तनहुँको आँधीमूल वाराही मन्दिर परिसरमा बृहत् ताल निर्माण गरिदै

दमौली : तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. १ स्थित आँधीमूलमा वृहत् ताल निर्माण कार्य अगाडि बढाएको छ । धार्मिक पर्यटकीय गन्तव्यस्थल बन्दै गएको आँधीमूल वाराही मन्दिरलाई थप व्यवस्थित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाले बृहत् ताल निर्माण कार्य अगाडि बढाएको हो ।
गाउँपालिकाले आँधीमूलमा करिब १५ रोपनी क्षेत्रफलमा बृहत् ताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरी ताल निर्माणको काम प्रारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
‘ताल निर्माण गरी पर्यटकीय क्रियाकलाप सुरु गर्ने मुख्य लक्ष्य हो । आँधीमूललाई धार्मिक गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित हामी अगाडि बढेका छौ’, उनले भने, ‘चालु  आर्थिक वर्षको अन्त्यसम्म तालले आकार लिने र दोस्रो चरणमा बाँकी पूर्वाधार निर्माणको काम अगाडि बढाउने छौं । यहाँ पैदलमार्गलगायत अन्य पर्यटकीय पूर्वाधार निर्माण र विद्युत् उत्पादनका निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने सोच रहेको छ ।’
आँधीमूल धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाले यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्नका लागि विभिन्न ठाउँबाट पर्यटक आउने गरेको र ताल निर्माणपछि आन्तरिक पर्यटकलाई आकर्षित गर्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताका रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलन रहेको छ । त्यसैले माछा मरेमा पुजारीले खाल्डो खनेर अन्त्येष्टि गर्दै आएको छ ।’
प्राचीनकालदेखि नै यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आएकामा वि.सं. २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । मन्दिरमा हरिबोधनी एकादशीका दिन फूलको डोली ल्याएर विसर्जन गर्ने एवं मन्दिर परिसरमा तोरण टाङ्ग्ने कार्य चलिआएको छ । जल, जंगल, जमिनलाई पुज्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा पनि पूजाआजा गर्ने गरेका छन् ।
यस मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने क्रम बढ्दै गएको छ । पृथ्वीराजमार्गबाट नजिकै रहेका कारण यो ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको छ । पृथ्वीराजमार्गको सत्रसयबाट करिब साढे दुई किलोमिटरको दूरीमा आँधीमूल रहेको छ । त्यसमध्ये करिब एक किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
मन्दिर, मन्दिर परिसरमा रहेका २३ वटा धारा, स्वच्छ वातावरण लगायतले पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ । मन्दिरमा साउन महिना र औँसीबाहेकका सबै दिनमा पूजा हुने गर्छ । आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने र बलि दिने प्रचलन पनि छ । धार्मिक तथा पर्यटकीयस्थल भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि पनि यहाँ तनहुँ लगायत विभिन्न जिल्लाबाट मानिस आउने गरेका छन् ।
प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचनाले यहाँको सुन्दरतामा थप महत्व थपेको छ । तनहुँ, कास्की, स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।
उनले भने, ‘यहाँ दर्शन गरेमा मनले चिताएको विश्वास रहेकाले टाढा–टाढाबाट दर्शनार्थीहरू आउने गरेका छन् । पछिल्लो समय पर्यटकी पूर्वाधार निर्माण, सडक कालोपत्र भएकाले थप सहज भएको छ । अब ताल निर्माण भएमा थप आकर्षण गर्ने विश्वास छ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker