पृथ्वीराजमार्ग विस्तार : दमौली खण्डको घरटहरा हटाएर सहयोग गर्न व्यासको आग्रह
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले पृथ्वीराजमार्ग अन्तर्गत दमौली बजारमा चैत महिनाभित्र घरटहरा भत्काएर सहयोग गरिदिन आग्रह गरेको छ ।
केही घरधनीहरु सर्म्पर्कमा नआएका, केही घरधनीहरुले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैत महिनाभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ती जारी गरी केही महिनापछि वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तीव्रता दिइ शहरको सौन्दर्यता र धुलाले वातावरणमा पुर्याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरुलाई यही महिनाभित्र आयोजनामा सम्पर्क गरी मुआब्जा रकम बुझिदिन आग्रह गरेका छन् ।
‘मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ’, उनले भने, ‘सडक विस्तार, विद्युत पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ ।’
दमौली बजार अन्तर्गत वडा नम्बर २ र ४ का केही घरहरुले सडक अधिकार क्षेत्रका संरचनाहरु हटाइ सहयोग गरेकामा नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।










