व्यास नगरपालिकाद्वारा सबै वडामा कल सेन्टर सञ्चालनमा ल्याउने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले भदौ १ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर सञ्चालन गर्ने कार्यक्रम ल्याइएको थियो । नगरवासीको गुनासो सुनुवाईका लागि कल सेन्टर सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । उनले भने, ‘सबै वडाहरुमा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने निर्णय भएको छ ।’
यस्तै, कार्यपालिका बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाका अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने बताइएको छ ।
कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का बजेट कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि वार्षिक कार्ययोजना निर्माण गर्न प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई जिम्मा दिने निर्णय गरेको छ ।
नगरपालिका भित्रका सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको सयुक्त बैठक राखी एसइइको नतिजाको विश्लेषण गर्ने निर्णय गरिएको छ ।
यस्तै, बैठकले महालेखा परीक्षक कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन कार्यपालिका बैठकमा छलफल गरी बेरुजु फर्छ्यौट अभियानलाई तदारुकता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको छ ।










