा लिन सकिन्छ । नेपालको ग्रामीण क्षेत्रमा साग, तरकारी, अन्न वा फलफूल जस्ता उत्पादनको प्रचुरता भए पनि तिनको बजारीकरण भने अझै असंगठित र परम्परागत शैलीमै सीमित छ । उत्पादनको मौसमी उतार–चढाव, बजारसम्मको पहुँचको अभाव, प्याकेजिङ–लेबलिङको कमजोरी र उपभोक्तामा ब्राण्डप्रति विश्वासको कमीका कारण किसानले आफ्नो श्रमको न्यायोचित मूल्य पाउने अवस्था प्रायः रहँदैन । भानु नगरपालिकाले स्थानीय स्तरमै उत्पादन हुने सागलाई प्रशोधन गरेर ‘भानु गुन्द्रुक’ नामक ब्राण्डमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना ल्याएको छ, जसको नेतृत्व स्वयं नगरप्रमुखले गर्न लागेका छन् । यो केवल उत्पादन विस्तारको कुरा होइन, उत्पादनको मूल्य श्रृंखलामा किसानको सहभागिता र लाभांशलाई सुनिश्चित गर्ने प्रयास हो ।

भानुको यो योजना कुनै आकस्मिक विचार होइन । नगरपालिकाले यसअघि इलामको रोङ गाउँपालिकामा अध्ययन भ्रमण गरी त्यहाँको कृषिजन्य उत्पादनको प्रशोधन र बजार व्यवस्थापनको सफल अभ्यासबारे प्रत्यक्ष अनुभव लिएपछि सार्वजनिक गरिएको योजना हो । त्यस अध्ययनबाट प्रेरणा लिएर भानुले गुन्द्रुक उत्पादनमा नवीनतम प्रविधि, गुणस्तरको एकरूपता, आकर्षक प्याकेजिङ र स्पष्ट लेबलिङका साथै उत्पादन ट्र्याकिङ, डिजिटल मार्केटिङ र क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता प्रणालीगत सुधार ल्याउने बताइएको छ । यी सुधारका तीन प्रमुख फाइदा देखिन्छन् । पहिलो, कृषकको आम्दानी प्रत्यक्ष रूपमा बढ्नेछ किनकि उत्पादन स्थिर मूल्यमा निरन्तर बजारमा पुग्नेछ । दोस्रो, उपभोक्ताले विश्वासिलो, सुरक्षित र पहिचानयोग्य उत्पादन पाउनेछ । तेस्रो, भानु नगरपालिका ‘गुन्द्रुकको केन्द्र’को रूपमा राष्ट्रिय मानचित्रमा स्थापित हुनेछ । यसबाट कृषकको मात्र होइन, स्थानीय उद्योग, पर्यटन र सेवा क्षेत्रको समेत विकास सम्भावना बढ्छ ।

तर उत्पादनको ब्राण्डिङ र बजार विस्तार केवल सरकारी नीतिले मात्र सफल हुँदैन । यसको मूलमा किसानको सक्रिय सहभागिता, गुणस्तरमा निरन्तर सुधार र बजार मागअनुसारको उत्पादन योजना हुनुपर्छ । त्यसैले भानुको योजना अनुसार कृषक समूहको क्षमता अभिवृद्धि, तालिम, प्रविधि प्रयोग र सहकारी मोडलमा उत्पादन व्यवस्थापन अनिवार्य छ । भानुले अगाडि सारेको अर्को महत्त्वपूर्ण पहल हाटबजारको दीर्घकालीन मोडेल हो । गत वर्षदेखि सञ्चालनमा आएका दुई नयाँ हाटबजारलाई सफल बनाउने लक्ष्यसहित नगरप्रमुखको नेतृत्वमा टोलीले पाँचथरको तुम्बेवा गाउँपालिकामा सफल हाटबजार व्यवस्थापनबारे अध्ययन गरेको बताएको छ । तुम्बेवाको हाटबजार केवल किनमेलको स्थान मात्र नभई गाउँलेहरूका लागि सामाजिक भेटघाटको चौतारी, सांस्कृतिक आदानप्रदानको स्थल र सामुदायिक आत्मीयताको केन्द्र भएको बताइन्छ। त्यहाँका किसानहरू आफ्नै खेतबारीमा उत्पादन गरेका ताजा तरकारी, फलफूल र अन्य स्थानीय वस्तु लिएर बजारमा आउँछन् । यसरी किसान र उपभोक्ताबीचको प्रत्यक्ष लेनदेनले बिचौलियाको भूमिका घटाउँछ र किसानलाई बढी मूल्य मिल्छ ।

भानुले हाटबजारलाई केवल आर्थिक गतिविधिमा सीमित नराखी समुदाय–केन्द्रित मोडेलमा विकास गर्ने सोच ल्याएको छ । यसमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान–उपभोक्ता सम्बन्धलाई बलियो बनाउने र हाटबजारलाई सांस्कृतिक र सामाजिक मिलनबिन्दुको रूपमा उपयोग गर्ने अवधारणा छ । यस किसिमको मोडेलले ग्रामीण बजारलाई सक्रिय बनाउने मात्र होइन, गाउँको संस्कृति, जीवनशैली र आपसी सम्बन्धलाई समेत संरक्षण गर्नेछ । यी दुवै पहल– ‘भानु गुन्द्रुक’ ब्राण्ड र दीर्घकालीन हाटबजारको साझा लक्ष्य स्पष्ट छ– स्थानीय स्रोतको मूल्यवृद्धि गर्दै कृषकलाई आर्थिक रूपमा सशक्त बनाउने । तर यसलाई सफल बनाउनका लागि तीन तहको तयारी अपरिहार्य छ । पहिलो, बजार अध्ययन र लक्ष्य ग्राहक वर्गको स्पष्ट पहिचान । दोस्रो, गुणस्तरीय उत्पादन सुनिश्चित गर्ने प्राविधिक र व्यवस्थापकीय संरचना । तेस्रो, स्थायी वितरण प्रणाली र प्रचार–प्रसारको रणनीति ।

अहिलेको चुनौती भनेको यस्ता योजनाहरू कागजमै सीमित नहुने, प्रारम्भिक उत्साहपछि मन्द नपर्ने र स्थायित्व कायम रहने हो। यसका लागि नगरपालिकाले कृषक, सहकारी, निजी क्षेत्र, प्रविधि प्रदायक र वित्तीय संस्थासँग सहकार्यको स्पष्ट मोडेल बनाउनुपर्छ । साथै, युवालाई कृषिमा आकर्षित गर्न प्रोत्साहन, लगानी सुरक्षा र नवीनतम प्रविधि सिकाउने अवसर दिनुपर्छ । स्थानीय सरकारको दायित्व अब केवल सेवा प्रवाह पु¥याउने मात्र होइन, आर्थिक अवसर सिर्जना गर्ने, उत्पादनलाई मूल्य दिने र समुदायलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । भानुले अंगाल्न खोजेको यो बाटो अरू नगर–गाउँपालिकाका लागि पनि उदाहरण बन्न सक्छ । यदि हामीले स्थानीय उत्पादनको मूल्य श्रृंखलालाई व्यवस्थित गर्न सक्यौं भने, भानुको ‘गुन्द्रुक’ केवल टोकरी वा भाँडोमा सीमित नरही, अन्तर्राष्ट्रिय बजारको भान्सासम्म पुग्नेछ । त्यस दिन किसानको खेतमा उम्रिएको सानो सागको पात, गाउँको हाटबजारको रमाइलो र नगरपालिकाको दूरदृष्टि– यी सबै मिलेर ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्नेछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker