छिम्केश्वरी माई मन्दिर धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै

समुद्र सतहबाट दुइ हजार १३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो ।

पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृश्यले जोकोहीलाई मोहित बनाउछ ।

पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले राससलाई जानकारी दिनुभयो ।

यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ। गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनःनिर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनःनिर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।”

छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र संघ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका-६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् ।

गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेका दुइ वटा घुमाउने घरले पनि यहाँ पुग्ने र्सवसाधारणलाई लोभ्याउने गरेको छ ।

मन्दिर संरक्षण गर्न चन्दा सङ्कलन

छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा सङ्कलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा सङ्कलन गरिने समितिले जनाएको छ ।

समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा, सार्वजनिक शौचालय निर्माण लगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker