भाडा नतिर्ने सटरमा शुक्लागण्डकी नगरपालिकाले लगायो ताला
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नो स्वामित्वमा रहेका वडा नं. ७ स्थित खैरेनीटारेका व्यवसायिक सटरमा बुधबार ताला लगाएको छ । नगरपालिकाले भाडामा लगाएको ३४ वटा सटर कोठामध्ये ८ वटा सटरमा ताला लगाएको हो।
सटरमा व्यवसाय गर्नेहरुलाई पटक पटक पत्राचार र मौखिम रुपमा ताकेता गराएको भएपनि अटेर गरी गत आर्थिक वर्ष २०७९/०८० देखिकै भाडा रकम नबुझाएकाले ताला लगाइएको नगरपालिकाका राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीले बताए ।
वडा नं. ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, ७ का वडाध्यक्ष खड्ग सिं थापा मगर, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारीको रोहवरमा सटर बन्द गरिएको छ । सुवेदीका अनुसार नगरपालिकाले मिना नेपाली (निर्मलपोखरी-कास्की), चिरन्जीवि रेग्मी (पुर्कोट-तनहुँ), पार्वती विक (कास्की), बिकासबाबु श्रेष्ठ (च्याङ्गली-गोरखा), कमलबहादुर सुनार (शुनपा-५) को व्यवसायीक सटरमा ताला लगाएको छ ।
व्यवसायी मिना, चिरञ्जीवी, पार्वती, विकासबाबु र कमलबहादुरले नगरपालिकालाई १ लाख ३८ हजार ३८४ रुपैयाँको दरले भाडा तिर्नुपर्नेमा अटेर गर्दै आएका थिए । सोही सटरमा व्यवसाय गर्ने आशा खातुन, रामप्रसाद श्रेष्ठ र ओमनाथ पौडेलले भने चेक प्रदान गरेको बताइएको छ । चेक साटेपछि वा नगद उपलब्ध गराएपछि उनीहरुले पुनः व्यवसाय संचालन गर्न पाउने छन् ।










