शुक्लागण्डकीको एक्लेडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पहल

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित एक्लेडाँडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहल थालिएको छ । धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यस ठाउँमा पूर्वाधार निर्माण गर्न लागिएको हो ।

वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयको रु पाँच लाखको बजेटमा गत वर्ष इञ्जीनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरेको थियो । एक्लेडाँडामा बुद्धको मूर्तिसहितका पूर्वाधार निर्माणका लागि माटो परीक्षण कार्य पनि सम्पन्न भएको छ ।

वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताउनुभयो । “सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौँ”, उहाँले भन्नुभयो ।

डिपिआर अनुसार यस ठाउँमा पूर्वाधार निर्माणका लागि रु १२ करोड ५३ लाख ३४ हजार ४०१ बजेट आवश्यक पर्ने देखिएको छ । दुई किलोमिटरको पदमार्ग र एक्लेडाँडामा गौतमबुद्धको मूर्ति निर्माण गरिनेछ । यसैगरी पृथ्वीराजमार्ग अन्तर्गत लेखनाथबाट म्याग्देसम्मबाट देखिने गरेर स्तनपान गराइरहेकी महिलाको विशाल मूर्तिसमेत निर्माण गर्ने योजना छ। उक्त मूर्ति १०८ फिट अग्लो हुनेछ । एक्लेडाँडादेखि शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामसम्म जीपलाइन निर्माण गर्ने योजनासमेत डिपिआरमा समावेश गरिएको छ ।

पर्यटक बढ्न थालेपछि गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु पाँच लाखमा २५० मिटर पदमार्ग निर्माण गरिएको छ । “यो पदमार्गलाई दुई किलोमिटर बनाएर पवित्र तीर्थस्थल ढोरवाराही मन्दिरसँग जोड्ने लक्ष्य राखेका छौँ”, उहाँले भन्नुभयो ।

ठूलो बजेट आवश्यक पर्ने भएकाले यसका लागि सङ्घ र प्रदेश सरकारसँग माग गरिने वडाध्यक्ष रेग्मीले बताउनुभयो । “नगरपालिकाको एक्लैको बजेटबाट मात्र यो सम्भव छैन, तीन तहकै सरकारको सहभागितामा यो काम पूरा गर्छौँ”, उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमार्फत विभिन्न ठाउँको प्रचारप्रसार हुने क्रममा यस ठाउँले पनि चर्चा बटुलेको छ । शनिबार र चाडपर्वका बेलामा दैनिक दुई÷तीन सयसम्म आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी टीका अधिकारीले जानकारी दिनुभयो । “अहिले त सामाजिक सञ्जालले जुनसुकै ठाउँलाई भाइरल बनाइरहेको छ, यहाँ पनि आन्तरिक पर्यटकको भीडभाड बढिरहेको छ”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण गर्न सकिए अझ राम्रो हुन्थ्यो ।”

एक्ले सामुदायिक वनभित्र रहेको यस ठाउँमा स्थानीय पनि खासै उक्लिदैनथे । यो गाईबाख्रा चराउने ठाउँ थियो । तर अहिले घुम्ने ठाउँ बनेको अधिकारी दङ्ग हुनुहुन्छ । “घाँस दाउरा गर्ने र गाईबाख्रा चराउने ठाउँ यस्तो होला भन्ने कल्पना पनि गरेका थिएनौँ”, उहाँले भन्नुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker