तनहुँ र कास्कीमा नमुना पशुपक्षी अस्पताल बन्दै

भञ्ज्याङ समाचारदाता/गण्डकी

पशुपक्षीको उपचारमा स्तरीय सेवा दिन तनहुँ र कास्कीमा नमुना पशुपक्षी अस्पताल भवन निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेका ती अस्पताल भवनको भौतिक निर्माण यसै वर्षभित्र सक्ने लक्ष्य लिइएको छ ।
कास्कीको पोखरा-१२ माटेपानी र तनहुँको दमौलीमा प्रदेशस्तरीय नमुना पशुपक्षी अस्पताल बन्न लागेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पशुपक्षीमा लाग्ने रोगको निदान र उपचारका लागि आधुनिक पूर्वाधारसहितको अस्पताल निर्माण हुने मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले बताउनुभयो ।
“अहिले भइरहेका भवन अस्पतालको संरचना अनुरुप छैनन्, त्यसले सेवा प्रवाहमा पनि जटिलता निम्त्याइरहेको छ”, उहाँले भन्नुभयो, “पशुपक्षीको उपचारमा चाहिने आवश्यक पूर्वाधारसहितका अस्पताल भवन बन्दैछन्, अस्पतालले दिने सेवा पनि सोही अनुसार विस्तार हुँदै जान्छ ।”
मन्त्रालयका अनुसार कास्कीमा रहने अस्पतालको लागत रु पाँच करोड ५४ लाख ४८ हजार र तनहुँको रु पाँच करोड ५४ लाख ६५ हजार रहेको छ । कास्कीमा निर्माणाधीन अस्पतालका लागि गत आवमा रु तीन करोड २५ लाख बजेट विनियोजन गरिएकामा रु दुइ करोड ३२ लाख ९७ हजार खर्च भएको जनाइएको छ ।
तनहुँको अस्पताल भवनका लागि गत आवमा रु तीन करोड ५० लाख बजेट विनियोजन भएकामा जम्मा रु ६० लाख २७ हजार खर्च भएको मन्त्रालयले जनाएको छ । कास्की अस्पताल भवनमा हालसम्म रु चार करोड ९६ लाख ९५ हजार र तनहुँमा रु तीन करोड ४० लाख ८२ हजार खर्च भइसकेको छ ।
कास्कीमा आउँदो कात्तिक १० गतेसम्म र तनहुँमा आउँदो पुस ११ गतेसम्म निर्माण सक्ने गरी म्याद थप भएको महाशाखा प्रमुख डा न्यौपानले बताउनुभयो । भवन बनेपछि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अस्पतालको सेवा सुरु गरिने कास्कीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले बताउनुभयो ।
“एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, शल्यक्रिया, दूध परीक्षणलगायत पशुपक्षीको उपचारमा स्तरीय सेवा दिने गरी नमुना अस्पताल बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “स्वास्थ्य पूर्वाधार, उपकरणदेखि जनशक्तिसम्मको व्यवस्थापन सोही अनुसार गर्न लागिएको छ ।”
नमुना अस्पताल बनेपछि पशुपक्षीमा देखिने जटिल प्रकृतिका रोगको निदान र प्रयोगशाला परीक्षणका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने केन्द्रका प्रमुख पाण्डेले उल्लेख गर्नुभयो । “अत्याधुनिक प्रविधि र उपकरण नहुँदा कुनै बेला अनुमानका भरमा पनि उपचार गर्नुपर्ने अवस्था थियो, अब पशुपक्षीको उपचार पद्धतीमा पनि गुणात्मक परिवर्तन ल्याउने गरी अस्पतालको पूर्वाधार बन्दैछ”, उहाँले भन्नुभयो, “पशुपक्षीमा बेलाबेला फैलने गरेको महामारीजन्य रोगको उपचार, नियन्त्रण र रोकथामका लागि पनि यो अस्पतालबाट ठूलो टेवा पुग्छ ।”
अहिले कास्कीको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा दुइ जना मात्र पशु चिकित्सकको दरबन्दी छ । नमुना अस्पताल बनेपछि विशेषज्ञसहितको जनशक्ति थप्नुपर्ने अवस्था रहेको केन्द्रले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker