दराइ जातिमा विहेवारी

देव बस्न्यात

विषय प्रवेश

मानवीय जीवनमा गरिने महत्वपूर्ण संस्कारहरु मध्ये विवाह सबै भन्दा अति महत्वपूर्ण संस्कार मानिन्छ । विवाह दुई आत्मा बीचका मिलन विन्दु हो । विवाहबाट दुई अलग अलग व्यक्तिहरुको सम्वन्ध मात्र नभएर अलग र अपरिचित परिवार बीच सम्बन्ध विस्तार निकटताको अवसर पनि हो । विवाहले पवित्र पारिवारिक वन्धन र सम्वन्ध विस्तार पनि गर्दछ । विवाहकै माध्यमद्वारा जीवनका हरेक क्षणमा आईपर्ने सुखदुखका उतारचढावमा दुई व्यक्ति एक ज्यान र एक मुटु भएर हरेक कार्यलाई पूर्णता गर्ने संकल्पको आधार पनि हो । विवाह नै सामाजिक मान्यता प्राप्त श्रृष्टिको मुल कारण पनि हो ।

विवाहले मानिसको यौन चाहनालाई सहज र सरलताका साथ प्राप्त हुने र नैतिक मान्यता प्रदान गर्ने गर्दछ । विवाह यौन चाहानाको विषय मात्र नभएर यो वंश सुरक्षा हेतु पनि आवश्यक मानिन्छ। विवाहले मानिसलाई श्रीमती, छोरा, छोरी, नाता र कुटुम्व प्रतिको चाहाना स्वतहः वृद्धि गराउने भएकाले पनि उसलाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर कार्य गर्न उत्प्रेरित गराउँछ। हुनत कहिले शुक्र अन्ध, कहिले वृहस्पति अस्तका कारणले लगनका महिनाहरुमा राहु केतु लागेर विवाह हुन पाउँदैन। आर्य समाजमा वैशाख जेष्ठ, असार, मंसिर, माघ र फागुन महिना विवाह गर्ने शुभ मुहुर्त भएका महिनाहरु हुन तर दराइ, कुमाल र मुस्लिम समाजमा विशेष गरेर चैत्र महिनामा विहेवारी लगन जुर्ने गर्दछ ।

मुलको पानी र कुलको नानीको व्याख्या हाम्रो समाजमा पहिलेदेखि चल्दै आएको आहान हो । यसैले पहिला पहिला अभिभावकहरुले आफ्नो मनोखुसीमा आफ्ना सन्तानको भावी जीवन साथी रोज्ने अधिकार नअजमाएका पनि होइनन। उनीहरु स्वयं आफना सन्तानका जीवन साथीको चयन गरेर विवाहको निर्णय गर्ने परम्परा हिजो अस्तिसम्म जीवन्त रहेको थियो । अहिले आएर हाम्रो समाजमा निश्चित उमेर पुगेका युवा युवतीहरुले आफ्नो जीवन साथी आफै रोज्न पाउने अधिकार उपयोग गर्न दिनु पर्छ मान्यताको विकास भएको छ । यस परम्परालाई खसआर्यहरुले अझै पनि अक्षुण राख्दै आएका पाइन्छ । दराइ समाजमा मागि र भागि विवाह गर्ने परम्परा नै प्रमुख रहेका छन । तर कहिलेकांही छोराछोरीले आफुले रोजेको केटा केटीसंग विवाह गरियोस भनेर आफ्ना मातापिता समक्ष विवाहको प्रस्ताव पनि राख्ने गरेको पनि पाइएको छ। साधारणतय दराइ समाजमा निम्न प्रकारका विवाह गर्ने परम्परा आज सम्म जीवन्त रहेको पाउँदछौ ।

क) मागी विवाह

केटीका घरमा गएर केटीको अभिभावकसंग केटीको हात माग्ने विवाह पद्धतिलाई मागी विवाह भन्ने गरिन्छ । मागी विवाहमा केटा र केटीको भन्दा पनि केटा केटीको अभिभावक नाता कुटुम्वहरुको महत्वपूर्ण निर्णयक भूमिका रहने गर्दछ। प्रायः यस्तो विवाह केटा पक्षका अभिभावकहरुले केटी पक्षको अभिभावक समक्ष प्रस्ताव राख्दा मञ्जुरी भएमा केटा र केटीको पनि मञ्जुरी लिएर प्रचलित विधि विधान अनुसार वाग्दान गरी विवाहको मिति तय गर्ने र अन्त्यमा दुइ जोडी बिच दाम्प्यत सम्वन्धको विस्तार हुने गर्दछ । आजकल दराइहरु पनि केटा र केटी बीचको छलफल र सहमतीमा विवाह जस्तो सम्वन्ध जोर्ने गर्दछन् । मागी विवाह गर्दा केटा पक्षले केटी पक्षको विवाह खर्च समेत भर्नु पर्ने भएकोले मागी विवाह भन्दा भागी विवाहले बढी प्रश्रय पाउने गरेको छ । केटी माग्न जानेलाई केटीका अभिभावकहरुले अनेक बखेडा झिक्दै माग्ने बित्तिकै सहजै दिने गर्दैनथे । केटी माग्न जाँदा पनि केटा पक्षले जाँड र कुखुराको मासु लिएर केटीको घरमा जानु पर्ने प्रचलन छ ।

मनाङ निवासीमा झगडा छाङछुङ गर्दा दुबै पक्षले लगेको पुङ एक अर्काले स्वीकारेमा झगडा छिनोपानो हुने तौरतरिका जस्तै दरै जातिमा पनि केटापक्षले केटी माग्न जाँदा जांडको पुङ लैजाने गर्दछन्। केटा पक्षले लगेको सगुनका मोत केटी पक्षले खाए मात्र केटा र केटीको विहेवारीको कुरा अगाडि बढ्ने गर्दथ्यो । कतिपय समयमा त केटी माग्न पटक पटक धाउन पनि पर्दथ्यो । काम सजिलो थिएन केटा र केटीको सम्वन्ध जोरी दिने मध्यस्थ कर्तालाई कतै लमी र कतै पुइठे भन्ने गरिन्थ्यो भने केटी माग्ने कार्यलाई कलियो हाल्ने भनिन्थ्यो । केटी दिने सहमती भएपछि पनि केटी पक्षका अभिभावकले १२ धार्नी सुङ्गुरको मासुु, १२ पाथी मकै, १२ पाथी चामल, छ सात गाग्री जाँड र ६० रुपैयाँ नेग बुझाउनु पर्दथ्यो भने कतै कतै २४ पाथी चामल र मकै (श्रोतः दराइ जनजीवनः एक अध्ययन– प्रभादेवी कैनी) बुझाएको पनि देख्न पाइन्छ । दुबै पक्षको सहमती भएपछि कम्ति १५ दिन पछि मात्र विहेको लगन जुराउने काम गरिन्थ्यो ।

बिहेमा दुबैपक्षको सल्लाह अनुसार जन्ति जाने काम हुन्थ्यो भने कमसेकम ५ देखि ७ जनासम्म कल्स्यौली मड्यौलीको रुपमा युवतीहरु पनि जन्तिसंगै लैजाने गरिन्थ्यो । पहिले पहिले नेवार जातिमा बिहेमा दुलाहालाई दुलहीको घरमा लग्ने परम्परा नभएझैं दरै समाजमा दुलहाका बाबालाई छोरोको बिहेमा जन्तिमा समावेश गर्ने परम्परा थिएन । जन्तिहरु दुलहीको घरमा पुगेपछि दुलही पक्षले बेहुला पक्षलाइ रङ्ग अविर छर्केर स्वागत गर्ने परम्परा आजसम्म यथावत रहेको छ । दुलाहाका बाबा भोलिपल्ट छोराको विवाहको सम्धी ढोगबेट फर्काइ र जन्ति भतेरमा मात्र सहभागी हुने परम्परा रहेको पाइन्छ।

दराइहरुको विवाहमा जन्ति पर्सने काम सकिए पछि जन्तिलाई सगुन दिने र साँझको खानपिन गराउने काम सकिए पछि माइती पक्षले बेहुलीको गोडधुवाइ कार्यक्रम राखिन्छ। बेहुला पक्षबाट जन्तिसंगै गएका मड्यौलीहरुले बेहुलीलाइ गोड धुवाइका लागि जाँतो माथि गुंदको गुुन्द्री र काम्लोले सजाएर बनाइएको आसनमा बसाल्ने गर्दछन् । दुलही निकाल्ने बेलामा माइती पक्षका र जन्ति पक्षका महिला बीच बेहुली ताना गर्ने र जन्ति पक्षकाले बेहुली लान नसकेमा लमीले बेहुलीका आमा बाबालाई भनेर विवाह मण्डप बेहुली राखेर गोड धुवाइ गर्ने परम्परा रहेको छ। गोड धुवाइको काम सम्पन्न भएपछि बेहुलाले बेहुलीलाई सिन्दर राख्ने बेलामा कुखुराको चल्ला निमोठेर चल्लाको टाउको बेहुलीको जन्मघरको धुरी कटाउने र मूढ शरीरलाई बारी तिर फाल्ने पछि बेहुलाले बेहुलीको सिंउँदो सिन्दुर भर्ने काम गर्दछन् । सम्दी ढोगबेट र भोज भतेरको काम सम्पन्न भएपछि बेहुलीलाई बेहुलाले आफ्नो घर तर्फ लैजाने गर्दछन् ।

तनहुँको दराइ समाजमा जन्तिलाई गृह प्रवेश गर्ने बेलामा दराइ केटाहरु केटा तथा केटीको भेषमा महिला तथा पुरुषका जेनेन्द्रीय आकारका खेलौनाहरुको पहिरनले सजिएर ठाँटबाटका साथ विवाहोत्सवमा देखा पर्दथे । नव विवाहित बेहुला बेहलीहरु सन्तानोत्पादनका लागि यौन कार्यमा सहभागी बनुन भन्ने सदिच्छाले केटाको भेषमा सजिएका युवाहरुले केटीको भेषमा सजिएर नाचिरहेका केटीहरुलाई जिस्काउने, केटीहरुको पछि पछि दौडने र थकित भएर पृथ्वीमाताको शरणागत भएका केटीहरुसंग महिला पुरुष बीच हुने शारीरिक खेलको बनावटी संभोगीय कृयाकलापलाई लाजै नमानी प्रदर्शन गरेर विवाहमा थप रौनकता प्रदान गर्दथे । प्रदर्शनीको समाप्तिको लगतै दुलही भित्र्याउने बेलामा बेहुलाका दिदी बहिनीले बेहुलीको बाटो छेक्ने र बहिनीहरुलाई दाजुले केही दस्तुरी दिइ भाउजुलाई गृहप्रवेश गराउनमा मनाउने काम गर्दछन्। नवदुलहीको गृहप्रवेश भएपछि दुलहीको मुख हेर्ने र आफन्त र रिस्तेदार बीचको ढोगबेट फुकाउने गरिन्छ । सोही साँझमा घरपक्षकालाई माइतीको तर्फबाट पठाइएको चामलको भात तथा पुलाव, सुङ्गुरको मासु र अन्य तरकारी बनाइ जाँड पनि सगुनको रुपमा विहेभोज खुवाउने गरिन्छ।

दुलहा दुलही दुरान फर्काउन जाँदा पनि १ गाग्रो जाँड, १ गाग्रोरोटी १ डालो खसीको मासु, दुइवटा बुङ्गुरको सपेटा, कुखुराको भालेको मासु, एक पेरुङ्गा माछा, ३÷४ बोत्तल रक्सी समेत भरियालाई बोकाएर ससुराली घरमा लैजाने प्रचलन छ । विवाह पछि आएका छोरी ज्वाइलाई टिका लगाएर सासु र ससुराले छोरी र ज्वाईलाई स्वागत गरेर घररमा प्रवेश गराउने परम्परा रहेको पाउँदछौं । विवाहको दिन पुग्न नसकेका आफन्तहरुले वर्ष दिन भित्र पुगेर दुलहा दुलहीलाई उपहार दिने र बेहुला बेहुलीले उपहार दिन आएका पाहुनाहरुलाई जाड, रक्सी, माछा, मासु, भात खुवाउनु पर्ने परम्परालाई बत्तिस दराइ गाउँको समाजले बोझिलो प्रथा सम्झेर २०४७ साल जेष्ठ १० गतेका दिन सर्वसम्मतीले हटाउने निर्णय गरेको पाइन्छ। (श्रोत दराइ जीवन एक अध्ययन– प्रभा देवी कैनी)

मागी विवाह बढी बोझिलो भएकै कारण दराइ समाजमा मागी विवाह भन्दा भागी विवाहको परम्पराले जरो गाडेको पाउँदछौं । दराई जातिमा सानै उमेरमा छोरा छोरीको विवाह गराइदिने प्रथा कहीं कतै भेटिंदैन । समयको परिवर्तनसंगै आजकल झन बालविवाहले कानुनी मान्यता नपाएको कारण पनि दराइ समाजमा बालविवाहको औचित्यता र प्राथमिकताले प्रश्रय पाएको देखिंदैन ।

ख) प्रेम विवाह

प्रेम भनेको दुइआत्माको मिलन हो । पहिले पहिले मेलापात जाँदा, घाँस दाउरा काट्न जाँदा भारोपर्म लगाउँदा, रोदी बस्दा, चुड्का लगाउँदा उमेर पुगेका केटा केटीहरु बीच आपसमा परिचय हुन पुगी माया पिरतीको तुना गासिन पुग्दथ्यो। आजकल कतिय विद्यालयमा पढ्न जाँदा मोवाइलका माध्यम फेसबुक ह्वाट्सएप, इन्सट्राग्राम, मेसेन्जर, टिव्टरबाट पनि युवायुवतीहरु बीच प्रेम सम्वन्ध गाँसिन पुगेको पाउँदछौं। विशेष गरेर केटाकेटी बीचको प्रेम हाट बजारमा पुगे पछि छताछुल्ल हुन पुग्दथ्यो। केटा र केटी बीच प्रेम सम्वन्ध गाढिंदै गएपछि दुबैको सरसल्लाह र अभिभावकको राजी खुसीमा प्रेम विवाहलाई मागी विवाहमा रुपान्तरण गर्दै जाने परम्परा अहिले बढ्दै गएको पाउँदछौं ।

ग) भागी विवाह

प्रेम भनेको दुइआत्मा बीचको मिलन हो। दुइ आत्माक बीच मायावन्धन गहिरिंदै गएपछि केटाले आफ्ना अभिभावक तथा युवतीको अभिभावकसंग कुनै सरसल्लाह नगरी भगाएर आफ्नो घरमा लैजाने परम्परालाई भागी विवाह भन्ने गरिन्छ। यदी कुनै केटी अभिभावकको सल्लाह बिना पोइला गएमा माइती पक्षले आफ्नी छोरी खोसेर घरमा ल्याउने र अर्कै केटासंग पुनः विवाह गराइ दिने प्रचलन छ । तर आजकल राजी खुसीले विवाह गरेका दम्पतीहरुलाई टिका दिएर आफन्त बनाउने काम गरेको पाउँदछौं । टिका फुकाउँदा पनि केटापक्षले केटीको घरमा बुझाउनु पर्ने चामल, मकै, जाँड, बुङ्गुरको मासु लगायतका चिजबिज केटीको घरमा नेग बुझाउन लैजानु पर्दछ । विवाह गर्न घर खर्च गाह्रो साह्रो भएमा अभिभावकहरुले केटालाई आफ्नो छोरीलाई बाबा आमाले थाहा नपाए झै गरी सुटुक्क भगाएर लैजाने सल्लाह पनि दिने गरेको पाउँदछौं।

घ) जबरदस्ती लतार्ने विवाह

आफुले मन पराएको केटीलाई प्रेम प्रस्ताव राख्दा विवाहका लागि फकाउँ मानिन भने दुइ चार जना केटाहरुले केटीको बाटो छेकेर केटीलाई जुरुक्क काँधमा बोकेर वा घिसारेर केटाको घरमा लगेर भित्र्याउने गरिन्थ्यो । यसरी विवाह गरेका केटा केटीलाई माइती पक्षले टिका नदिएसम्म विवाहले वैधता पाउन सक्दैनथ्यो । कहिंले काही केटाकेटी बीच छोराछोरी भएपछि मात्र माइतीले विवाहलाई वैधता प्रदान गर्दा घरकाले माइती पक्षलाई दिनु पर्ने दै–दस्तुरी पुरै बुझाउनु पर्दथ्यो। दुबै पक्षको सहमतीमा टिका प्रदान गर्दा बाजा बजाएरै बेहुलीलाई डोलीमा राखेर घर पठाउने गरिन्थ्यो । यदी बेहुला बेहुलीको छोराछोरी जन्मिसकेको अवस्थामा माइती पक्षले नाति र नातिनीहरुलाई (बेहुली आमा)संगै डोलीमा राखेर अन्माउने गर्दथे। कथंकदाचित माइती पक्षसंग टिका नलिंदै केटाको मत्यु भएमा माइतीसंग टिका थापेर मात्र लास सतगतका लागि लाने प्रचलन केही वर्ष अगाडिसम्म पनि जीवन्त रहेको पाउँदछौं । तर आजकल यस्तो विवाहको परम्परा अन्त्य भइसकेको पाइन्छ ।

ङ) जारी विवाह

अर्काको विवाहित श्रीमतीलाई उस्को पहिलाको लोग्ने हुँदाहुँदै फकाएर वा आर्थिक प्रलोभनमा पारेर भगाएर गरिने अर्थात कुनै महिलाले पहिलो पतिलाई त्यागेर दोश्रो व्यक्तिसंग विवाह गर्दछिन भने त्यस्तो विवाहलाई जारी विवाह भन्ने गरिन्छ । यसरी विवाह गरिएकोमा श्रीमती पिडित पहिलो पतिले आफ्नो विवाह गर्दा लागेको विवाह खर्च दोश्रो जार पतिसंग लिन पाउने व्यवस्था थियो । दराइ समाजका मुखियाले नै श्रीमती भगाउने जारबाट कति जारी भराउने भन्ने विषयमा निर्णय दिने गर्दथे । जारपतिबाट लिइने क्षतीपूर्ति रकम भएकोले यस्तो रकमलाइ जारी भन्ने गरिएको हो। मुखियाले तोकेको निर्णयानुसार जार पतिले पिडित पहिलो पतिलाई जारी तिर्नु पर्दथ्यो। जारले दण्ड सजाय वापत दिने क्षती पूर्ति रकम भएकोले यस्तो रकमलाई जारी भन्ने गरिएको हो ।

च) पुनःविवाह

दराइ समाजमा लोग्ने तथा स्वास्नी बाँझोपन देखिएमा सन्तानका इच्छा राख्ने नारी पुरुष कुनै पनि ब्यक्तिले पुनःविवाह विवाह गर्न सक्दछन् । कतिपय नारीले आफ्नो श्रीमान भन्दा परपुरुषसंग अनैत्तिक सम्बन्ध छ भने थाहा पाएर पहिलो श्रीमतीलाई डिर्भोस दिएर एक्लै बसेमा, स्वास्नीले लोग्ने छोडर अर्कै पुरुषसंग पोइल गएर एक्लो जीवन बिताइ रहेको अवस्थामा, श्रीमती मरेर एक्लो जीवन व्यतित गर्न परिरहेको अवस्थामा पुरुषहरुले दोश्रो विवाह गरेको पनि पाइन्छ। आजभन्दा केही वर्षसम्म पहिले पुरुषले दुई वा सो भन्दा माथि ६÷७ जना सम्म श्रीमती भित्र्याएको पाउँदछौं। यसै गरी पुरुषसंग असन्तुष्ट भएका महिलाहरुले पनि दोश्रो पुरुषसंग पुनःवैवाहिक सम्न्ध कायम गरेको पाउँदछों ।

छ) विधुर तथा विधवा विवाह

दराइ समाजमा विधवा विवाह पनि दुई प्रकारका रहेको पाइन्छ। कुनै विवाहित पुरुषको श्रीमती मरेर विधुर भएको अवस्थामा पुरुषले सहजै दोश्रो नारीसंग विवाह गर्ने अनुमती पाउँदछ तर महिलाको श्रीमान मरेर विधवा भएर बस्नु परेको अवस्थामा एउटी नारीले आफ्ना स्व खुसीले अन्य विधुर पुरुष, परपुरुष तथा अन्य कुनै कन्या केटासंग दोश्रो विवाह गर्दा समाजको नजर फरक ढङ्गको पाइन्छ । तर दराइ समाजमा दाजुको मृत्यु हुन पुगेमा भाइले भाउजुसंग विवाह गर्न पाउने प्रचलन रहेको छ । यस्तो अवस्थामा घर परिवारका सदस्यहरुले घरमा दोश्रो कन्यालाई भित्र्याउनुको अलवा दाजु तर्फका सन्तान समेत आफ्ना सन्तान मान्न लगाई देवरलाई भाउजुसंग सल्लाह तथाा जवरजस्ति हिसावले पनि विवाह गर्न राजी गराउने परम्परा अझै पनि दराइ कुमाल समाजमा विद्यामान रहेको छ । यस किसिमको विवाह पद्धतिले भाउजुको जिन्दगीको एक्लोपनालाई दुर गर्न मद्दत पुराउने र देवर भाउजुका बीच सम्वन्ध गाढा हुने विश्वास रहेको छ । दाइको श्रीमतीलाई भाउजु भनिन्छ भने दाइको भाइलाई दाइको श्रीमतीले देवर (दोवर–दोश्रोवर) भन्ने प्रचलन पाइन्छ । देवरको भाउजुसंग कहिलेकाहीं जवरजस्ती गराइदिने वैवाहिक परम्परा वि.संं. २०५० र२०६० सालसम्म दराइ समाज जीवन्त रहेको देख्दथ्यौं तर आजकल यो परम्परा दराइ समाजमा पनि बिस्तारै हट्नाले हाल यस्ता कुरा सम्झनामा मात्र रहेको पाउँदछों ।

ज) सट्टापट्टा विवाह

दुइ परिवार बीच छोरा छोरी साटासाट गरेर गरिने विवाह पद्धतीलाई स्टापट्टा विवाह भन्ने गरिन्छ। यस प्रकारको विवाहमा आफ्नो छोराको लागि पल्लाघरेको छोरी र पल्ला घरेको छोराई आफ्नो छोरी दिएर घरजम गराइ दिने परम्परा हो । सँच्चै भन्ने हो भने यस प्रथालाई यसलाइ अदली बदलीको रुपमा पनि हेर्न सकिन्छ। यसरी विवाह गर्दा गरिवका सन्तानहरुको विवाहमा कम खर्च हुन गइ मितव्ययी बन्न सक्ने देखिन्छ।

छ) भतिया परम्परा

दराइ समाजमा आफ्नै जाति भित्र विवाह गर्ने परम्परालाई मान्यता दिइएको थियो । कुनै दराइ वा दराइनी गैह्र दराइ जाति संग विवाह वारी गरेमा मुखियाले संजाय गर्न सक्दथे । आज भन्दा केही वर्ष अगाडिसम्म छुत र अछुत जातिको व्यवस्था हुनाले अछुतसंग बिहेवारी गर्ने नारी पुरुष दुबैलाई अछुतमा लग्ने र छुत जाति भएमा केटाकेटीलाई भोज भतेर गर्न लगाइ भात पनि चोख्याउने काम गर्दथे । अहिले प्राय सोलीडोली सबैसंग चल्न थाले पछि समाजमा भतिया प्रथा लोप भएर गएको पाउँदछौं ।

अन्त्यमा गाउँ र समाजको झैझगडा मिलाउन दण्ड संजाय गर्न, भतिया गर्न गराउनमा मुखिया नै प्रमुख दण्डनायक भएकाले पनि हरेक चाडबाड तथा विशेष गरेर दशैंका दिन गाउँका सबै भद्र भलादमीहरु मुखियालाई आदारभाव राखेर आफ्नो घरवारीमा फलेका फलफूल, मिठो चिज सौगात तथा भेटको रुपमा चढाउने र सो दिन मुखियाकै घरमा खाइपिइ गरेर खुसियाली मनाउने गर्दथे । अहिले तिरोभरो उठाउने काम पनि मुखियाबाट खोसेरसरकारले मालकार्यालयर आजकाल स्थानीय निकायलाई जिम्मा दिएका कारण मुखिया प्रथा हराउँदै गएको छ । मुखियाको काम अहिले समाजका पदाधिकारीहरु बसेर गर्ने प्रथाको सुरुवात भएको पाउँदछौं ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker