भोटेकोशी बाढी : आदिकवि भानुभक्त क्याम्पसको वार्षिकोत्सव स्थगित

दमौली : गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थालाई मध्यनजर गर्दै आदिकवि भानुभक्त क्याम्पस, दमौलीले आफ्नो ४०औँ वार्षिकोत्सव तथा क्याम्पस सभा स्थगित गरेको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको अध्यक्षतामा मंगलबार बसेको बैठकले आगामी भदौ १८ गते आयोजना गर्ने तय भएको वार्षिकोत्सव तथा क्याम्पस सभा अर्को मिति नतोकिएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

वार्षिकोत्सवका अवसरमा आयोजना गर्ने तयारी गरिएका साप्ताहिक कार्यक्रमसमेत स्थगित गरिएको क्याम्पसले जनाएको छ । स्थापना दिवसका रूपमा रहेको भदौ १८ गते क्याम्पसमा बिदा दिने निर्णयसमेत बैठकले गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।

बैठकमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, पूर्वक्याम्पस प्रमुख एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठ, उपाध्यक्ष श्रीराम कार्की लगायतको उपस्थिति रहेको बैठकमा सदस्यसचिव एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । बाढीमा परी ज्यान गुमाउनेका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा संलग्न स्वदेशी तथा विदेशी सरकारी तथा गैरसरकारी निकाय, समुदाय र व्यक्तिप्रति आभार व्यक्त गरेको छ ।

यसैगरी, क्याम्पसअन्तर्गत सञ्चालित आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा ११ शिक्षा समूहमा अध्ययनरत छात्र सुलभ वैद्यको सडक दुर्घटनामा भएको असामयिक निधनप्रति बैठकले शोक प्रस्ताव पारित गरेको छ । भदौ १५ गते भएको सडक दुर्घटनामा वैद्यको निधन भएको थियो ।

आर्थिक अनुशासनमा जोड

यस्तै, बैठकले क्याम्पसको आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन छलफल गरी पारित गरेको छ । आन्तरिक लेखापरीक्षण समितिका संयोजक ऋषिराम ढुंगानाले प्रस्तुत गरेको प्रतिवेदनमा सुझाव कार्यान्वयन गर्न क्याम्पस प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।

क्याम्पसको आर्थिक दिगोपना, बजेट व्यवस्थापन, कर तथा कानुनी परिपालना, वित्तीय अनुशासन र विद्युतीय आर्थिक अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित बनाउन आर्थिक परामर्शदाता नियुक्त गर्ने निर्णयसमेत गरिएको छ ।

परामर्शदाता नियुक्तिका लागि राष्ट्रिय दैनिक पत्रिकामा सातदिने सिलबन्दी दरभाउपत्र तथा प्रस्ताव आह्वानको सूचना प्रकाशित गर्ने निर्णय अनुमोदन गर्दै प्राप्त प्रस्तावमध्ये उपयुक्त फर्म वा कम्पनी छनोट गरी नियुक्ति गर्न आर्थिक समितिलाई अख्तियारी दिइएको छ ।

त्यस्तै, बैठकले क्याम्पसको खरिद समिति पुनर्गठन गरेको छ । पुनर्गठित समितिको संयोजकमा अर्जुन सुनार तथा सदस्यमा निर्मल पण्डित, सोमराज सिग्देल, क्याम्पस प्रमुख र लेखा शाखा प्रमुख रहने व्यवस्था गरिएको छ ।

क्याम्पसमा रहेका जिन्सी सामानको भौतिक प्रमाणीकरण, जिन्सी खाता र वास्तविक मौज्दात मिलान, सामानको दाखिला प्रमाणीकरण तथा घटबढ र टुटफुटको पहिचान गरी कानुनबमोजिम लिलामी वा मिनाहाका लागि सिफारिस गर्न जिन्सी मिलान समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

समितिको संयोजकमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सदस्यमा सञ्चालक समितिका उपाध्यक्ष, क्याम्पस प्रमुख, आर्थिक समिति संयोजक र जिन्सी शाखा प्रमुख रहनेछन् । आवश्यकता अनुसार समितिको बैठकले आमन्त्रित सदस्य थप गर्न सक्ने व्यवस्था गरिएको छ ।

क्याम्पस सञ्चालक समितिले विपद्को संवेदनशील अवस्थासँगै संस्थागत आर्थिक अनुशासन र सम्पत्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्दै शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker