बन्दीपुर अस्पतालद्वारा डुम्रेबाट ओपीडी सेवा विस्तार गर्दै, औषधिको अभाव पनि समाधान हुँदै

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुर अस्पतालले सेवा विस्तार शाखा डुम्रेबाट ओपीडी सेवा सञ्चालनको तयारी गरेको छ । अस्पतालले अबको सातादेखि ओपीडी सेवा सञ्चालन गर्ने तयारी गरेको अस्पताल प्रशासनले जनाएको छ ।
बन्दीपुर गाउँकार्यपालिकाको गत कात्तिक २६ को निर्णयअनुसार डुम्रे शाखामा सेवा विस्तारका लागि तयारी पूरा हुँदै गएको अस्पतालका प्रमुख डा अनिल गिरीले जानकारी गराए ।
गाउँपालिकाबाट मंसिर २ गते मंगलबार अस्पताललाई प्राप्त निर्णय कार्यान्वयनसम्बन्धी पत्रका आधारमा अस्पतालले डुम्रेस्थित भौतिक सामग्रीको रुजु, एकिन तथा हस्तान्तरण प्रक्रिया अघि बढाइरहेको प्रमुख डा. गिरीले बताए । उनले भने, ‘अस्पताललाई आवश्यक सामग्री हस्तान्तरण सम्पन्न भएलगत्तै ओपीडी सेवा औपचारिक रूपमा सुरु गर्ने तयारी छौं ।’
यस्तै, केही महिनादेखि बन्दीपुर अस्पतालमा देखिएको औषधिको अभाव पनि अबको सातादेखि समाधान हुने अस्पतालले जनाएको छ । नियमित सेवन हुने औषधि लगायत आवश्यक औषधि उपलब्ध गराई अभाव नआउने प्रतिबद्धता व्यक्त गर्दै अस्पतालले यसअघि उत्पन्न भएको असहज परिस्थितिका कारण सेवाग्राहीसमक्ष क्षमायाचना समेत गरेको छ ।
अस्पतालका अनुसार स्थायी दरबन्दीका २८ मध्ये २३ जना कर्मचारी मात्र कार्यरत रहेका छन् । सेवा विस्तार शाखाका लागि स्वीकृत १७ मध्ये ११ जना मात्र कार्यरत रहेको अस्पताले जनाएको छ ।
जनशक्ति कम भएपनि सेवा विस्तार चरणबद्ध रूपमा तालिका अनुसार सञ्चालन गर्ने तयारी भएको अस्पतालका प्रमुख डा. गिरीले जानकारी गराए । गाउँपालिकाले अस्पतालसंग समन्वय गरी आगामि बिहीबार दिउँसो १२ः१५ बजेदेखि डुम्रे शाखामा सेवा विस्तारको प्रारम्भिक शुभारम्भ गर्ने तयारी गरेको छ ।










