धाम्पेसाल सहिद पार्कलाई युद्ध सङ्ग्रहालय बनाइने

भञ्ज्याङ समाचारदाता/गोरखा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो ।

गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ । करिब ८ दशमलव ६ रोपनी क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्झनामा सहिद स्मृति पार्कका रुपमा विकास भएको छ ।

घ्याम्पेसाल ताकुकोट सडक खण्डको छेवैमा पर्ने सहिद स्मृति पार्कलाई अब सहिद स्मृति पार्कमात्र नभएर युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्क निर्माण सम्पन्न नहुँदै सयौँको सङ्ख्यामा आन्तरिक तथा बाहृय पर्यटक ‘दिलबहादुर रम्तेल स्मृति पार्क’को अवलोकन गर्नका लागि त्यहाँ पुग्ने गरेको उहाँको भनाइ छ ।

पार्कमा जनयुद्धकालीन समयमा तत्कालीन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजसमेत प्रदर्शनीका लागि राख्न लागिएको उहाँले बताउनुभयो । “लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि जनयुद्धमा भएका बलिदानीलाई अध्ययन गर्न पाउने संग्रहालयका रुपमा स्मृति पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “अब छिट्टै बाँकी रहेका काम सम्पन्न गरिनेछ ।”

नयाँ पुस्तालाई युद्धसम्बन्धी इतिहासको चित्रण गराउन, जनयुद्धको सुरुआत, युद्ध र शान्ति सम्झौताको चित्रण गराउनसमेत युद्ध सङ्ग्रहालयले भूमिका खेल्ने अध्यक्ष भट्टको भनाइ छ । युद्ध सङ्ग्रहालयमा जनयुद्धकालीन इतिहास अध्ययन गर्न भिडिओ कक्षलगायत इ-लाइब्रेरीसमेत राखिने छ भने तत्कालीन जनमुक्ति सेनाले प्रयोग गरेका पोषाक, तत्कालीन समयमा संवाद गरिएका पत्र पनि रहनेछन् ।

“जनयुद्धकालीन सबै इतिहासलाई समेट्ने गरी सामग्री खोजी गरी संकलन गरेर संग्रहालयमा राख्ने तयारी गरिरहेका छौ”, उहाँले भन्नभुयो, “पार्कभित्र पोखरी, भ्यूटावरसमेत रहनेछ ।” पार्कमा जनयुद्धका क्रममा ज्यान गुमाएका गोरखाका सबै सहिदको नाम शिलालेखमा राखिएको छ ।

“सहिद स्मृति पार्कमा घुम्न, हेर्न र अध्ययन गर्नका लागि जिल्लाभित्र र बाहिरबाट समेत पर्यटक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यसले जनयुद्धको इतिहासलाई जीवन्न बनाइराख्न मात्र नभएर बारपाक सुलिकोट गाउँपालिकाभित्र पर्यटक भित्रयाउन समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।” पार्कभित्र टिकट काउन्टर निर्माण गरिएको छ भने बनभोजका लागि स्थान बनाइएको छ ।

पार्कमा प्रथम सहिद दिलबहादुर रम्तेलको सालिक निर्माण गरिएको गाउँपालिकाका इञ्जिनियर अभिनव गौतमले जानकारी दिनुभयो । पार्कलाई युद्ध सङ्ग्रहालयका रुपमा विकास गर्दै थप व्यवस्थापन गर्नका लागि गाउँपालिकाले गण्डकी प्रदेश सङ्ग्रहालयका प्रतिनिधिलगायतका सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

“पार्क निर्माणमा करिब रु आठ करोड लाग्ने अनुमानसहित डिपिआर तयार गरी निर्माण सुरु भएको थियो”, इञ्जिनियर गौतमले भन्नुभयो, “अहिलेसम्म लगभग रु पाँच करोडको हाराहारीमा पार्क निर्माण भइरहेको छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker