गफ्फारको सरसफाई अभियान : धेरै फोहर संकलन गर्नेलाई नगद पुरस्कार

तनहुँका दमौलीका सुदीप गफ्फारले खोलानाला तथा सार्वजनिकस्थलमा यत्रतत्र हुने फोहर सरसफाई गर्ने अभियानलाई तीब्रता दिएका छन् । व्यास नगरपालिका-४ दमौलीका अभियान्ता गफ्फारले बुल्दी-चुँदीखोलामा बृहत् सरसफाई अभियान अगाडि ल्याएका छन् । व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत सरसफाइ अभियान अन्तर्गत धेरै फोहर संकलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ । उनका अनुसार धेरै फोहर संकलन गरी पहिलो हुनेलाई १० हजार रुपैयाँ र दोस्रो हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यले वृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको अभियान्त गफ्फारले बताए । उनले भने, ‘भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।’
‘बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा आगामी जेठ ५ गते सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ’, उनले भने, ‘यसलाई बचाउन सकिए भने भविष्यमा बुल्दीखोला र चुँदीखोलाको अस्तित्व संकटमा पर्नेछ ।’
अभियानका लागि हरेक टोल र क्लबसँग समन्वय गरिएको बताउँदै उनले एउटा टोलीमा १५ जना सहभागी हुनसक्ने जानकारी दिए । सरसफाइ अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लबसँग सहकार्य गर्ने र सरसफाइ अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको उनले बताए ।
बुल्दी र चुँदीखोला सरसफाइ अभियानलाई निरन्तरता दिने योजना बनाएका गफ्फारले प्रतियोगितात्मक रुपमा वर्षको एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सरसफाइ अभियान हुने बताए । उनले भने, ‘जबसम्म बुल्दी र चुँदीखोला कञ्चन हुँदैन, तबसम्म सरसफाइ अभियान जारी रहनेछ ।’
बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘महषिर् वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।’










