शुक्लागण्डकीको आठौं नगरसभा : दुइ विधेयक पारित, सुकुम्बासी आयोगलाई बजेट

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आठौं नगरसभा सोमबार सम्पन्न गरेको छ । उक्त नगरसभाले दुइ विधेयक पारित गर्दै विभिन्न निर्णय समेत गरेको छ । कृषि उपज संकलन केन्द्र सञ्चालन निर्देशिका र सार्वजनिक निजी साझेदारी ऐन पारित भएको नगरप्रमुख किसान गुरुङले बताए ।
‘शुक्लागण्डकी-५ बेलचौतारामा निर्माणधिन कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि निर्देशिका बनाइएको छ’, नगरप्रमुख गुरुङले भने, ‘साझा सहकारीको जग्गामा कृषि उपज संकलन केन्द्र निर्माण हुदैंछ । नगरपालिकाका सबै घरधुरीलाई शेयर सदस्यको स्वामित्व प्रदान गर्ने गरी निर्देशिका बनेको छ ।’
नगरसभामा निर्देशिका प्रस्ताव पेश गर्दै नगरप्रमुख गुरुङले उक्त केन्द्रमा नगरपालिकाको ५१ प्रतिशत र नागरिकको ४९ प्रतिशत शेयर स्वामित्व रहनेगरि सञ्चालनमा ल्याइनेछ । यस्तै नगरको बिकासमा सघाउनका लागि सार्वजनिक निजी साझेदारी ऐनको भुमिका महत्वपूर्ण हुने उनले बताए ।
सातौं नगरसभाबाट पारित भएको बजेटमा समावेश नीती तथा कार्यक्रमको श्रोतान्तर र रकमान्तरसंगै योजनको शंसोधन गर्ने निर्णय नगरसभाले गरेको प्रवक्ता खिमबहादुर कुमालले बताए । नगरपालिका जटिल समस्याका रुपमा खडा भएको फोहोरमैला व्यवस्थापनका लागि पनि विभिन्न पालिकाले गरेको अभ्यास अनुसार अगाडी बढ्ने निर्णय भएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि टेन्डर परेपनि अख्तियारमा उजुरी परेपछि कार्यन्वयन हुन सकेको छैन् । यस्तै करारमा रहेका कर्मचारीको सेवा नविकरण गर्ने निर्णय समेत नगरसभाले गरेको छ । यस्तै, सरकारले गठन गरेको भुमी सम्बन्धी समस्या समाधानका आयोगका लागि बजेट रकमान्तर गरिएको छ । लक्षित वर्ग अन्तर्गत विनियोजित आदिवासी जनजाती, दलित, मुस्लिम र महिला लक्षित कार्यक्रम सञ्चालनका लागि छुट्याइएको रकमबाट २० लाख रुपैयाँ आयोगका लागि रकमान्तर गरिएको प्रवक्ता कुमालले बताए ।
सभामा शुक्लागण्डकी-११ बिसौना राइपुरमा शिलन्यास गरिएको १५ शैय्याको अस्पतालको बिषयमा समेत छलफल भएको छ । यो अस्पताल नगरपालिकाको सहमतिबिना बिसौनामा शिलन्यास भएको र नगरबासीलाई पायक पर्ने स्थानमा अस्पताल बनाउनुपर्नेमा नगरसभा सदस्यहरुले जोड दिएका थिए ।










