पृथ्वीराजमार्गको आँवुखैरेनी-पोखरा खण्डको काम डेढ वर्षमा १० प्रतिशत मात्र
भञ्ज्याङ समाचारदाता/तनहुँ

गत डेढ वर्षदेखि पृथ्वीराजमार्गको आँवुखैरेनी-पोखरा सडक खण्डलाई दुइ खण्डमा विभाजन गरी विस्तार कार्य अगाडि बढाइएको छ ।
गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेको यो राजमार्गको जुन रुपमा काम हुनुपर्ने हो त्यो हुन सकेको छैन । आँवुखैरेनी-जामुने र जामुने-पोखरा गरी दुइ खण्डमा विभाजन गरी सडक विस्तार कार्यरहेपनि काम निकै सुस्त गतिमा अगाडि बढेको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार हुन लागेको ८० किलोमिटर सडकले विस्तारमा आशातित गति समाउन अझै सकेको छैन । सडक विस्तार गर्ने क्रममा ठाउँठाउँमा भित्ता काट्ने काम हुँदा सडक धुलाम्य छ । निकट वस्तिका वासिन्दाहरु सडक विस्तारको काम कहिले सकिएला र धुलोबाट मुक्ति पाइएला भन्ने आशामा बसेका छन् । भने राजमार्गका यात्रुहरुले पनि त्यस्तै सास्ती झेल्नुपरेको छ ।
सडक विस्तार थालिएको झण्डै डेढ वर्ष बिते पनि प्रगति भने जम्मा १० प्रतिशतको हाराहारीमा छ । दुवै प्याकेजको ठेक्का चिनियाँ कम्पनीले पाएका छन् । तुलनात्मक रूपमा सजिलो भूगोल भए पनि ठेकेदार कम्पनीले कामको स्पीड बढाउन सकिरहेका छैनन् । अहिलेको सिजन कामका लागि मुख्य समय मानिन्छ । यो समयमा कामलाई गति दिन नसके केही महिना पछि नै बर्खा लाग्ने र झनै काम गर्न नसकिने अवस्था आउने आयोजनाका अधिकारीहरु बताउँछन् ।
सडकको भित्ता काट्ने, रिटेनिङ्ग वाल लगाउने, नाली बनाउने काम जारी छ । रुख काट्ने काम लगभग सकिएको छ भने, विद्युतका पोल सार्ने काम अझै पनि सुरु हुन सकेको छैन । अहिलेको सडकलाई विस्तार गरी शहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिदै छ । त्यसको बीच भागमा ३ मिटरको मेडियन बन्ने छ । ६ लेनमा तीनवटा मेडियन हुने डिजाइनमा उल्लेख छ । विमलनगर, डुम्रे, दमौली, खैरेनीटार, दुलेगौंडा लगायतका बजार क्षेत्रमा सडक ६ लेनको बनाइने भएको छ ।
सडक विस्तार भएपछि मेडियनका दुइतर्फ ७-७ मिटरको सडक हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । सहरी क्षेत्रका मेडियनमा ग्रिनरी बेल्ट तयार गरेर रुख बिरुवा र फूल रोपिने छन् । चार लेनको सडकको दायाँबायाँ नै साढे २ मिटरको सोल्जर -अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ । सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्षसम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता गरिएको छ ।
प्याकेज-१ : आँबुखैरेनी-जामुने खण्डका ५०५ घर भत्काइने
तनहुँको आँबुखैरहेनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१ किलोमिटर सडकको २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । तीन वर्ष भित्र बनाइसक्ने गरी चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले ६ अर्ब ३१ करोडमा ठेक्का लिएको हो । विद्युतका पोल सार्ने र साना ठूला पुलसमेत बनाउने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ ।
यसमा स्थानीयका घर भत्काउँदा दिनुपर्ने मुआब्जा समेटिएको छैन । आयोजनाको पूर्वी खण्डको अहिलेसम्म जम्मा १५.४ प्रतिशत काम भएको छ । सडकको भित्ता कटिङ्ग, वाल लगाउने काम र नाली बनाउने काम धमाधम भैरहेको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए । सुरुमा वन र विद्युत प्राधिकरणले समयमा नै काम नगरिँदा केही ढिलाइ भए पनि अहिले भने कामले गति लिएको आयोजना प्रमुख सुवेदीको दावी छ ।
निर्माण सामाग्रीको अभाव छैन । स्थानीय पालिकाहरूसँग करका विषयमा रहेको विवाद पनि समाधान भएको छ। अहिलेको गति अनुसार काम भए खासै धेरै समय म्याद थप गर्न नपर्ने आयोजनाले जनाएको छ ।
यो सडकखण्डमा ४ हजार ६ सय वटा रूखहरू पर्नेमा ४ हजार २ सय काटिसकिएको छ । बाँकी रुख काट्ने काम अघि बढेको आयोजना प्रमुख सुवेदीले बताए । विद्युतका पोलहरू सार्ने काम अगाडि नबढ्दा सडक विस्तारमा केही समस्या भएको सुवेदीको भनाइ छ । विद्युत प्राधिकरणले पुल बन्ने क्षेत्रका पोलहरू भने सारेर सहयोग गरेको छ । विद्युतका पोल सार्न १९ करोड रकम छुट्टाइएको छ । थप पोल सार्न टेण्डर भैसकेको छ । यो खण्डमा १८ वटा नयाँ पुलहरू निर्माण गर्नुपर्ने छ । तीमध्ये ७ वटा निर्माण सुरु भएका छन्, कतिपय प्रारम्भिक चरणमा छन् । एउटा पुल बनिसकेको छ । सडकखण्डमा पर्ने ७० कल्भर्ट मध्ये ४० वटा बनिरहेका छन् भने ४० वटा सम्पन्न भैसकेका छन् ।
घाँसीकुवादेखि छिर्कर्नेसम्मको (३१ देखि ३७ किलोमिटरसम्म) सडकखण्डमा डाइभर्सन बनाउन नमिल्ने र माथि भीर भएकाले केही समय सडक रोकेर विस्तारको काम गर्ने तयारी आयोजनाले थालेको छ । ‘अन्यत्र खासै समस्या छैन, यहाँ अलिकति अप्ठ्यारो ठाउँ छ, पहिला पनि एकाध घण्टा सडक रोकेर काम गरिएको हो, फेरी पनि सडक रोकेर काम गर्नुपर्ने अवस्था छ’ आयोजना प्रमुख सुवेदीले भने, ‘सकभर यात्रुलाई कम असर पर्ने गरी रातिको समयमा काम गर्ने सोच बनाएका छौं ।’ तर रातिमा काम गर्न ठेकेदार कम्पनीले त्यति इच्छा देखाइरहेको छैन ।
यो खण्डमा ५०५ वटा घरहरू पर्ने भएकाले कतिपय भत्काउनुपर्ने र कतिपय पछाडि सार्नुपर्ने अवस्था छ । अहिलेसम्म ३७५ घरहरू हटाउने निर्णय भैसकेको छ । आँबुखैरेनीदेखि दमौलीसम्मका सडक सीमामा पर्ने कपितय घरहरू भत्काउने प्रकृया अगाडि बढिसकेको आयोजना प्रमुख सुवेदीले बताए । डुम्रे बजार प्रवेश गर्ने मुख्य ठाउँ र विमलनगर बजारको माथिल्लो भागका अधिकांश घरहरू सडक विस्तारका क्रममा भत्किने छन् ।
सडक सिमाबाट दायाँबायाँ २३/२३ मिटरलाई ‘राइट अफ वे’ निर्धारण गरिएको छ । ‘डुम्रे बजार क्षेत्रको तल्लो भागका केही घरहरु भत्किन्छन्, कतिपय घर आधा हुन्छन्, विमलनगर बजारका पनि पुराना घरहरू भत्किन्छन्, हामीले सूचना टाँस पनि गरिसकेका छौं’ आयोजना प्रमुख सुवेदीले भने, ‘मुआब्जामा कतिपयले चित्त बुझाउनुभएको छ कतिपयले बुझाउनुभएको छैन, पालिकाहरु मार्फत कन्भिन्स गरिरहेका छौं । सरकारको निर्णय नमान्ने भन्ने हुन्न, हामीले पनि कन्भिसन गराइरहेका छौँ ।’ सरकारले यो खण्डका भत्किने घरहरूलाई दिने मुआब्जाका लागि चालु आर्थिक वर्षमा १० करोड बजेट छुट्टाएको छ । यो खण्डमा ३२ जना चिनियाँ कामदारसहित झण्डै ४५० जना कामदारले दिनहुँ काम गरिरहेका आयोजना प्रमुख सुवेदी बताउँछन् ।
प्याकेज-२ : जामुने-पोखरा खण्डको प्रगति ४.१ प्रतिशत
पश्चिमखण्ड जामुने-पोखरा (३९ किलोमिटर) मा सडक विस्तारको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको छ । २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । तीन वर्ष भित्र सडक विस्तारको काम सकिसक्ने गरी सो कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का पाएको हो । ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पश्चिम खण्डका आयोजना प्रमुख अमत श्रेष्ठले आयोजनाको प्रगति ४.१ प्रतिशत रहेको बताए ।
ठेक्का सम्झौता भएको झण्डै डेढ वर्ष भइसक्दा सडक विस्तारको प्रगति निकै न्यून छ । सडक निर्माणमा २ सय जना नेपाली कामदार र १५ जना जति चिनियाँ कामदार रहेका छन् । यो खण्डमा ८ वटा साना पुल र ४ वटा ठूला पुल गरी १२ वटा नयाँ पुलहरू बन्नेछन् । २ वटा ठूला पुलको निर्माणको काम सुरू भएको छ भने बाँकी पुलहरुको ‘ड्रोइङ्ग डिजाइन’ सकेर निर्माणको चरणमा छन् । यहाँ पर्ने १२५ भन्दा बढी कर्ल्भर्ट मध्ये २६ वटाको काम सुरू भएको छ ।
आयोजना प्रमुख श्रेष्ठका अनुसार सडकको भित्तो काट्ने र रिटेन्सन पर्खाल लगाउने काम धमाधम भैरहेको छ । पश्चिम खण्डमा झण्डै ३ हजार रुखहरू काट्नुपर्नेमा ९८ प्रतिशत रूख हटाउने काम सकिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । तनहुँको जामुनेदेखि कोत्रे खोलासम्म पर्ने सबैजसो रुख हटाइएको छ भने कास्कीको विजयपुरमा रहेको सैनिक ब्यारेक भित्रका केही रूख मात्रै काट्न बाँकी छ । यो खण्डमा तनहुँतर्फ१३८ घर टहरा र कास्कीका झण्डैं २ सय घर भत्काउनुपर्ने अवस्था रहेको आयोजना प्रमुखले बताए । कास्कीका घरहरू भत्काउने विषयमा स्थानीय प्रशासन र पालिकाहरूसँग आवश्यक समन्वयको काम भैरहेको छ ।
चालु आर्थिक वर्षमा सरकारले मुआब्जाका लागि ५ करोड विनियोजन गरेको छ । त्यसमध्ये तनहुँतर्फका घर भत्काएर ६० लाख वितरण गरिसकिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । बाँकीलाई मुआब्जा दिएर हटाउने काम जारी छ । मुआब्जाको रकम ठेक्का रकम भन्दा बाहिर सरकारले अलग्गै दिनेमा पर्दछ ।
यो खण्डमा पर्ने विद्युतका पोलहरू सार्न प्राधिकरणले टेण्डरको चरण पूरा गरेर सम्झौताको चरणमा रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । तनहुँको थर्पुदेखि ४ किलोमिटर सडकका पोल सारिएका छन् । विद्युत प्राधिकरणका ३ अलग-अलग निकायले हेर्ने भएकाले छुट्टाछुट्टै टेण्डर भएको हो । विजयपुरदेखि कुम्लेसम्मको भाग अलिक लामो रहेकाले त्यसको पहिलो ठेक्का रद्द गरी दोस्रोपटक ठेक्का लगाउँदा केही ढिला भएको हो । विद्युत पोल सार्ने रकम ठेक्का भित्र नै समेटिएको छ । २६ करोड रकम विद्युतका पोल र्सार्न आयोजनाले छुट्टाएको छ ।
सेती र मादीमा पुल बनाउन अलग-अलग ठेक्का
यस्तै, आँबुखैरेनी-पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँको दमौली नजिक रहेको मादी नदी र पोखराको सेती नदीमाथि पुल बनाउन सडक विभागले अलग-अलग ठेक्का लगाएको छ । पोखराको सेती नदीमाथि आकर्षक सिग्नेचर ब्रिज बनाउने विभागले लगाएको ठेक्का रसुवा कन्स्ट्रक्सन प्रा.लिले पाएको छ । १ अर्व ७ करोडमा ठेक्का सम्झौता भई ठेकेदार कम्पनीले पुलको नक्सा डिजाइन गरिरहेको छ ।
डिजाइन एण्ड विल्डको आधारमा बनाइने पुल अहिलेको सेती नदीभन्दा माथि दुइ लेनको र तल दुइ लेनको बन्ने छ । समग्रमा सेती नदी माथि ६ लेनका पुल हुनेछन् । यस्तै, मादी नदीमाथि पुल बनाउन जेआइइसी र अनक जेभीसँग गत कार्तिकमा ठेक्का सम्झौता भैसकेको छ । अहिले रहेको पुलभन्दा माथिल्लो भागमा पुल बनाउन १ अर्ब २० करोडमा ठेक्का भई डिजाइनको काम भैरहेको छ ।










