विद्यार्थीलाई नियमित विद्यालय ल्याउन “हेलो अभिभावक” कार्यक्रम

भञ्ज्याङ समाचारदाता/लमजुङ

भौगोलिक कठिनाइ, सडक, खानेपानीलगायत पूर्वाधारको अभाव झेलिरहेका लमजुङको दोर्दी गाउँपालिका-७ फलेनीका बासिन्दा शिक्षामा भने गाउँ पछाडि पर्न नहुनेमा सचेत छन् । दोर्दीको विकट गाउँमा ५० वर्षदेखि शिक्षाको उज्यालो छरिरहेको बालकल्याण माध्यमिक विद्यालय यसकै एक उदाहरण हो ।

अघिल्लो पुस्ताको त्याग र मेहनतको जगमा उभिएको सो विद्यालयले अहिले शैक्षिक तथा भौतिक सुधारमा फड्को मारेको छ । चिटिक्क विद्यालय भवन, सिकाइमैत्री वातावरण, अध्यापनमा समर्पित शिक्षक, जिज्ञासु र अनुशासित विद्यार्थी, जागरुक अभिभावक तथा विद्यालयप्रतिको सामाजिक एकताले बालकल्याण मावि सिँगारिएको छ ।

विसं २०३० मा बोधलाल श्रेष्ठ, कामराम गुरुङ र चेष्टनारायण गुरुङले सो विद्यालय स्थापनामा अगुवाइ गर्नुभएको थियो । दोर्दी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिलबहादुर घलेले बालकल्याण माविलाई गाउँको चेतनाको धरोहरका रूपमा चिनाउनुभयो । “दोर्दी करिडोरको अगुवा विद्यालय हो यो, भौगोलिक हिसाबले पछाडि परे पनि यहाँको शैक्षिक उन्नयनमा बालकल्याण माविको महत्त्वपूर्ण योगदान छ”, उहाँले भन्नुभयो ।

उक्त विद्यालयमा फलेनीसहित ढोडेनी र बन्सर क्षेत्रका बालबालिका अध्ययनका लागि आउने गरेका छन् । विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेका अनुसार अहिले दुइ सय पाँच विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । गुणस्तरीय सिकाइका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालय, बालविकास केन्द्र आदि सञ्चालनमा रहेको प्रअ घिमिरेले बताउनुभयो ।

“भवन, कक्षाकोठाको अभाव छैन, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तीनवटा पक्की भवन बनेका छन्, भौतिकरूपमा विद्यालय सम्पन्न छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको सिकाइ उपलब्धिसँगै विद्यालयको समग्र शैक्षिक सुधारतर्फ हामी केन्द्रित भएका छौँ ।” विद्यालयले कक्षा १० का विद्यार्थीका लागि आवासीयरूपमा पठनपाठन गर्ने व्यवस्था मिलाएको उहाँले उल्लेख गर्नुभयो ।

कक्षाकोठामा अधिकतमरूपमा शैक्षिक सामग्रीको प्रयोग गर्दै विद्यार्थीलाई व्यावहारिक र प्रयोगात्मक सिकाइ अभ्यासमा जोड दिइएको उहाँले बताउनुभयो । “छिट्टै अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने योजनामा छौँ, तर त्योभन्दा पहिले तल्लो तहका विद्यार्थीलाई नेपाली भाषामै परिपक्व बनाउनुपर्ने आवश्यकता छ”, प्रअ घिमिरले भन्नुभयो, “कक्षा १० र ८ कक्षामा पूर्वापरीक्षा लिने गरिएको छ, विद्यार्थीलाई नियमित विद्यालय ल्याउन हेलो अभिभावक कार्यक्रम सञ्चालन भइरहेको छ ।”

भौगोलिक विकटता र छरिएर रहेका बस्ती भएका कारण कक्षा ९ र १० मा पढ्ने कतिपय विद्यार्थी घण्टौँ लगाएर विद्यालय आउनुपर्ने बाध्यता रहेको वडा नं ७ का वडाध्यक्ष रीसमाया गुरुङले बताउनुभयो । लप्सीबोट, दैलुङ, नागी, सिमलगायत गाउँबाट एक-डेढ घण्टा पैदल हिँडेर विद्यार्थी बालकल्याण माविमा आउने गरेको उहाँको भनाइ छ ।

“टाढाबाट आउने विद्यार्थीका लागि विद्यालयले गाडीको व्यवस्था गर्नसके धेरै सहज हुने थियो, यसमा हामीले पहल गर्र्छौ, गाउँपालिकामा पनि यो कुरा उठाउँछौं”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “गाउँलेकै योगदान र पहलबाट यो विद्यालय यहाँसम्म आइपुगेको हो, भवनलगायत पूर्वाधारमा राज्यको पनि ठूलो लगानी परेको छ ।”

विद्यालयसम्म जोड्ने सडक स्तरीय नहुँदा यातायात सञ्चालनमा पनि कठिनाइ रहेको उहाँको भनाइ छ । वडाको थोरै बजेटले पूर्वाधार विकासका काम गर्न नसकिने भन्दै वडाध्यक्षले गुरुङले त्यस क्षेत्रमा सडक र खानेपानीको सुविधाका प्रदेश र संघ सरकारको बजेट चाहिने उल्लेख गर्नुभयो ।

विद्यालयकै शैक्षिक विकासका लागि ‘बालकल्याण मावि स्वर्ण अक्षयकोष’ स्थापना गरिएको प्रज घिमिरेले जानकारी दिनुभयो । यही पुस ९ देखि १४ गतेसम्म चलेको विद्यालयको ५०औँ वाषिर्कोत्सव एवं स्वर्ण महोत्सवका अवसरमा उक्त अक्षयकोषमा रु ४३ लाख ५० हजार सङ्कलन भएको उहाँले बताउनुभयो । अक्षयकोष स्थापनार्थ सञ्चालन गरिएको आर्थिक सहयोग अभियानमा स्थानीय दाताबाट सो रकम जुटेको हो । सबैभन्दा बढी दोर्दी-८ बन्सरका खर्ब तामाङले रु तीन लाख प्रदान गरेको विद्यालयले जनाएको छ । विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधा लगायतका योजना अगाडि बढाएको छ ।

विद्यालयमा प्रावि तहमा नौ स्थायी, निमाविमा चार स्थायी र मावि अनुदानमा दुइ शिक्षक, एक लेखापाल, कार्यालय सहयोगीलगायत गरी १९ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । शिक्षकको तलब सुविधामा विद्यालयलाई आन्तरिक स्रोतबाट रकम जुटाउनुपर्ने स्थिति छैन। तलब, भत्ता सबै राज्यकोषबाट प्राप्त हुने गरेको प्रअ घिमिरेले बताउनुभयो ।

“टाढाबाट आउने विद्यार्थीका लागि यातायातको सुविधा नहुँदा समस्या भइरहेको छ, दैनिक घण्टौं लगाएर विद्यालय आउजाउ गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “विद्यालयको आफ्नै बस सञ्चालनका लागि गाउँपालिका र प्रदेश सरकारसँग आर्थिक सहयोगको माग गरेका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker