तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईद्वारा १२ बजेसम्म पसल खोल्न माग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईले १२ बजेसम्म सबै पसल खोल्न पाउनुपर्ने माग गरेको छ । इकाईले सबै व्यवसायीलाई कोभिडविरुद्धको खोप निःशुल्क दिन पनि सरकारसँग माग गरेको छ । एकाईका सभापति भुपाल आलेको अध्यक्षतामा दमौलीमा आइतबार बसेको र्सवपक्षीय बैठकले यस्तो माग गरेको हो । बैठकले हरेक दिन मध्याहृन १२ बजेसम्म पसल खोल्न पाउने व्यवस्था गर्न समेत प्रशासन र स्थानीय तहसँग माग गरेको छ ।
बैठकले व्यवसायीको बैंक तथा वित्तीय संस्थाको ब्याज छुट तथा किस्ता भुक्तानीको समय थप गर्न समेत बैंकसँग माग गरेको एकाईका सचिव माधव न्यौपानेले जानकारी दिए । यसैगरी आन्तरिक राजस्व कार्यालय र स्थानीय निकायमा कर छुटका लागि समेत बैठकले माग गरेको छ । बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकमा व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघलाई अनिवार्य सहभागी गराउन समेत माग गरेको छ । एकाईले यी मागहरु तनहुँ उद्योग वाणिज्य संघ मार्फत सम्बन्धित निकायमा पुग्ने अपेक्षा समेत गरेको सभापति आलेले बताए ।










