भानु नगरपालिका : “राज्यको युवा लक्षित कार्यक्रमले युवालाई नै आकर्षित गर्न सकेन”

नगरप्रमुख : आनन्दराज त्रिपाठी

आदिकवि भानुभक्त आचार्यको जन्मभूमी चुँदीरम्घा । भाषीक एकीकरण गरी नेपालीहरुलाई एउटै भाषाको मालामा उन्न सफल भानुभक्त आचार्यको जन्मथलो साहित्यिक तिर्थस्थलका रुपमा पनि परिचित छ । यही विशेषताका कारण यस नगरपालिकाको नाम पनि भानु नामाकरण गरिएको छ । त्यस्तै, नेपालको राजनीतिक इतिहासका दोस्रो प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मथलो मैवलकोट क्षेत्र । मिर्लुङकोट लगायतका कोटहरुका कारण पनि यो नगरपालिका ऐतिहासिक पृष्ठभूमि बोकेको छ । धार्मिक, साँस्कृतिक, ऐतिहासिक, प्राकृतिक, साहित्यिक क्षेत्रले भरिपूर्ण यस नगरपालिका ग्रामीण पर्यटनको प्रचुर सम्भावना बोकेको छ । भानु जन्मस्थल चुँदी रम्घा, वसन्तपुरको थानीमाई देवीको मन्दिर, चन्द्रावतीको महादेव मन्दिर, कवाजितको ऐतिहासिक महत्वको महालक्ष्मी मन्दिर, मिर्लुङ्गकोट दरबार, ठूलोढूङ्गा, दरगा जामे मस्जिद, चुँदीको उर्वर भूमि, उच्च पहाडि भू-धरातलका हरिया वनजंगल, विभिन्न समुदायको बसोवास, भाषा, संस्कृति यस नगरपालिकाको पहिचान हुन् । मिर्लुङकोट, कोटगाँउ क्षेत्र, मैवलकोट, भानु जन्मस्थल चुँदीरम्घा ऐतिहासिक स्थल हुन् । यी क्षेत्रको विकास र प्रवर्द्धन गरी रोजगारीको वातावरण सृजना गर्दै समृद्धिको यात्रा तय गर्ने योजना बनाएको नगरप्रमुख आनन्दराज त्रिपाठी बताउँछन् ।

युवा पलायन, बसाइसराइ जस्ता समस्याबाट गुज्रिएको भानु नगरपालिकाको ग्रामीण बस्तिहरु अहिले युवा जनशक्ति अभावमा छ । गाउँबस्तिहरु बसाइ सराइका कारण खण्डहर बन्न थालेका छन् । युवाहरुलाई आफ्नै थातथलोमा स्वरोजगार बनाउने योजना बनाएपनि त्यो प्रभावकारी हुन नसकेको नगरप्रमुख त्रिपाठी बताउँछन् । ‘स्थानीय तहको मात्र समस्या नभएर युवा पलायन मुलुककै समस्याका रुपमा रहेको छ । रोजगारीको शिलशिलामा होस् वा सेवा सुविधाको खोजीमा शहर केन्द्रित हुने, शहर हुँदै विदेश केन्द्रित हुने मानसिकता बढ्दै गएको छ’, नगरप्रमुख त्रिपाठी भन्छन्, ‘युवाहरुमा नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापित भइसकेको अवस्था छ । यो मानसिकतालाई अब परिवर्तन ल्याउनका लागि स्थानीय तहको स्रोत र साधान प्रयाप्त छैन । युवा लक्षित कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न संघीय सरकारले नै विशेष कार्यक्रम ल्याउन आवश्यक छ ।’

‘अहिले गाउँबाट युवा पलायन हुँदै गएका छन् । युवा पलायनका कारण हाम्रो राम्रो जनशक्ति मुलुकमा उपयोग गर्नुपर्नेमा आज अन्यत्र पुगेको छ । अरु राष्ट्रको प्रगतिमा सहभागि भइरहेका युवालाई आफ्नै ठाउँमा रोक्ने कार्यक्रमको खाँचो छ’, उनले भने, ‘युवालाई आफ्नै थातथलोमा स्वरोजगार बनाउन र आर्थिक उपार्जनको माध्यममा जोड्नका लागि स्थानीय सरकारले आफ्नो स्रोत र साधान अनुरुपको कार्यक्रम बनाएर अगाडि बढेपनि त्यो प्रयाप्त र प्रभावकारी हुन सकेको छैन ।’

मुलुकको अस्थिर राजनीति पनि युवा पलायन हुनेको एउटा समस्या भएको बताउँदै नगरप्रमुख त्रिपाठीले भने, ‘स्थानीय तहलाई केन्द्रित गरी युवा लक्षित नीति, कार्यक्रम र बजेट बनाउन संघीय सरकारको ध्यान जानुपर्छ । विदेशबाट फर्किएका युवाहरुमा ज्ञान, सीप, दक्षता छ । त्यस्तो जनशक्तिलाई आफ्नै थातथलोमा रोकेर लाभ लिन आवश्यक छ । विदेशबाट फर्किएका युवासंग सीप, दक्षता छ, धेरथोर लगानि गर्ने स्रोत पनि छ तर, सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि सुरक्षित वातावरण तयार गरिदिनुपर्छ । उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्ने नीति बनाएर लगानिमा सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्छ ।’ युवाहरुलाई संगठित गरी हाम्रै डाँडापाखालाई कसरी हरभर बनाउन सकिन्छ र स्थानीय स्तरमै कसरी रोजगारीको वातावरण सृजना गर्न सकिन्छ भन्ने विषयमा नगरपालिका केन्द्रित भएको त्रिपाठी बताउँछन् । उनले भने, ‘उत्पादन वृद्धि, उपजको बजारीकरण, स्वरोजगारका कार्यक्रमहरु युवासंग माग गरिएको छ । गाउँ बस्ति खालि भएका छन् । उर्वर भूमि बाँझिएका छन् । ग्रामीण क्षेत्रको बस्ति उजाडिदै जाँदा हाम्रो नीति कार्यक्रमहरु समेत प्रभावकारी रुपमा सञ्चालन गर्न समस्या आउन थालेको छ ।’

‘गाउँ त्यसै खाली भएको त होइन । तर, हामीले समस्याको पहिचान गरी सम्बोधन गर्न ध्यान पुर्‍याउन सकिएको छैन । सेवा सुविधाको खोजीमा मान्छे अन्यत्र जान थालेका छन् । जनता अडाउनका लागि कुनै न कुनै आधार बनाउन हामी लाग्नुपर्छ’, उनले भने, ‘नगरपालिकाले विशेष गरी युवा लक्षित नीति कार्यक्रम बनाएर बजेट व्यवस्थापन गर्ने, उद्यम विकासका कार्यक्रमलाई प्राथमिकता दिइने र सम्भाव्यताको पहिचान गरी युवालाई परिचालित गरी रोजगारीको वातावरण सृजना गर्ने योजनाका साथ अगाडि बढेका छौ ।’

युवा स्वरोजगारका कार्यक्रम मार्फत युवा लक्षित कार्यक्रम अगाडि बढाएको नगरपालिकाले कृषि, पशुपालनलाई प्रवर्द्धन गर्नुका साथै उत्पादित उपजको बजारीकरणको वातावरण बनाउने र युवालाई आफ्नै थातथलोमा रोक्ने गरी काम गर्दै आएको उनले बताए । उनले भने, ‘अब युवामैत्री कार्यक्रम ल्याउन सकिएन भने युवा पलायनको अवस्था थप जटिल बन्ने र हाम्रा ग्रामीण बस्ति खण्डहर बन्ने खतरा बढ्ने छ ।’ युवाजनशक्ति अभावमा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको बताउँदै नगरप्रमुख त्रिपाठीले भने, ‘युवाहरु आफु भन्दा अरुसंग निर्भर हुने क्रम बढेको छ । यो हामीले रोजगारीको वातावरण सृजना गर्न नसक्दाको समस्या पनि हो । आफ्नै थातथलोमा केही गरौं भन्ने विषयमा युवाहरु समेत जागरुक भएको देखिदैन । स्थानीय सरकारलाई युवाहरुले घचघचाएर हामी यो उद्यम गर्न चाहन्छौ र आफ्ना योजना प्रस्तुत गरे नगरपालिका हातेमालो गरी अगाडि बढ्न तयार छ ।’

भानु सम्भावनायुक्त पालिका हो । मर्स्याङदी नदी करिडोर भानुको मुख्य सम्भावना बोकेको क्षेत्र हो । तरकारी खेतीका लागि उपयुक्त भूमि छ । चुँदी फाँट पनि सम्भावना बोकेको ठाउँ हो । पशुपालन, कृषि, कुखुरा पालन, धार्मिक, साँस्कृतिक, प्राकृतिक हिसावले पनि महत्वपूर्ण पालिका हो । तर, युवा नहुँदा यी क्षेत्र उजाडिदै गएको नगरप्रमुख त्रिपाठी बताउँछन् । उनि भन्छन्, ‘मेहनत, परिश्रम सबै भन्दा ठूलो कुरा हो । तर, अहिले युवाहरु मेहनत र परिश्रम गर्न तयार देखिदैन । विदेशमा जस्तो काम गर्न पनि तयार हुने युवाहरु आफ्नो गाउँठाउँमा पसिना बगाउन नचाहने समस्या देखिदा पनि यो अवस्था आइरहेको छ, यस तर्फराज्यले समयमै ध्यान पुर्‍याएन र युवाहरुमा पनि जागरण आन आवश्यक छ ।’

‘विदेशिएका युवामा मुलुकको माया, चिन्ता जसरी व्यक्त हुन्छ, त्यस्तैगरि आफ्नो थातथलोमा बसेर त्यही किसिमको आत्मबल बढाएर हामी यही केही गर्र्छौ, सम्भावना यही छ भन्ने भावना जागृत गरी अगाडि बढेमा युवाहरु आफ्नै परिवार, आफ्न्तसंग बसेर यही जिविकोपार्जन गर्न सक्ने सम्भावना छ’, नगरप्रमुख त्रिपाठी भन्छन्, ‘यहाँको माटो उर्वर छ । यही केही गर्न सकिन्छ । लक्ष्य लिएर अगाडि बढ्यो भने गन्तव्यमा पुग्न सकिन्छ । यहाँका युवाहरुले पनि म/हामी यही केही गर्र्छौ भन्ने भावनका साथ अगाडि बढे स्वरोजगार भइन्छ । आफु अनि मुलुकलाई आर्थिक समृद्धिको बाटो तर्फ अगाडि बढाउन सकिन्छ । सोचमा परिवर्तनको खाँचो छ ।’

विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि मुख्यत साहित्यिक पर्यटन प्रवर्द्धनसंगै कृषि उत्पादनलाई जोड दिएको नगरपालिकाले ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौ समृद्ध र समुन्नत भानु राम्रो’ भन्ने नाराका साथ अगाडि बढेको छ । नेपाली भाषाको एकीकरण तथा नेपाली साहित्यिक नक्षेत्रका रुपमा रहेका भानुको जन्मस्थल चुँदी रम्घा साहित्यिक पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । यो क्षेत्रलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाका साथ अगाडि बढेको नगरप्रमुख त्रिपाठी बताउँछन् । ‘नगरपालिकाले विशेषता कृषि क्षेत्रको विकाससंगै उत्पादनलाई जोड दिएको छ’, उनले भने, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जनताका आधारभूत आवश्यकता भएकाले सहज रुपमा उपलब्ध गराउने र बाँझिदै गएका उर्वर भूमिलाई पुनः खेती गर्ने वातावरण सृजना गरी उत्पादन वृद्धि गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित छ ।’

ग्रामीण पर्यटनको आकर्षक गन्तव्य वडा नं. १३ स्थित मिर्लुङकोट क्षेत्र हो । तनहुँको दोश्रो अग्लो पाहाड जहाँबाट पूर्वदेखि पञ्चिमसम्मका हिमालहरु देख्न सकिन्छ । मिर्लुङकोट क्षेत्रमा लालिगराँस पनि पाइने हुँदा पर्यटकको रोजाइमा पर्ने गरेको छ । यी क्षेत्रलाई प्राकृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । गण्डकी प्रदेशकै नमुना टुटेपानी सामुदायिक होमस्टे तथा अन्य गाउँहरुमा पनि ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे सञ्चालन गर्नुका साथै ती होमस्टेमा स्थानीयस्तरमै उत्पादित उपज खपत गराउने गरी उत्पादनमा जोड दिंदै रोजगारीको वातावरण सृजना गर्ने योजना बनाइएको नगरप्रमुख त्रिपाठी बताउँछन् ।

यस्तै, भानु नगरपालिका विभिन्न समुदायको कला संस्कृतिले पनि भरिपूर्ण छ । स्थानीय कला संस्कृतिको संरक्षण, रैथाने बालीको संरक्षण, धार्मिक क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय पाठ्यक्रम तयार गरी सबै विद्यालयमा पठनपाठनको व्यवस्था समेत मिलाइएको उनले बताए । मुख्य त नगरपालिकाले कृषिलाई नै बढि जोड् दिएको छ । नगर क्षेत्रका उर्वर भूमिमा विषादी रहित हिसावले रैथाने बालि उत्पादन गर्नुपर्छ भन्ने मान्यता नगरपालिको रहेको छ । यहाँ उच्च पहाडी क्षेत्र, फाँट र टारहरु पनि भएकाले कृषिक्षेत्रलाई व्यवसायिक बनाउँदै उत्पादनसंग जोडिदै उत्पादित उपजलाई बजारीकरण गर्ने तर्फ पनि नगरपालिकाले योजना बनाएको त्रिपाठीले बताए । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रका पूर्वधार निर्माणमा पनि प्राथमिकता दिइएको छ । आन्तरिक आम्दानीको क्षेत्र राम्रो नभएकाले जनताका आवश्यकता पुरा गर्न पनि संघ र प्रदेश सरकारले उपलब्ध गराउने बजेटमै निर्भर हुनुपर्ने अवस्था छ । नगरपालिकाले ठूला विकासे योजनाहरु सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको नगरप्रमुख त्रिपाठी बताउँछन् । उनले भने, ‘नगर क्षेत्रको विकासका लागि गरिने विशेषखालका योजनाहरुमा पिपिए मोडलबाट अगाडि बढ्ने योजना बनाएका छौं ।’

नगर उपप्रमुख : उमा गोतामे

भानु नगरपालिका विशेषता कृषि उत्पादनलाई जोड दिंदै शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको उपप्रमुख उमा गोतामे बताउँछिन् । स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गर्नका लागि लक्षित वर्गसंगै माग र आवश्यकतालाई पहिचान गरी उद्यमशिल विकास तथा सीपमुलक तालिमहरु सञ्चालन गरिएको उनले बताइन् । सिलाइकटाइ, बुनाइ, हस्तकलाका सामाग्रि तयार, ड्राभिङ, विभिन्न मेशिनरी सामाग्रिको मर्मत सुधार सम्बन्धी तालिम लिइएका युवाहरु अहिले स्वरोजगार बन्दै गएको उनले बताइन् ।

‘शिक्षाबाट बञ्चित रहेका गरिब र असाय बालबालिकालाई विद्यालयमा पुर्‍याउने गरी नगरपालिकाले नीति बनाएको छ’, उनले भनिन्, ‘नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रलाई सहज बनाई सबैको पहुँचमा पुर्‍याउने र आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएकोछ ।’ उनले भनिन्, ‘महिला सशक्तिकरण, आर्थिक पहुँच अभिवृद्धि गर्दै नेतृत्व तहमा पुर्‍याउनका लागि विभिन्न क्षमता विकास कार्यक्रम, नेतृत्व विकास तालिमहरु वडावडा तहमा नै उपलब्ध गराउँदै रोजगारीको वातावरण सृजना गर्दै आर्थिक उपार्जनको माध्यम बनाउने योजना नगरपालिकाले बनाएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत : दीवाकर पौडेल

नगरपालिकाले युवा लक्षित कार्यक्रमहरु प्राथमिकतामा राखेर सञ्चालन गरेपनि प्रभावकारी बन्न नसकेको प्रमुख प्रशासकीय अधिकृत दीवाकर पौडेल बताउँछन् । ‘युवा रोजगारको सन्दर्भमा गाउँबाट युवा शहर, शहरबाट विदेश पुग्न थालेका छन्’, उनले भने, ‘नगरपालिकाले स्वरोजगार मुलक कार्यक्रम अगाडि बढाएको छ । सामाजिक विकास शाखा मार्फत १० लाख रुपैया बजेटको व्यवस्था गरी सीप मुलक कार्यक्रमलाई जोड्दै गएको छ । सकेसम्म युवा आफ्नै गाउँठाउँमा केही गरोस भन्ने छ तर, पनि युवाहरु अन्यत्र जान चाहेमा दक्ष्य भएर जाउन भनि सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।’

युवाहरुलाई दक्ष र सीपयुक्त बनाउनका लागि नगरपालिकाले ड्राइभिङ, प्लविङ, वल्डिङ लगायतका तालिम प्रदान गरेको छ । नगरपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण र लागत घटनाउने उद्देश्यका साथ आधुनिक मेशिन तथा औजारहरु अनुदानमा उपलब्ध गराएको छ । ती मेशिन तथा औजारहरु बिग्रिएमा बनाउने जनशक्तिको अभाव देखिएपछि अहिले नगरपालिकाले कृषि क्षेत्रमा प्रयोग हुँदै आएका मिनी टिलरको मर्मत सुधार सम्बन्धी तालिम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । नगरपालिकाले रोजगारीको वातावरण सृजना गर्नका लागि युवाहरुलाई लक्षित गरी मोबाइल मर्मतका सीप सिकाउने, महिलाहरुका लागि सिलाईबुनाइका तालिम सञ्चालन गरेको छ ।

यस्तै, विदेशबाट आएका युवाहरुको सीप, क्षमतलाई उपयोग गर्ने गरी सामी कार्यक्रमसंग जोडेर उद्यमशिलताका कार्यक्रम सञ्चालन भएका छन् । ‘युवा स्वरोजगारलाई लक्षित गरी कार्यक्रम सञ्चालन हुँदै गएका र युवाहरुको चाहना अनुसार सञ्चालन गरिएका कार्यक्रममा युवाहरुको आकर्षण पनि बढ्दै गएको छ’, उनले भने, ‘विशेष गरी पछिल्लो समय यस्ता कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता देखिएको छ । तालिममा सिकेको सीपलाई व्यवहारमा समेत उतारेर सानो लगानीबाट राम्रो प्रतिफल लिने क्रम पनि बढ्दै गएको छ ।’ ‘युवाहरुको विदेश मोह बढ्दै गएको छ । जसले गर्दा अहिले हाम्रा ग्रामीण बस्ति युवा विहिन भएका छन्’, उनले भने, ‘अहिलेको ग्रामीण बस्तिलाई हेर्ने हो भने वृद्धवृद्धाको बस्तिा जस्तो बन्दै गएको छ । ज्येष्ठ नागरिकको देश हुने पो हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।’

युवालाई विदेश जानबाट रोक्नका लागि संघीय सरकारबाटै स्वरोजगार मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनि बताउँछन । ‘शैक्षिक योग्यताको सर्टिफिकेट राखेर ऋण दिने नीतिलाई तल्लो तहसम्म व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन सकियो भने केही हदसम्म युवालाई आफ्नै थातथलोमा उद्यम गर्ने वातावरण सृजना हुन सक्छ’, प्रमुख प्रशासकीय अधिकृत पौडेल भन्छन्, ‘युवालाई व्यवसाय सम्बन्धी तालिम दिने, उत्पादनमा जोड दिने, उत्पादित वस्तुको बजारीकरण, वीमाको व्यवस्था जस्ता नीतिलाई व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउन सक्नुपर्छ ।’

निर्वाहमुखि खेतीलाई व्यवसायिकता तर्फ उन्मुख गर्न आवश्यक छ । जग्गाको चक्लाबन्दी गरी कम लागतमा राम्रो प्रतिफल लिने वातावरण सृजना गर्नुपर्छ । कृषकहरुले उत्पादन गरेका उपजको सरकारले नै ग्यारेन्टि लियो भने र कृषि पेशालाई सम्मानित पेशा बनाउन सकियो भने युवा पलायनका समस्या केही हदसम्म रोकिन सक्छ र स्थानीय स्तरमै रोजगारीको वातावरण बन्नुका साथै आर्थिक समृद्धिको बाटो समेत बन्ने उनि बताउँछन् । पौडेल भन्छन्, ‘युवाका विषयमा नीति कार्यक्रम त बन्ने तर कार्यान्वयन नहुने समस्या देखिएको हुँदा युवा पलायन बढ्दो देखिएको छ । संघीय सरकारदेखिनै तल्लो तहसम्म युवामैत्री क्रियाकलापलाई कार्यान्वयनको चरणमा ल्याउनुपर्छ ।’

तनहुँको भानु नगरपालिकाको चुँदी फाँट । तस्विर : भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker