ऋषिङको दुबुङ आदिकवि भानुभक्त क्याम्पसको “मितेरी गाउँ” कार्यक्रममा छनौट
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले ऋषिङ गाउँपालिका-३ स्थित दुबुङ गाउँबीच मितेरी सम्बन्ध जोड्ने भएका छन् । क्याम्पसले सञ्चालन गरेको मितेरी गाउँ कार्यक्रम अन्तर्गत दुबुङलाई पहिलो चरणमा मितेरी गाउँ कार्यक्रममा छनौट गरेको हो।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पर्यटन नीति २०६५ र आदिकवि भानुभक्त क्याम्पसको विधान २०४९ (संशोधित २०७९) लाई आधारमानि आदिकवि भानुभक्त क्याम्पसले ग्रामीण भेगको शिक्षा, स्वास्थ्य, प्रविधि, वन तथा वातावरणका साथै स्थानीय मौलिक कलासंस्कृति र खाद्यवस्तुहरुको संरक्षण एवं विकासगरी समुदायमा क्याम्पसको छबिलाई विश्वासनीय बनाउँदै गाउँलाई एक आकर्ष एवं सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ मितेरी गाउँ कार्यक्रम अवधारणा अगाडि ल्याइएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।
उक्त अवधारणा अनुसार जिल्लाभरिका २५ विभिन्न गाउँहरु प्रस्तावित भएका मध्ये ऋषिङ-३ को दुबुङ, भानु नपा-१३ को टुटेपानी र व्यास नपा-१४ को रुम्सी गाउँको स्थलगत अध्ययनका लागि छानिएका थिए ।
उक्त गाउँहरुका वर्तमान सामाजिक विकासका पूर्वाधारको अवस्था, स्थानीय सरकारको संलग्नता, पर्यटन विकास सम्वन्धी संस्थागत विकास, संस्कृति संरक्षण एवं विकास, वातावरणीय सचेतना, स्थानीय उत्पादन, स्थानीयवासीको माग र दिगोपनका आधारहरुलाई मुख्य मानकका रुपमा निर्धारणगरी आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको उपसमिति मितेरी गाउँ छनौट समितिले दुबुङलाई छनौट गर्ने निर्णय गरेको क्याम्पसका मितेरी गाउँ कार्यक्रमका संयोजक एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी गराए ।
मितेरी गाउँ छनौट समितिले भदौ १२ देखि १६ गतेसम्म ती गाउँहरुको स्थलगत अध्ययन भ्रमण सम्पन्न गरेको थियो । उक्त समितिको समग्र मूल्याङ्कनको आधारमा ऋषिङको दुबुङलाई पहिलो चरणमा र भानुको टुटेपानी र व्यासको रुम्सीलाई दोश्रो चरणमा क्याम्पस मितेरी गाउँको रुपमा छनौटका लागि आइतबार बसेको आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिको बैठक समक्ष पेश गरिएको संयोजक गुरुङले बताए ।
उक्त बैठकले सर्वसम्मत रुपमा ऋषिङ-३ को दुबुङ गाउँलाई छनौट गरेको हो । क्याम्पसको सोमबार आयोजना गरिएको ३७औं वाषिर्कोत्सव समारोहका अवसरमा क्याम्पस र दुबुङ गाउँको बीच मितेरी गाउँसम्वन्धी सम्झौता गरिने भएको छ ।










