भूमिहिनको तथ्याङ्क संकलन गर्न गणक घरदैलोमा

  • भञ्ज्याङ समाचारदाता (दमौली)

भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क संकलनका लागि गणक घरदैलोमा पुगेका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा गणकलाई भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क संकलनलाई परिचालन गरिएको हो । भूमि सम्बन्धी समस्या समाधान आयोगले गत माघ ९ गते सार्वजनिक सूचना प्रकाशन गरी विवरण उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरिसकेको छ । सोहीबमोजिम सम्बन्धित स्थानीय तहले नियुक्त गरेका गणक उक्त तथ्याङ्क संकलनका लागि परिचालित भएका छन् ।

पहिलो चरणमा कार्यसम्पादन भएका स्थानीय तहमा ३५ दिनभित्रमा सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित वसोवासीको प्रारम्भिक विवरण संकलन गरिने आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिए । अहिले जिल्लामा पनि आयोगका पदाधिकारी नियुक्त भइसकेकाले जिल्लास्थित आयोगसँग समन्वय गरेर विवरण संकलन र पुष्टिको काम गरिने रानाले बताए ।

उनका अनुसार आँबुखैरेनी, घिरिङ, ऋषिङ र म्याग्दे गाउँपालिकासँग केही दिनअघि कार्यसम्पादन सम्झौता गरिएकाले ती स्थानीय तहमा पालिकास्तरीय, वडास्तरीय र तथ्याङ्क संकलन एकाइ गठन गरिने छ । यसअघि आयोगले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकासँग सम्झौता गरेको थियो ।

देवघाट गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क संकलनका लागि गणकहरुलाई घरदैलोमा खटाइएको जानकारी दिए । व्यास नगरपालिकाले पनि प्रत्येक वडामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क संकलनका लागि गणक परिचालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

व्यास नगरपालिकाका तथ्याङ्क एकाई प्रमुख विमल गिरीका अनुसार नगरपालिकाका १४ वटै वडामा तथ्याङ्क संकलक खटाइएको छ । उनीहरुले वडा कार्यालयबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीको विवरण संकलन गर्नेछन् । उनका अनुसार भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित वसोवासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचानका लागि जिल्लाका स्थानीय तहले पनि काम शुरु गरेका छन् । सरकारले भूमि आयोगको जिल्ला अध्यक्षमा दधिराज सुवेदी तथा सदस्यहरुमा दीर्घबहादुर दरै र शान्ति कुँवरलाई नियुक्त गरिसकेको छ । सरकारले अगाडि बढाएको उक्त अभियानलाई सहयोग पुर्‍याउन जनप्रतिनिधिले काम गर्ने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker