नेपालमा कुम्भमेलाको ईतिहास र देवघाटधाम

देव बस्न्यात

१) विषय प्रवेश

नेपालमा कुम्भ मेला कहिलेदेखि सुरुआत भयो भन्ने बारेमा पुराना कुनै  लिखितअभिलेखहरु फेला पर्दैनन् । तर अहिले आएर केही स्थानहरुमा कुम्भमेला लागेका समचार प्राप्त भएका छन् । बाह्रवर्षे मेलाको रुपमा काभ्रेको पनौतीको रुद्रमती, पूण्यमती र रोशीखोलाको त्रिवेणाीमा  लिच्छवीकालीन राजा मानदेवको पाला देखि सुरुआत भएको भन्ने  किंबदन्ति सुनिन्छ । यसैगरी ललितपुर जिल्लाको गोदावरीमा पनि वि.सं. २०५४ सालदेखि विधिवत रुपमा कुम्भमेला लाग्दै आएको छ । पनौती र गोदावरीमा फरक फरक समयमा बाह्र वर्षे कुम्भमेला लाग्ने गर्दछन्।
सुनसरी जिल्लाको चतराधाममा जगतगुरु बालसन्तदास मोहनशरण देवाचार्यले वि.सं. २०५९ सालबाट कुम्भमेलाको सुरुआत गर्नु भएको हो भने कैलाली जिल्लाको कुम्भ मेलाका अभियान्ता एवं संयोजक पदमराज जोसीले वि.सं. २०७२ सालमा कुम्भमेलाको अभियान चलाएका हुन् । वि.सं. २०८० साल फागुन १२ गतेका दिन आयेजक समितिका संयोजक एवं प्रतिनिधि सभा सदस्य सदस्य शेर बहादुर कुँवरले आच्छाम जिल्लाको वैद्धनाथ धाममा कुम्भमेलाको सुरुआत गरेका थिए भने देवघाटमा पनि १२ वर्षे कुम्भमेलाको आयोजना गर्ने नगर्ने भन्ने विषयमा सहमती असहमतीका बीचमा बि.सं. २०७३ सालमा ८४ करोड दीप प्रज्वलनका साथ महामकर स्नान, महालक्ष्य होम र कोटीहोम गरिएता पनि यसलाई कुम्भमेला नभनेर कलश पुजन महोत्सव नामाकरणा गरिएको थियो । देवताहरुबाट सुरु भएको देवघाटको महाकुम्भ मेलालाई कुम्भमेला नामाङ्कित गर्ने विषयमा भारतीय नागरिकहरुको भन्दा नेपालीहरुकै चर्काे विरोध देखिएको थियो ।

२) कुम्भमेलाको सुत्रपात कसरी भयो ?

कुम्भ मेलाका विषयमा हाम्रा पुराण तथा स्मृतिहरुमा दुई तीन थरी मतहरु देखिन्छन् । जस्मा सबैभन्दा ग्राह्य रुपमा समुन्द्र मन्थन पश्चात् प्राप्त भएको अमृतका बुँदहरु जहाँ जहाँ पोखिए त्यही त्यहीं कुम्भमेलाको सुरुआत भएको कुरा हाम्रा धर्मशास्त्र तथा पुराणहरु बताउँछन् । जति पनि अलग–अलग गोचर भावहरु छन् तिनीहरु सबैमा उसैको अभिव्यक्ति पाईन्छ जुन काल परम व्योममा आधारित छ । वास्तवमा अनन्त अथवा अन्तवाला काल दुई नभएर एक मात्र भेटिन्छ । पूर्ण कुम्भ दुबैको भरिने वाला नै हो ।
पूर्णः कुम्भोधिकाल आहितस्तं वै पश्यामो जगत्
ता इमा विश्वा भुवनानि प्रत्यङ् बहुधा नु सन्तः
कालं तमाहु, परमे व्योमन् ।
अठार पुराणहरु मध्येको स्कन्दपुराण अनुसार देवता र राक्षसहरु बीच  अमृतघडा आफ्नो नीजस्व बनाउन एक आपसमा भयंकर संग्राम भयो । देवासुर संग्राममा देवताहरु मरेका मरै हुने तर राक्षसहरुका गुरु शुक्राचार्यले मृतसञ्जिवनी  वुटीको प्रयोग गरेर राक्षसहरुलाई बचाई दिंदा देवताहरु कुनै हालतमा विजयी हुने छाँट देखिएन । लामो समयको अन्तराल पछि ब्रह्माको सरसल्लाह बमोजिम देवताहरुले राक्षसहरुलाई फकाई फकाई समुन्द्र मन्थन गर्न उत्प्रेरित गरे । दुबै टोलीको सहमतीमा समुन्द्र मन्थन पनि भयो । समुन्द्रबाट पहिलो कोसेली हलाहल विष निष्कियो । तत्पश्चात १३ प्रकारका अरु रत्नहरु पनि कोशेलीको रुपमा निस्किए । अन्त्यमा मात्र आयुर्वेदका भगवान धन्वन्तरीले अमृतयुक्त कलशघडा लिएर पञ्चकन्याहरु निवास गरेको सुमेरु पर्वतमा प्रकट भए । देवताहरुका गुरु वृहस्पतिका सल्लाहले देवेन्द्र पुत्र जयन्तले धन्वन्तरीका हातबाट अमृत खोसेर अन्नापूर्ण हिमाल तिर भागे । देवताहरुबाट अमृतघडा खोस्नलाई शुक्राचार्यले राक्षसहरुलाई अह्राए । अन्ततः देवता र राक्षसहरुबीच १२ वर्षसम्म युद्ध भयो त्यहीबेला स्वर्गमा ८ ठाउँ र पृथ्वीका चार स्थानमा अमृत बुँद खसेको बारेमा पद्मपुराण बताउँछ ।
पृथिव्यां कुम्भयोगस्य चतुर्धा भेद उच्चते
चतुःस्थले नितनात् सुधा कुम्भस्थ भूतले
चन्द्र प्रस्रवणा रक्षां सूर्यों विस्फोटनात् दधौ
दैत्येभ्यश्च गुरु रक्षां सौरिदेवेंद्रजात् भयात

३) नेपालमा कुम्भमेलाहरु

क) कैलालीको गोदावरी कुम्भमेला :

धनगढीको २० किलोमिटर उत्तर  धनगढी र डडेलधुरा राजमार्गको समिपमा रहेको  कैलाली जिल्लाको गोदावरी नदीमा अवस्थित गोदावरीधाममा वि.सं. २०७२ सालमा नेपालका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले माघे सक्रान्तिका दिन समुदघाटन गरी सहस्रकुम्भ दर्शन मेला लाग्न सुरु भएको हो । बृध्दगोमतीका नामले चिनिने यस गोदावरी नदी मध्ये एउटा गाईको मुखबाट निस्केको र अर्काे गाइको थुनबाट निस्केको मानिन्छ। तिनै मध्येको एउटालाई रौप्या र अर्काेलाई स्वर्णा नदी भनिन्छ । यिनै नदीको दोभानमा आदर्शपुरुष भगवान श्रीराम, भगवान श्रीकृष्ण, भीष्मपितामह र पाँच पाण्डवहरुले स्नान गरेको कुरा स्कन्दपुराणको मानस खण्ड फलाद्री उपाख्यानले बताउँछ । यहाँको कुम्भमेलामा कोटी दीप प्रज्वलन, महालक्ष्यहोम, यज्ञयज्ञादिहरु पनि गरिएका थिए । कुम्भमेलाका बखतमा यहाँ बाह्र राशी, नौ ग्रह, २७ नक्षत्र र बाह्र सूर्यको दर्शन गर्न पाईने व्यवस्था मिलाईएको थियो । माघे संक्रान्ति, स्वस्थानी पूर्णिमा, एकादशी, माघे औंसी र श्रीपञ्चमी समेत पाँचवटा महास्नानगरेर फागुन १ गतेका दिन कुम्भमेला समापन भएको थियो । मेलालाई भव्यताका साथ सम्पन्न गर्न नेपाल सरकारले ४५ लाख र जि.वि.स कैलालीले १० लाख सहयोग गरेका थिए । भारतीय उपमहाद्वीपममा रहेका सातवटा गोदावरी नदी मध्ये कैलालीको गोदावरी नदी सर्वप्राचीन मानिन्छ । गोदावरी नदी मानसरोवरबाट भूमिगत भई फलाद्री पर्वतका मुलबाट उत्पन्न भएको जनविश्वास रहेको छ। त्यही फलाद्री शब्द अपभ्रश भई फलादगिरीलाई अहिले फल्टुणे भन्ने गरिन्छ। यश क्षेत्रको पहिचान गराउनमा यहाँका बाबा त्रिलोकनाथ योगि र आयोजक समितिका संयोजक पदमराज जोशीको महत्वपूर्ण योगदान रहेको छ । यहाँ गोदावरी भगवती, वनदेवी, १००८ शिवलिङ्ग, कैबल्यनाथ, महादेव, विष्णु, श्रीगणेश, हनुमान र अन्य देवी देवताहरुका मठमन्दिर, गुरुकुल पाठशाला, धर्मशाला र बौध्द गुम्बाहरु रहेकाछन् । कैलालीको गोदावरीबारे गोदावरी कुम्भमेलाको विषयमा पुराण बताउँछ ।
जनाःनपिमहाभागा हरिसंसार भावाविष ।
कौतुहलेन महता हिमवन्तं गिरींययौ ।।
वज्रन्मध्याहसमये स्नात्वा गोदावरी शुभम् ।
फलाद्रीप्रान्त सम्भुतां सिद्धगन्धर्वाै सेवितनम

ख) ललितपुर गोदावरीको कुम्भमेला :

ललितपुरको गोदावरीकुण्डमा  वि.सं २०७२ सालदेखि १२ वर्षे कुम्भ मेलाको आयोजना हुँदै आएको छ । पनौतीमा १२ वर्षे कुम्भमेला लाग्दा गोदावरीमा अर्धकुम्भमेला र गोदावरीमा १२ वर्षे कुम्भमेला लाग्दा पनौतीमा अर्ध कुम्भमेला लाग्ने गरेको पाईन्छ ।

ग) पनौतीको १२ वर्षे मेला :

रुद्रमती, पूण्यमाता र रोशी खोलाको त्रिवेणाी पनौतीमा लिच्छिवीकालीन राजा मानदेवको पालादेखि १२ वर्षे मकरमेला लाग्दै आएको मानिन्छ । तीर्थ त्रिवेणीमा स्नान गरेर  वासुकी नाग देवताको पूजा गरी गोरखनाथ बाबाको दर्शन गर्ने परम्परा रहेको छ । देवताका राजा ईन्द्रले गौतम पत्नी अहिल्यासँग गरेको यौन दुराचार पापको चिन्हो शरिर भरीको योनी मेटाउन मुक्तेश्वर महादेवको तपस्या गरे । मुक्तेश्वर महादेवले दिएको बांसको लिङ्गो टेकेर हिंडेका ईन्द्रले अहिल्या रुपि शिलामा टेकेपछि सहस्र योनीबाट मुक्त भएपनि निधारको योनी कसैगरी मेटिएन । निधारको योनी दोष मेटाउन देवेन्द्रले यहीं अवस्थित भालेश्वर महादेवको आरधना गरेपछि निधारको योनीलाई तेश्रो आँखामा रुपान्तरित गरी इन्द्रले  ब्राह्मणको श्राप मोचन गरेका थिए। जुन मन्दिरलाई अहिले इन्द्रेश्वर महादेव मन्दिर भन्ने गरिन्छ । यही मन्दिर ईश्वीको तेह्रौं शताब्दीमा त्यहाँका राजा जयरामसिंह मल्लले बनाएका हुन्। यहाँ भद्रकाली मन्दिर, ब्रह्मायणी मन्दिर तोलानारायण मन्दिर र उन्मतभैरवलगायत अन्य मन्दिरहरु पनि रहेका छन् । रामदुत हनुमानले लक्ष्मणलाई बचाउन लङ्का लगेको अजम्वरीबुटी पनि पनौतीमा खसेको जनविश्वास रहँदै आएको छ । स्कन्दपुराणमा समेत यहाँको कुम्भमेला बारे उल्लेख भएको पाउँदछौ ।

घ) आच्छामको वैद्यनाथधाम कुम्भमेला :

१४४ वर्षको अन्तरालमा कोटीहोम लगाउने आयोजना गर्दा  वि.सं २०८० सालको फागुन १० गते विहिवारका दिन महालक्ष्य होमका साथप्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरको संयोजकत्वमा १२ वर्षमा कुम्भमेला  आयोजना गरिएको थियो । १२ वर्षे कुम्भमेलाको आयोजना पश्चात छैटौं वर्षमा अर्धकुम्भमेला लगाउने विषयमा पनि यहाँका वासिन्दाहरुको सहमती भएको पाउँदछौ ।

ङ) चतराधामको कुम्भ मेला :

अमृतको थोपा खसेको ठाउँमा त कुम्भ आयोजना हुन्छ भने नेपालको पिण्डेश्वरमा अमृतको सारवस्तु वा तरकै पिण्डको स्थापना भएको ठाउँमा किन कुम्भमेला नलाग्ने भनी शास्त्रार्थ गरी वि.सं २०५९ सालबाट आजसम्म चतराधाममा कुम्भमेला आयोजना हुँदै आएको छ । स्कन्द पुराणमा पिण्डेश्वरका बारेमा यसरी चर्चा भएको छ :
तदा तदमृतं देवः कृत्वा वस्त्रेण गालितम् ।
पिष्टिं निष्कास्य निक्षिप्य पाययामास तान् सुरान् ।।३५।।
ततस्तु तां सुधापिष्टिं गृहीत्वा त्रिदशास्तथा ।
पिण्डीकृत्य प्रहृष्टास्ते लिङ्गं चक्रुरनुत्तमम् ।।३६।।
तल्लिङ्गं स्थापयामासुस्तस्मिन् रूद्राक्षकानने ।
स्थापयित्वा ततो लिङ्गं पूजयामासुरादरात्।।३७।।
नाम चक्रे ततस्तस्य पिण्डेश्वर इति प्रभो ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृतः ।।३८।
पिण्डेश्वरको उत्पति देवताहरुले अमरत्वको लागि राक्षसहरु संग मिली गरेको समुद्रमन्थन तथा अमृत वितरणको कथा सँग सम्बन्ध रहेको छ । स्कन्दपुराणका अनुसार समुन्द्र मन्थनबाट निस्केको अमृतमा दूधको जस्तै तर देखियो। अमृत वितरण गर्न लाग्दा त्यस तरलाई कपडाले छान्दा निस्केको लिङ्गस्वरूप पिण्ड रुदाक्षको वनमा स्थापना गरियो । वाराहक्षेत्रमा पिण्डेश्वर लिङ्गको स्थापना पश्चात् देवता, मानिस र राक्षसहरू आई श्रद्धापूर्वक त्यस लिङ्गको पूजाआजा गरे ।
विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे ।
सुधाबिन्दुविनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् ।१८।
अमृतको घडा लैजाने क्रममा भूतलका त्यसमा पनि भारत वर्षका नासिक, प्रयाग, हरिद्वार र उज्जैनमा स्थानहरुमा अमृतका थोपाहरु खसेको हुनाले कुम्भस्थल स्वीकार गरी कुम्भमेलाको आयोजना गर्दै आएका हुन् । अमृतका थोपा खसेको स्थानमा कुम्भ मेला लाग्छ भने अमृतको तर रुपि पिण्ड स्थापना गरेको स्थानमा कुम्भ मेला किन नगर्ने भनी बाल सन्तदास मोहनशरण देवाचार्यले आफ्ने अभिमत प्रस्तुत गरेपछि चतराधामको पिण्डेश्वरमा कुम्भमेलाको आयोजनको सुरुआत हुन  पुगेको हो ।

च) देवघाटमा कुम्भमेला :

अ, स्वर्ग भन्नाले केबुझिन्छ ?
हिन्दुधर्ममा उल्लेख गरिए अनुसार यस ब्रह्माणडमा रहेका सातलोकहरु मध्ये आकासमा रहेका सूर्यलोक र धूर्वलोक  माथि रहेको तेश्रो लोकलाई स्वर्ग भन्ने गरिएको छ । पुराण अनुसार  ब्रह्माण्डको  जुन स्थानमा देवी देवताहरुको वास  रहन्छ र मरणोपरान्त धर्मात्मा मानिसहरु पुग्ने गर्छन् त्यही स्थानलाई स्वर्ग भन्ने गरिन्छ । महाकवि कालीदाशले  त जहाँ  हरेक जन–जनमा समृद्धि रहन्छ त्यही स्थानलाई स्वर्ग हो भनेका छन् । वास्तवमा जहाँ जस्को मनमा कुनै ख्वाहिश, अफसोस र शरीरमा थकाई पैदा हुँदैन बरु सदैव सुरक्षित, निर्भयी र पूर्ण खुसी मिल्छ  त्यही स्थान नै स्वर्ग हो । आखिर स्वर्ग भनेको परम सुख र परम आनन्द प्राप्ति पनि हो । सुखको अनुभूत गर्ने तत्व मानव देहको मन मन्दिर हो। यही हिसावले सुखको अनुभव गर्ने मानवीय शरिरको ब्रह्माण्ड शिर नै स्वर्ग मान्न सकिन्छ भने धर्तीको शिर मानिने गगन स्वर्ग हो । गगन भनेको धर्ती भन्दा माथिको भाग हो । धर्तीको माथिल्लो भाग तथा उच्च शिखरहरु हिमालहरु नै हुन् । अन्नापूर्ण हिमाल पश्चिमको उकालो ओरालो भिरालो र तरेली परेको पाटन परेको क्षेत्र  नै शालग्राम क्षेत्र हो । शालग्राम भन्नु नै भगवान विष्णुको अर्काे रुप हो ।
यसैले विष्णुको निवास रहेको मुस्ताङको दामोदर पाटन क्षेत्र वैकुण्ठधाम याने स्वर्ग हो । त्यसका साथै शंकरको निवास कैलाश तथा पार्वतीको माईतीघर पनि अन्नापूर्ण  हिमाल हो । सामन्यतया देवताहरु निवास गर्ने स्थानलाई स्वर्ग भन्ने गरिन्छ । यही क्षेत्रको दामोदरकुण्ड र दामोदर हिमाल भगवान विष्णुका वैकुण्ठधाम र मानसरोवर क्षेत्र भगवान शिवजीको कैलाशधाम हुन् । धर्तीको स्वर्गबाट पृथ्वीतलमा ल्याईएकी गङ्गाको उद्भवस्थल मानसरोवर नै हो । गोदावरी कैलाली जिल्लामा प्रकट हुन्छिन् । नेपालको दाङ जिल्लामा स्वर्गद्वारी छ । मानसरोवर र मुस्ताङ मानव जातिको उद्भव स्थल हो । पूर्वजहरुको बसोबास रहेको स्थान सबैलाई जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी भन्ने गरिन्छ। यसैले खस एवं जाडहरुले मानसरोवरलाई विश्वको स्वर्ग सम्झिए झैं गण्डकी प्रसवण क्षेत्रका हिमाल पारीका मनाङ र मुस्ताङलाई पनि धर्तीको स्वर्ग मान्ने गर्दछन् । स्वर्गीय आनन्द लिनका लागि स्वदेशी तथा विदेशी नागरिकहरु मानसरोवर, मुस्ताङ र मनाङमा ओईरिने गर्दछन् ।
त्यही स्वर्ग जाने पहिले मैदानी घाँटी भनेको स्वर्गको मूलढोका देवाट, देवहाट नै देवघाट हो । यही बाटो भएर पाँच पाण्डवहरु स्वर्ग प्रस्थान गरेका थिए। देवघाटमा भगवान शिवजीको  जटाजुटबाट निस्किएकी त्रिशूल गङ्गा, अमृतरुपी तीन÷तीनवटा दूधपोखरीहरुको जलयुक्त मस्र्याङ्दी नदी अमृतरुपि श्वेतगङ्गा (शुक्लागण्डकी)का साथमा देवघाटमा पुगेर काली गण्डकीसंग मिल्दछन् । यसैले देवघाटलाई विष्णुलोक र शिबलोक जाने मूलद्वार सम्झेर देवदेवादिचोक देवाट भन्ने गरिन्छ ।
आ, देवघाट कहाँ पर्छ ? 
सिञ्जा सम्राज्य देखि पाल्पा तनहुँ राज्यको भूखण्डमा पर्ने देवघाट ८५–२२ देखि ८५– २२–३० पूर्वी अक्षाँश र २७–४२–३ देखि २७–४७–३० उत्तरी देशान्तरमा पर्दछ । समुन्द्र सतहको २०० मिटर उचामा अवस्थित देवघाट तनहुँ, चितवन र नवलपुर जिल्लाको संगम स्थल हो। गण्डकी प्रसवण क्षेत्रमा बहने मस्र्याङदी, सेती समेता छ÷छ वटा गण्डकीहरु र हजारौं जलश्रोतहरुलाई समेत समाहित गर्दै जाने त्रिशुली नदी र कालीगण्डकीको पावन संगम स्थल पनि देवघाटधामले चिन्ने गरिन्छ । स्वर्गका देवी देवताहरु, अप्सराहरु, गन्धर्वहरु, नागकन्याहरु, ऋषिमहर्षिहरु, सिद्ध पुरुषहरु, भूलोकका मानिसहरु र पातलका राक्षसहरु समेत यहाँ कुम्भमेला भर्न आउने र माघे सक्रान्ति, श्रीस्वास्थानी पूर्णिमा, एकादशी, औंशी, श्रीपञ्चमीको महास्नान गरेर आ–आफ्ना घरमा फर्कने गर्दछन् ।
इ, देवघाटबारे पुराणका कुराहरु :
त्रेता युगदेखि नै देवघाट अत्यन्त पवित्र तीर्थस्थल रहेको  प्रमाणित हुन आएको छ । वाल्मीकि रचित आध्यात्म रामायणले भगवान श्रीराम आफ्नी रानी सीता र भाइ लक्ष्मणका साथ त्रिशुली र काली गण्डकी नदीको संगममा स्नान गरेको कुरा “गण्डकी संगमे  स्नात्वा नेपाले जगदीश्वर” भनेर आध्यात्म रामायणमा लेखिएको कुरा व्यासका अध्येता काशीनाथ न्यौपाने बताउनु हुन्छ। सो बेला राम कालीगण्डकी करीडर हुँदै त्रिवेणीधाम, देवाट (देवघाट), रामपुर, रिडी, मुक्तिनाथ, दामोदर कुण्ड पुगेपछि सेती करिडर हुँदै तनहुँ ऋषिङ्ममा तपस्यारत महर्षि श्रीङ्गी र दिदी शान्तालाई भेटीगुल्मी जिल्लाको रेसुङ्गामा राम कुवा तथा तनहुँ जिल्लाको ऋषिङ रानीपोखरीमा अजम्वरी कुवा निर्माण गरेको, सराङघाट, सुमेरु पर्वत, गोमतीघाट (गाईघाट) हुँदै देवघाट पुग्दा  कुलगुरु वशिष्ठलाई गुफामा  भेट गर्ना साथ सीता त्यहीं तपस्या गर्न बसेको सीता गुफा र रनमका गुरु वशिष्टको गुफा पनि भेटिन्छ । उनै श्री रामका पिता अयोध्या नरेश पनि यहाँ स्नान गरी छोरी शान्ता र ज्वाई महर्षि श्रीङ्गीलाई भेट्न यही बाटो ऋषिङ्ग गएको वाल्मीकि रामायण बताउँछ ।
सर्वासां सङ्गमे धीर देवघट्ट इति श्रुते ।
सर्वतीर्थमये पूते स्नानात् कोटिगुणं फलम् ।।
सर्वतीर्थमया नद्यः सर्वदेवमयो हरः ।
तासां सुसङ्गमे नित्यममरैः स्नायते समम् ।।
देवदेवः स्वयं तत्र तिष्ठति प्रमथैः सह ।
देवतीर्थमिति प्रोक्तं तस्मात्सर्वफलप्रदम्।
पृथिव्या यानि तीर्थानि सन्ति फलप्रदानि च ।
कोटिकोटिगुण तेभ्यः फलं स्नानेन लभ्यते ।। (हिमवत्खण्ड ४४÷१०३–१०६) ।
दामोदर हिमालबाट उत्पती भएकी मस्र्याङ्दीले धुर्चु लेकको दूधकुण्ड, मेमेपोखरी नजिकको दूधकुण्ड र बौद्ध तथा मनास्लु हिमाल काखको दूधकुण्डहरुको अमृतरुपि जल एवं र अपि हिमालबाट उत्पत्ति भएकी अमृतरुपि दुग्धभा नामगरेकी शुक्लागण्डकी समेतलाई समाहित गर्दै गोसाईकुण्डबाट बग्दै आएकी त्रिशुली र दामोदर कुण्डबाट उत्पती भएकी शालग्रामी तथा काली गण्डकी देवघाटमा मिलन हुन पुग्छन् । शालिग्रामी भित्रको फोसिल मानव जिवांशको फोसिल हो । आजभन्दा २० करोड वर्ष पहिले तथा जुरासिक युगमा नेपालको हिमालय क्षेत्र टेथिस सागर थियो भनिन्छ । त्यही सागरको कालो रङ्गको एमोनोईड जिवाष्मको श्रोत दामोदर कुण्डलाई मानिन्छ जुन जिवाष्म भगवान विष्णुको प्रतिनिधि स्वरुप मानिन्छ । दामोदर हिमालको काखमा रहेको दामोदरकुण्ड वास्तवमै स्वर्गको वैकुण्ठधाम हो ।
द्वापर युगमा रानी यसोधाले भगवान श्री कृष्णका पेटमा दाम्लाले बाँधेर ओखलमा लटकाएकी थिईन । दाम्लाले उदर अर्थात पेटमा बाँधेको हुनाले कृष्णको नाम नै दामोदर बन्न गयो । दामोदर कुण्डबाट निस्केको हुनाले संस्कृतमा कृष्णा र नेपालीमा कालीनदी नाम रहन गएको हो । दामोदर नामबाटै, दामोदरहिमाल, दामोदरकुण्ड नाम रह्यो । अन्ततः स्वर्गरुपि दामोदरकुण्ड तथा वैकुण्ठधाम पुग्ने एक मात्र असली बाटो कालीगण्डकी करिडर नै हो ।
स्कन्दपुराणको ४४औं अध्यायमा विदर्भ देशका राजासंग देवघाट महिमाबरे एउटा रोचक कथा प्रसङ्ग रहेको छ । राजाका कामप्रभा र पद्मिनी नाम गरेका दुईवटी रानीहरु थिए । काली त्यस्मा पनि नराम्री कामप्रभालाई राजाले कहिल्यै राम्रो नजरले हेरेनन् । हेला गरिएकी रानी एकपटक कुम्भ स्नानको लागि देवघाट पुगिन । देवघाटमा स्नान गरेकीले कामप्रभा अप्सराहरु भन्दा राम्री बनिन । (श्रोतः देवघाटको धार्मिक ऐतिहासिक तथा सांस्कृतिक महत्व–नुरापति पोखरेल)
यदा नन्दी शुलपाणिना धनेन पुरस्कृतः।
स्थितवान तदिनादेव क्षेत्रं हरिहरात्मकम्।।
देवनामटनोच्चैव देवाट इति सज्ञितम्।
 वराहपुराण १४४/१४५।।
हातमा त्रिशूल धारण गरेका नन्दी जुनदिन गोधन अगाडि लगाएर  यश क्षेत्रमा बस्न थाले त्यही बेलादेखि देवताहरुको हाटमेला तथा पर्व लाग्ने स्थल देवाट प्रयागहरुको पनि आदि प्रयाग बनेको हो ।
एवं नदी समुभ्देदः सर्वतीर्थदम्बकम्।
ममक्षेत्रे समाख्यातपुण्ड्यम परम पावनम् (१४५।८५) यच्च सिद्धाश्रम इति विख्यातः पूण्यवर्धन (१४५/८६) 
मादी, शुक्ला, दरौंदी, बूडी गण्डकी, मस्र्याङ्दी र त्रिशुली मिसिएको भागिरथि नामको त्रिशुली नदी एवं काली गण्डकीको मिलनले देवघाट वेनीलाई पावनभूमि बनाएको छ । मानवहरुकै उत्पति स्थल मानिने भूस्वर्ग तत्कालीन नेपाल तथा हाल चीनको स्वशासित तिव्वतको मानसरोवर, खप्तडलेकको त्रिवेणीधाम, कालीगण्डकीको रिडी, अष्ट चिरञ्जीवी मध्येका मार्कण्डेय ऋषि र सनातन धर्म प्रणेता महर्षि वेदव्यासको जन्मभूमि दमौली पनि कुम्भमेला आयोजना हुन सक्ने स्थलको रूपमा लिन सकिन्छ ।
अन्त्यमा, कलश पुजन महोत्सवका नाममा वि.सं. २०७३ साल माघ १ गतेबाट २६ गतेसम्म कुम्भ मेला आयोजना भएको थियो । उक्त मेला आयोजना मेला आयोजक समितिका संयोजक आचर्य श्रीधर बश्याल र विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष  ईश्वरकृष्ण महाराजले जिम्मेवारी वहन गरेका थिए । ३२ करोड दीप प्रज्ज्वलन गर्ने लक्ष्य रहेकोमा यस समयमा ८४ करोड भन्दा बढी दीप प्रज्वलन भएको थियो । बाल आवास, बृद्धसदन र पाठशाला बनाउने लक्ष्यका साथ सुरुआत भएको कुम्भमेलामा वटुकहरुको सामुहिक व्रतवन्ध पनि गरिएको थियो। (श्रोत– विजनेस पाटी डटकम )
बि.सं. १६२२ मा पनि पाल्पाका राजा मणिमुकुन्दसेनले देवघाटमा कुम्भ मेलन आयोजना गरेका थिए भन्ने किंवदन्ती रहेको छ । यसै गरी तनहुँका राजा त्रिविक्रम सेनले  वि.सं. १८१० को आसपासमा कुम्भमेला आयोजना गरेका थिए  भन्ने जनश्रुति रहेको छ । कुम्भमेलामा राजा त्रिवक्रम सेनले पादरी ट्रयाङलोलाई दुईदुईपटक तनहुँको भ्रमण गर्न निम्ता गरेको किंवदन्ती रहेको छ। वि.सं. १८१३ सालमा ट्रयाङकुलो देवघाट आईपुग्दा ट्रयाङकुलोले राजा त्रिविक्रम सेनलाई ईसाई धर्म सम्वन्धी दुई दुईवटा पुस्तकहरु पनि प्रदान गरेका थिए । तीर्थ तीर्थहरुका पनि तीर्थ देवघाटमा कुम्भमेला आयोजना गर्न मनासिव देखिएकाले अर्धकुम्भमेला यसै वर्ष गर्न र वि.सं. २०८४ सालमा महाकुम्भमेला गर्न विद्वानहरुको वृहत् धर्मसभाबाट निर्णय हुने विश्वास रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker