बसाइसराइ रोक्न बन्दिपुर गाउँपालिकाको नयाँ योजना
सोनबहादुर नेपाली (तनहुँ)

बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि तनहुँको बन्दिपुर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ गर्ने प्रक्रियाले गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझन नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, होमस्टे सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको बन्दिपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अन्तर्गतका ६ वटा वडामा दश वटा होमस्टे सञ्चालन हुँदै आएका छन् । सो गाउँपालिका-२ चण्डिनी पिपलथोक स्थित बन्दीपुर सामुदायिक होम स्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको होम स्टेकी सचिव माया सुनारले बताउनुभयो ।
कोरोनाको न्यूनीकरणसँगै होम स्टेमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएकोले थप हौसला मिलेको उहाँले बताउनुभयो । विशेषगरी उक्त होम स्टेमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाहृय पर्यटक फाटफुट देखिन थालेको सचिव सुनारले बताउनुभयो । डेढ सयदेखि दुइ सयसम्म पर्यटक राख्न सकिने क्षमताको होमस्टे रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । वैशाख १ गते देखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको होम स्टे सञ्चालकहरुले बताएका छन् ।
गाउँगाउँमा होमस्टे सञ्चालन गर्न थालेपछि महिला होम स्टेमा व्यस्त हुने र पुरुषहरु बाख्रा, कुखुरा, तरकारी लगायतका व्यावसायिक रुपमा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको होम स्टेकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो । होमस्टेमा आउने पाहुनालाई स्थानीयस्तरमा उत्पादित परिकारका खानाको स्वागत गर्नुका साथै कला नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी बन्दीपुर गाउँपालिका-३ स्थित रामकोट पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको स्थल हो । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी रहेपनि अहिले तीस जना महिला मिलेर होमस्टे सञ्चालन गर्दै आएको रामकोट सामुदायिक होम स्टेकी अध्यक्ष बिहिसरा आलले बताउनुभयो । होमस्टे सञ्चालन गर्न थालेपछि उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहलमा उल्लेखनीय बढेपछि स्थानीयवासी खुशी हुन थालेका छन् । त्यसक्षेत्रमा जाने मोटरबाटो, बिजुली, खानेपानीलगायतका आधारभूत सेवा विस्तारका काममा प्राथामिकता दिइएको छ ।
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलको रुपमा परिचित रहेकोले गाउँबाट शहर झर्ने प्रक्रियालाई रोक्न होम स्टे सञ्चालनको लागि पहल गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । गत वर्षदेखि उक्त स्थानमा होमस्टे सञ्चालनमा ल्याइएको हो । गाउँका तीस जना महिला मिलेर होम स्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गएको छ । गतवर्ष नै होम स्टेको लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु दश लाख विनियोजन गरिसकेको छ ।
गाउँमा रहेका मानिसलाई गाउँमै बस्ने वातावरण मिलाउन गाउँपालिकाले होमस्टेका महिलालाई सो सम्बन्धी र पुरुषहरुलाई कालीगढ सम्बन्धी तालीम प्रदान गर्दै आएको छ । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जनको स्रोत र गाउँगाउँमा विकास निर्माणका काम तीव्रगतिमा हुन थालेपछि बसाइँसराइ गरेका व्यक्ति पनि गाउँ फर्किन थालेका छन् । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । शहर बसाइँसराइ गरेकालाई गाउँमा फर्कन आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले प्राथामिकतामा राखेर काम गर्दै आएको अध्यक्ष थापाले बताउनुभयो । रासस










