वैशाख १० गते हुने उपनिर्वाचिनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आचार्य खटिएका छन् । जिल्ला समन्वय समिति तनहुँको परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासंगै निर्वाचनको प्रक्रिया सुरु भएको आचार्यले बताए ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ ।
कांगे्रसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नं. १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराइलाई उम्मेदवार बनाउने भएको छ ।
नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट कांगे्रस परित्याग गरेका अर्थविद् स्वणिर्म वाग्लेलाई उम्मेदवार बनाएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीको जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरेको छ ।
मंसिर ४ को निर्वाचनमा रामचन्द्र पौडेल माओवादीसँगको गठबन्धनबाट करिब पाँच हजार मतान्तरले विजयी भएका थिए । पौडेलले २५ हजार ३१८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले उनले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।
यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८७८ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार ४८३ मत प्राप्त गरेका थिए ।
तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र तोकिएका छन् भने वैशाख १० गते हुने उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता रहेका छन् ।










