व्यास नगरपालिकाद्वारा किसानलाई उन्नत जातका आलुको बिउ वितरण
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातका आलुको बीउ वितरण गर्न थालेको छ ।
विभिन्न कृषक समूह, सहकारी, सामूहिक खेती र व्यक्तिलाई वडा कार्यालयको सिफारिसमा सम्बन्धित टोल विकास संस्था मार्फत नगरपालिकाले जनकदेव र एमएस ४२.३ उन्नत जातका करिब ४० टन आलुको बीउ वितरण गर्न थालेको हो ।
उन्नत जातको बीउ वितरण गर्न नगरपालिकाले २० टन १७७ किलोग्राम जनकदेव रातो र १८ टन ९ सय ५५ किलोग्राम एमएस निलो गरी कुल ३९ टन ५०७ किलोग्राम उन्नत जातका आलुको बीउ ल्याएको हो । नगरपालिकाका १४ वटै वडाका किसानको माग अनुरुप वडा कार्यालयबाट सिफारिस भएर आएका किसानलाई टोल विकास संस्थाबाट आलुको बीउ वितरण गर्न थालेको नगरपालिकाको कृषि, पशुपंक्षी तथा सहकारी विकास शाखाका प्रमुख डा. मनोज विश्वकर्माले बताए ।
उनले भने, ‘प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा सम्बन्धी टोल विकास संस्थालाई बीउ उपलब्ध गराएका छौं, टोल संस्थाबाट नै किसानहरुलाई बीउ वितरण हुनेछ ।’
उन्नत जातको जनकदेव आलुको बीउको मूल्य प्रतिकिलो ३२.५ रुपैया कायम गरिएको छ भने एमएस उन्नत जातको आलुको बीउको मूल्य प्रतिकिलो २७.५ रुपैया कायम गरिएको उनले बताए ।
आईतबारदेखि १४ वटै वडाका टोल विकास संस्थालाई आलुको बिउ वितरण गर्न सुरु गरिएको छ । जस अनुसार वडा नं १ मा ७ सय के.जी जनकदेव, वडा नं ३ मा ३६५ के.जी एम एस, वडा नं ४ मा ६९५ के.जी एमएस, वडा नं ५ मा ३७४० के.जी एमएस र ३१४५ के.जी जनकदेव आलुको बीउ वितरण गरिएको छ ।
त्यस्तै वडा नं ६ मा ३७० के.जी एमएस र ३८५० के.जी जनकदेव, वडा नं ७ मा २६० के.जी एमएस र १११० के.जी जनकदेव, वडा नं ८ मा २६३५ के.जी एमएस र १९३० के.जी जनकदेव, वडा नं ९ मा १५८० के.जी एमएस र २६५५ के.जी जनकदेव, वडा नं १० मा ३६८५ एमएस र २५३२ जनकदेव, वडा नं ११ मा ४४५७ के.जी एमएस र २३५५ जनकदेव, वडा नं १२ मा ३१२ के.जी एमएस र ६२० जनकदेव, वडा नं १३ मा ५४५ के.जी एमएस र ३४० के.जी जनकदेव, वडा नं १४ मा २९० के.जी एमएस र ९५० के.जी जनकदेव आलुको बीउ वितरण गर्न सुरु गरिएको छ ।
कृषकलाई व्यवसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।










