संशोधन नगरी एमसीसी पास हुँदैन : राष्ट्रिय सभा सदस्य आले मगर
भञ्ज्याङ न्यूज

राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले राष्ट्रिय स्वाधिनता र र्सार्वभौम माथि असर पर्ने गरी नेकपा माओवादी केन्द्रले एमसीसी पास नगर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति तनहुँले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
‘एमसीसीमा संशोधन हुन्छ पास गर्र्छौ, हुँदैन भने पछि हट्छौ’, उनले भने, ‘राष्ट्रिय स्वाधिनता र सार्वभौम माथि प्रश्न चिन्ह खडा हुने गरी अनुदान निहीत लिने पक्षमा छैनौं । यस अघि पनि अमेरिकी ऋण र सहयोग लिएकै हो।’ उनले एमसीसीको बारेमा छलकपट, षड्यन्त्र र प्रलोभनमा परेर नेकपा माओवादीले कुनै पनि सम्झौता स्वीकार गर्न नसक्ने बताएका छन्।
पार्टीका जिल्ला इन्चार्ज हरिबहादुर चुमानले नेकपा एमालेले अहिलेको गठबन्धन टुटाउन एमसीसी उराल्ने कार्य गरिरहेको आरोप लगाए । गठबन्धन टुटाएर निर्वाचन गर्ने दाउमा एमाले रहेको बताउँदै चुमानले विभिन्न भ्रम छरिरहेकोले त्यसलाई चिर्दै गठबन्धन सरकार अघि बढ्नुको बिकल्प छैन।
नेकपा माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश कुमार आले मगरलाई राष्ट्रिय सभा निर्वाचित भएपछि शनिबार एक कार्यक्रमको आयोजना गरी जिल्लामा सम्मान गरिएको छ।
यस्तै, सोही कार्यक्रममा जनमुक्ति पार्टी नेपालको पूर्व जिल्ला अध्यक्ष एवं इन्चार्ज तिलबहादुर थापा सहित पाँच जना कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति तनहुँद्वारा शनिबार दमौलीमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा पूर्व अध्यक्ष थापा सहित पाँच जना माओवादीमा प्रवेश गरेको गण्डकी प्रदेश सदस्य मदन आलेले जानकारी गराएका छन् ।

नेकपा माओवादी पार्टीमा प्रवेश गर्नेहरुमा याम बहादुर आले, महेन्द्र थापा, श्रीबहादुर थापा र भीम बहादुर रुवाले रहेका छन् । पार्टी प्रवेशी कार्यकर्ताहरुलाई पार्टीका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले, जिल्ला इन्चार्ज एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान र केन्द्रीय सदस्य ओमकुमारी पौडेल, पार्टीका जिल्ला संयोजक राजेन्द्रकेशरी न्यौपाने लगायतले स्वागत गरेका थिए ।










