भिमाद नगरपालिकाले ल्यायो दुइ वटा एम्बुलेन्स, सेवा शुरु
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । नगर क्षेत्रमा बिरामी ओसारपसार गरेर स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँच पुर्याई प्रभावकारी रुपमा सेवा प्रवाहका लागि भन्दै नगरपालिकाले प्राथमिक स्वास्थ्य सेवा केन्द्र भिमाद-६ बाट सेवा शुरु गरेको हो ।
ग१झ ५८० नम्बरको एम्बुलेन्स र भिमाद-९ रिठ्ठा भञ्ज्याङबाट ग१झ ५८१ नम्बरको एम्बुलेन्स सञ्चालन गर्ने निर्णयका साथ नगर प्रमुख मेखबहादुर थापाले नगरपालिकामा आयोजित कार्यक्रमकाबीच दुबै एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन् ।
नगरपालिकाले विहिबारदेखि दुइ वटा एम्बुलेन्स सेवा सुरु गरिएको र नगर क्षेत्रका बिरामी ओसारपसार गर्न तथा स्वास्थ्य सेवामा जनताको प्रत्यक्ष पहुँचमा पुर्याउने उद्देश्यले एम्बुलेन्स सेवा सुरु गरिएको नगर प्रमुख थापाले बताए ।
दुबै एम्बुलेन्सको चावी सम्बन्धित चालकलाई हस्तान्तरण गर्दै नगरप्रमुख थापाले अब कुनै पनि नागरिक सहजरुपमा स्वास्थ्य सेवाबाट बन्चित हुनु नपर्ने बताए । उनले भने, ‘स्वास्थ्य जनताको सबैभन्दा प्रमुख अधिकार भएको हुँदा उक्त अधिकारलाई सम्बोधन गर्न नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सेवासँगै अब गुणस्तरीय स्वास्थ्य सेवा नगरपालिकाको पहिलो प्राथमिकतामा राखेका छौं ।’
व्यवस्थापन समिति मार्फत यी एम्बुलेन्स सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए । व्यवस्थापन समितिले एम्बुलेन्सको भाडा दर रेट निर्धारण र अन्य सन्चालनको सबै कामहरु गर्ने उनले बताए ।










