तनहुँमा धान खेतीको क्षेत्रफल र उत्पादन घट्दो, उत्पादित धान पनि बिक्री भएन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा धान खेतीको क्षेत्रफल र उत्पादन घट्दै गएको छ । धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको हो ।

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धानको खेती र क्षेत्रफल घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताए । ‘कृषकहरुले पुरानो बीउ प्रयोग गरिरहेका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको छ’, उनले भने, ‘पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ ।’

‘वर्षो धान विक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ’, उनले भने, ‘कृषकहरुले आफुले उत्पादन गरेको धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ । बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन ।’

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । वि.सं. २०६० मा ३५ हजार ७८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार २८० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यतिबेला १२ हजार ३४० हेक्टर जमिनमा वर्षो धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार ३२० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ ।

त्यस अवधिमा वर्षे धान खेती गरिएको चार हजार २० हेक्टर जमिन घटानका साथै दुइ हजार ५०६ मेटि्रक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा ११ हजार ७८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार ९३८ मेट्रिक टन उत्पादन भएको थियो । त्यतिबेला तीन हजार ८०० हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार ८९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ ।

विसं २०६० मा आठ हजार १९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार ९०२ हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ । यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार ८९२ हेक्टरले घटेको छ भने उत्पादन पनि घटेर आठ हजार १६९ मेट्रिक टन भएको छ ।

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनले बताए । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्रयाक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा कार्यालयले चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्‍याइएको छ । प्रमुख तिवारीले भने, ‘यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि रु एक करोड बजेट वृद्धि भएको छ ।’

गत आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत दश वटा समूहलाई दुइ हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्रयाक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker