शुक्लागण्डकीका कोरोना संक्रमितलाई रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडिबुटी औषधी वितरण
भञ्ज्याङ समाचारदाता

नयाँ भेरियन्ट सहित कोरोना भाइरस समुदायस्तरमै फैलिएको छ । कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई बढी आक्रमण गर्ने र निको हुन समेत समय लाग्ने विज्ञहरु बताउँछन् । कोरोना विरुद्धका खोपहरु उत्पादन भएपनि सबैको पहुँचमा पुग्न सकेको छैन । त्यसैले पनि गाउँघरमा पाइने जडीबुटीहरु मिलाएर सेवन गरे फाइदाजनक हुने विज्ञहरुको भनाई छ । कतिपय आइसोलेसनहरुमा जडीबुटी सेवन गरेर कोरोना संक्रमितहरुले कोरोनालाई जितेको खबरहरु पनि सार्वजनिक भइरहेका छन् । बुधबार तनहुँको शुक्लागण्डकी र देवघाटका होम आइसोलेशनमा बस्नेहरुलाई आयुर्वेदका औषधी वितरण गरिएको छ ।
शुक्लागण्डकी-९, घाँरी तालवशीका स्थानीयवासी एवं आयुर्वेदका जानकार हरिबहादुर महतले १०८ प्रकारका जडीबुटी संकलन एवं मिश्रण गरी वितरण गरेका छन् । उनले वडा कार्यालयसंग समन्वय गरी आफ्नै लगानीमा विभिन्न टोलमा पुगेर आफुले तयार पारेको जडीबुटी निःशुल्क वितरण गरेका हुन् ।
लोकदोहोरी गायक समेत रहेका महतले स्याउली बजार टोल र राधाकृष्ण टोलका बालबालिकादेखि ८२ बर्षका वृद्धवृद्धाहरुलाई शक्तिवर्दक जडीबुटी हस्तान्तरण गरेको बताए । स्थानीयस्तरमा पाइने जडीबुटी स्वास्थ्यका लागि फाइदाजनक रहेकाले कमजोर उमेर समुहलाई लक्षित गरी जडीबुटी वितरण गरेको उनले बताए ।
महतले स्थानीयस्तरमा पाइने तुलसीको पात, घोल्टाप्रे, चिल्लो बादलपाते, धोविनीको जरा, बोझो, गुर्जो, अमला, हर्रो, बर्रो, निमको पात, असुरो लगायतका १०८ प्रकारको जडीबुटी मिश्रण गरेर बनाएको बताए । अहिलेको महामारीमा सबै जना आत्तिएको अवस्थामा छ, उनले भने समाजमा बसेपछि आफुले जानेको र सकेको सहयोग गर्नुपर्छ भनेर केही जडीबुटी संकलन गरी वितरण गरिएको उनले बताए । वडाध्यक्ष लोकनारायण श्रेष्ठ सहितका जनप्रतिनिधि, कर्मचारीहरुलाई समेत जडीबुटी हस्तान्तरण गरेका महतले विहिबार पनि साँखर टोलमा गएर जडीबुटी वितरण गर्ने योजना बताएका छन् ।










