गण्डकी प्रदेश सरकारद्वारा तनहुँमा सातवटा पक्की पुल निर्माण

गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुइ गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।
त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । निर्माणाधीन पुलका लागि रु २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा रु तीन करोड २६ लाख २१ हजार खर्च भएको छ ।
चालु आवमा ऋषिङ गाउँपालिका-५ रुपाटारस्थित लुम्दीखोलामा रु ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा रु ३० लाखको लागतमा अर्को पुल बनाइएको छ।
गत आवमा रु ५० लाखको लागतमा भिमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-८ जोड्ने क्याङ्दीखोलामा रु ५० लाख, ऋषिङ-४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा रु ३० लाखमा, घिरिङ गाउँपालिका-४ नयाँटारमा तिरम्दीखोलामा रु ३० लाख, घिरिङ गाउँपालिका-१ द्रुपद खोलामा रु ३० लाख र आँबुखैरेनी गाउँपालिका-३ र ४ सिउदीखोलामा रु ५० लाखमा पुल बनेका हुन् ।
इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका-२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन छ ।
शुक्लागण्डकी नगरपालिका-५ र ८ जोड्ने सेती नदीमा रु तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा रु एक करोड, व्यास नगरपालिका-११ स्थित बुल्दीखोलामा रु एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका-१० र भिमाद नगरपालिका-८ जोड्ने क्याङ्दीखोलामा रु एक करोड ५० लाख, म्याग्दे गाउँपालिका-४ मिन मावि पछाडि म्याग्देखोलामा रु एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।
यसैगरी, भिमाद नगरपालिका-३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका-५ स्थित बुडुवाखोलामा रु एक करोड, भिमाद नगरपालिका-१ डुम्रीवेँसीमा रु एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका-१ र भानु नगरपालिका-१ जोड्ने तल्लो डुम्रेमा रु ५० लाखको लागतमा पुल बनिरहेको छ ।










