सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पहल

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिका-७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यस ठाउँका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन ।

यस ठाउँको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । धेरै वर्ष पहिलादेखि रहेको गुफाका बारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीय यसको प्रवर्द्धनमा जुटेका हुन् । स्थानीय श्रीभद्र आचार्यले यस ठाउँलाई पर्यटकीयस्थल बनाउन पहल थालिएको जानकारी दिए । उनले भने, “यस गुफाका बारेमा धेरैलाई थाहा छैन, सामाजिक सञ्जालमार्फत पनि हामीले प्रचारप्रसारमा जोड दिएका छौँ, स्थानीय सरकारलाई पनि यस ठाउँको विकासका लागि अनुरोध गरेका छौँ ।”

आचार्यसहितका स्थानीयले केही दिन अगाडि मात्रै गुफाभित्र शिवलिंग, गणेश, नाग, शंखलगायत आकृति सहितको संरचना फेला पारेका थिए । उनले भने, “गुफाभित्र शिवलिङ्ग भएको बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिंग भेटियो, नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ, शिवलिंगमा आफैँ जल चुहिने गरेको छ ।” शिवलिङ्गको माथिपट्टी रहेको ढुंगाबाट आफैँ जल चुहिएर शिवलिंगमा तपतप झर्ने गरेको उनको भनाइ छ ।

स्थानीयले महाशिवरात्रि पर्वका अवसरमा गुफाभित्र रुद्री लगाएर शिवलिङ्गको प्रतिस्थापन गरेका छन् । सो दिन स्थानीय गुफाभित्रै रातभर बत्ती बालेर जागाराम बसेका थिए । आचार्यले भने, “परापूर्वकालमा यस ठाउँमा भगवान शिवजीले बास गरेको ठाउँ हो, यहाँ एक सय आठ बेलका वृक्ष पनि छन्, यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्नेमा द्विविधा छैन, यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भनेर हामी जुटेका हौँ ।”

सिद्धेश्वर गुफाको प्रवरद्धनका लागि स्थानीय सरकारले पनि चासो देखाएको छ । यस ठाउँलाई गाउँपालिकाको पर्यटकीयस्थलका रूपमा लिँदै निकट भविष्यमा यसको थप व्यवस्थापनमा पनि पालिकाले सहयोग गर्ने वडाध्यक्ष वसन्त श्रेष्ठले जानकारी दिए । उनले भने, “गाउँपालिकाले पालिका भित्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, पूर्वाधार निर्माणमा सहयोग गरिरहेको छ, यस ठाउँको विकासका लागि पनि पालिकाले सहयोग गर्नेछ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker