वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा बुद्धसिं मार्ग अवरुद्ध

तनहुँ : पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।
गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिं मार्गबाट करिब २५ किलोमिटर दूरी कम पर्ने बुद्धसिं मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिनुभयो ।
पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उहाँले बताउनुभयो ।
पहिराका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पु¥याउनुपर्ने अवस्था छ ।
गर्जामगरले भन्नुभयो, “यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ ।” पहिराले सेतीगङ्गा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्ण रुपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका उहाँले बताउनुभयो ।
“पहिरोले स्थानीय मङ्गलबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ”, उहाँले भन्नुभयो, “माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रुपमा नोक्सान भएको छ ।”
तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो ।
पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग विसं २०८२ जेठ ३० गतेसम्म गर्नेगरी विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको थियो । चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker