म्याग्देको वर्च्याङमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम

तनहुँको म्याग्दे गाउँपालिका-१ वर्च्याङमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । ‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि, पर्यटन र पूर्व्ाधार’ भन्ने मुल नाराका साथ गाउँपालिका र विश्वस वातावरण कोष अन्तर्गत साना अनुदान कार्यक्रमको सहयोगमा उर्जा तथा वातावरण नेपालले उक्त तालिम सञ्चालन गरेको हो ।
म्याग्दे-१ को वर्च्याङ र टाकराङका १० घरमा घरबास -होमस्टे) सञ्चालन गर्ने उद्देश्यले सञ्चालित तालिममा ग्रामीण पर्यटन, होमस्टेका विषय, होमस्टे सञ्चालन कार्यविधि, पर्यटनमैत्री लघु उद्योग, लेखा व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, कृषि तथा पर्या-पर्यटन विकास, संस्कृति संरक्षण र विकास, पर्यटन वजारीकरण लगायतका विषयमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले सहजिकरण गरेका थिए ।

यस्तै, तालिममा सहभागिहरुलाई खाना बनाउने विधी एवं परिकार, मेनु निर्माण तथा व्यवस्थापन, कुकिङ/वेकिङको प्रयोगात्मक कक्षा, खाना सजावट एवं पस्किेने विधी, अतिथि सत्कार तथा साँस्कृतिक कार्यक्रमका विषयमा तालिम तथा सहजिकरण गरिएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदीले जानकारी गराए ।

उर्जा तथा वातावरण नेपाल तनहुँले म्याग्दे गाउँपालिका-१ को सात सय मानहुँ क्षेत्र -कोलडाँडा, टाक्राङ र बर्च्याङ)का बासिन्दाहरुमा सहभागिता मुलक मानहुँ क्षेत्र संरक्षण परियोजना सञ्चालनका लागि गाउँपालिकासंग सम्झौता गरी कार्यक्रम अगाडि बढाएको छ ।
यूएनडिपी/एसजिपिको सहयोगमा यहाँका १२३ घरधुरीका बासिन्दालाई लक्षित गरी म्याग्दे गाउँपालिका, डिभिजन वन कार्यालय तनहुँ, कृषि ज्ञान केन्द्र तनहुँ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको साझेदारीमा १८ महिनाको परियोजना सञ्चालन हुने उर्जा तथा वातावरण नेपाल तनहुँका अध्यक्ष सुवेदीले बताए।

अध्यक्ष सुवेदीका अनुसार मानहुँ क्षेत्रको वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु, प्राकृतिक एवं साँस्कृतिक सम्पदाहरुको संरक्षणमा स्थानीय सहभागिता बढाउनु, पर्या-पर्यटन, जैविक खेती र नवीकरणीय उर्जा प्रणालीका माध्यम स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने परियोजनाको मुख्य उद्देश्य रेहको छ । परियोजना मार्फत पर्यटन प्रवर्द्धन, कृषि तथा पशुपंक्षी प्रवर्द्धन, वन तथा वातावरण संरक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।
बर्च्याङ गाउँ
म्याग्दे-१ को वर्च्याङ गाउँमा ८० घरधुरी रहेका छन् । यो गाउँ सात सय मानहुँ अन्तर्गत पर्ने विशुद्ध मगर समुदायको बसोवास रहेको छ । सदरमुकाम दमौलीबाट सात कि.मि. कालोपत्रे सडकहुँदै सजिलै पुग्न पुग्न सकिन्छ । तनहुँ जिल्लाको सबैभन्दा बढि मौलिक घरहरु संरक्षित रहेको गाउँका रुपमा वर्च्याङलाई लिने गरिन्छ । समुन्द्र सतहबाट करिव ९५० मिटर उचाईमा रहेको यस गाउँबाट धवलागिरी, अन्नपूर्ण र मनास्लु लगायतका हिमश्रृंखला, नजिकैको मानहुँकोट अवलोकन गर्न सकिन्छ । सुन्तलाका लागि जिल्लाभर अग्रस्थान राख्ने यस क्षेत्रले कृषि तथा पशुपालनका लागि मात्र नभइ ग्रामीण पर्यटनका लागि समेत प्रचुर सम्भावना बोकेको छ ।

कलाकारद्वय प्रकाश दुतराज र मेलिना र्राईको लोपोन्मुख आदिवासी जनजाति राउटे जातिको जीवनशैलीमा आधारित बहुचर्चित गीत रिमै पश्चात अर्को लोकप्रिय गीत जुन माया -चुड्का) छायाँङ्कन भएको गाउँ पनि वर्च्याङ नै हो । मानहुँकोटले थेक्नै नसक्नेगरी -स्पिल ओभर) आउने आन्तरिक एवं वाहृय पर्यटकहरुका लागि सहज बसोबासको व्यवस्थापन गरी गाउँका ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक एवं पुरातात्विक स्थल तथा सम्पदाहरुको बारेमा जानकारी दिने र पर्यटकलाई सुलभ, सरल र सहज वातावरणमा स्थानीय परिकार, रितीरिवाज, कलासंस्कृतिका साथै रहनसहनको उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ स्थानीयबासी वर्च्याङ सामुदायिक होमस्टेको पूर्वाधार विकासमा जुटेकाछन्।
गाउँका प्रायः सबै घरधुरीको सहभागिता रहनेगरी उर्जा तथा वातावरण नेपालको आयोजना, म्याग्दे गापा र विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग एवं सम्पदा नेपालको सहजीकरणमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । तालिम पश्चात गाउँ भेलाले २ वर्षो एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना निर्माणगरी सर्वसम्मत पारित गरेको छ ।










