लमजुङ बगुम पहिरो : बेपत्ता चारैजनाको शव भेटियो

लमजुङ : लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुममा मंगलबार राति पहिरोले घर बगाउँदै हराइरहेका एकै परिवारका ४ जनाको शव भेटिएको छ ।

गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाएको र २ घरका ४ जना बेपत्ता भएका थिए । स्थानीय, प्रहरी र जनप्रतिनिधिले खोजतलास गरेकोमा बुधबार दिउँसो चारैजनाको शव फेला परेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले जानकारी दिए ।

उद्धार कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार पहिरोमा परेर ७० वर्षिय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने रुद्रमानका बुहारी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ९ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता भन्ने निष्मा गुरुङको शव फेला परेको छ । ३६ वर्षीय भीमबहादुर घले घाइते रहेको र उपचारका लागि सदरमुकाम बेंसीसहर पठाइएको उनले बताए ।

क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङले आमा र २ छोरीको शव घरबाट करिब १५–२० मिटरमुनि हुमदेवी गुरुङको धन्सारको आडमा एकैठाउँमा फेला परेको बताए । रुद्रमानको शव भने आफ्नै आँगनको तल्लो कुनामा भेटिएको उनले बताए । प्रहरीले अहिले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।

योसँगै लमजुङमा पहिरोबाट मर्नेको संख्या ५ पुगेको छ । दोर्दी गाउँपालिका ९, धैरेनी सुनारगाउँमा मंगलबार राति पहिरोले घर पुरिँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । उनका दाइ १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए ।

घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान ७ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । घाइते मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker