मानहुँकोटका कृषकलाई प्राङ्गारिक मल तथा जैविक विषादी निर्माण र प्रयोग सम्बन्धी तालिम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको मानहुँकोट क्षेत्रका कृषकहरुलाई प्राङ्गारिक मल, जैविक विषादी निर्माण तथा वेमौसमी लहरे तरकारी खेतीको नर्सरी तयार लगायतका विषयमा आधारभूत तालिम दिइएको छ । युएनडिपी-जिइएफ-एसजिपीको आर्थिक सहयोगमा उर्जा तथा वातावरण नेपालको प्राविधिक सहयोगमा यस क्षेत्रका कृषकलाई कृषिसंगै पर्य पर्यटन कार्यक्रममा जोड्ने गरी विभिन्न तालिम प्रदान गर्दै आएको छ ।
म्याग्दे गाउँपालिका-१ वरच्याङ, काटराङ र व्यास नगरपालिका-५ मानहुँकोट सौराहका कृषकहरुलाई २/२ दिने तालिम प्रदान गरिएको हो । तालिममका कृषकहरुलाई जैविक मल, सुधारिएको गोठेमल, कुखुराको मल तथा कम्पोष्ट मल व्यवस्थापन तथा वेमौसमी लहरे वाली उत्पादन, जैविक वनस्पती विषदी सम्बन्धी प्रयोगात्मक विधिबाट तालिम प्रदान गरिएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्ण चन्द्र सुवेदीले बताए ।
मानहुँकोट क्षेत्रमा उर्जा तथा वातावरण नेपालले जलवायुमैत्री कृषि नामक कार्यक्रम अन्तर्गत वेमौसमी लहरे वाली उत्पादन तथा जैविक वनस्पती विषादीको प्रयोग गरी कृषि उपज उत्पादन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरेको छ । सदरमुकाम दमौलीसंगै जोडिएको मानहुँकोट क्षेत्रलाई ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको र मानहुँकोट क्षेत्रलाई लक्षित गरी जलवायुमैत्री कृषि उत्पादन गरी स्वास्थ्य जीवन तथा स्वास्थ्य वातावरण उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष सुवेदीले बताए ।

उक्त कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिका-१ वरच्याङ र टाकराङका ४५ जना कृषकलाई वेमौसमी लहरेवाली काँक्रो, करेला, लौका, घिरौलाको विरुवा उत्पादनका लागि पोलीपटमा नर्सरी स्थापना, जैविक विषादी उत्पादन तथा प्रयोग विधिका विषयमा प्रयोगात्मक तालिम प्रदान गरिएको थियो ।
तालिमको उद्घाटन गर्दै म्याग्दे-१ का वडा अध्यक्ष मणिभद्र वाग्लेले अहिले विषादीको जथाभावी प्रयोगले मानिसको स्वास्थ्यमा गम्भिर असर देखिने गरेको हुँदा यस प्रकारका तालिमले कृषकलाई जैविक मलको प्रयोग र यसको महत्वका विषयमा जानकारी लिन मद्दतपुग्ने विश्वार व्यक्त गरे ।
यस्तै, व्यास-५ को मानहुँ सौराका ३५ जना कृषकलाई पनि उक्त दुइ दिने तालिम प्रदान गरिएको छ । वेमौसमी रहरेवाली उत्पादनका लागि नर्सरी व्यवस्थापन, जैविक मल तथा विषादीको प्रयोग लगायतका विषयमा कृषि विज्ञ बद्री बहादुर कार्कीले प्रशिक्षण दिएका छन् ।

फागुन महिनामा विरुवा रोपेर चैत वैशाख महिनामा वेमौसमी लहरेवाली उत्पादन गर्ने लक्ष्यका साथ यस क्षेत्रका कृषकहरुलाई पोलीपटमा गमोज प्रयोग गरी नर्सरी स्थापना, विभिन्न वनस्पती तथा गाईवस्तुको पिसाव कुहाएर जैविक तथा वनस्पतिक विषादी तयार लगायतका विषयमा कृषि विज्ञ कार्कीले आधारभुत तालिम दिएका छन् ।
जंगल, घर वरिपरी पाइने अमिलो टर्रो, तितो, पिरो, नुनिलो कोकाउने जस्ता विभिन्न प्रजातिका झारपात, वनस्पति, गाईवस्तुको पिसाव कुहाएर जैविक तथा वानस्पतिक विषादी तयार गरी प्रयोग गर्दा मानव स्वास्थ्यका साथै वातावरणमा समेत सकरात्मक प्रभाव पर्ने विषयमा कृषकहरुलाई जानकारी गराइएको थियो ।
यस्ता कार्यक्रमले विपन्न वर्गका समुदायका किसानलाई वातावरण तथा जलवायुमैत्री कृषि उत्पादन गर्न मद्दत पुग्ने बताइएको छ । रासायनिक मल, विषादीको प्रयोगले मानव स्वास्थ्यमा पर्ने असर, वातावरणमा पर्ने असर न्यूनिकरणमा समेत टेवा पुग्नेमा विश्वास गरिएको छ ।










