सीप र उत्पादन प्रदर्शनीबाट महिला उद्यमशीलताको प्रवर्द्धन

दमौली : महिला उद्यमी संघ तनहुँको आयोजना, इनरह्विल क्लब अफ दमौलीको सहआयोजना तथा तनहुँ सौन्दर्य व्यवसायी संघको सहजीकरणमा मङ्गलबार दमौलीमा मेहेन्दी कला तथा सौन्दर्य सीप प्रदर्शनीसँगै महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी सम्पन्न भएको छ। प्रदर्शनीमा मेहेन्दी कला, मेकअप तथा सौन्दर्यसम्बन्धी विभिन्न सीपको प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
साथै महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकला, स्थानीय खाद्य परिकार, घरेलु तथा अन्य स्थानीय उत्पादन पनि अवलोकनका लागि राखिएका थिए। आयोजकका अनुसार महिलाको सीप र उत्पादनलाई बजारसँग जोड्दै उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमा आधारित कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। महिला उद्यमीका उत्पादनको बजार विस्तारका लागि स्थानीय तह, निजी क्षेत्र र सामाजिक संस्थाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले महिलामा आत्मविश्वास अभिवृद्धि गरी स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।
व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियारले महिलामा रहेको सिर्जनशीलता र क्षमतालाई उजागर गर्न यस्ता प्रदर्शनी प्रभावकारी हुने बताउँदै उत्पादनको बजारीकरणमा सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको धारणा राखिन्।
वडा सदस्य रफत साना मियाले महिला उद्यमीलाई प्रोत्साहन गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन्। स्थानीय उत्पादनको प्रयोग र प्रवद्र्धनले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। तनहुँ सौन्दर्य व्यवसायी संघकी अध्यक्ष विष्णुमाया थापाले सौन्दर्य व्यवसायलाई केवल सेवा क्षेत्रमा सीमित नराखी सीप, सिर्जनशीलता र आत्मनिर्भरतासँग जोडेर अघि बढाउनुपर्ने बताइन्।
महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताइन्। महिलामा रहेको सीपलाई व्यवसायसँग जोड्न सके परिवारको आर्थिक अवस्था सुधारिनुका साथै समाजको समग्र विकासमा समेत सकारात्मक योगदान पुग्ने उल्लेख गर्दै उनले महिला उद्यमीका उत्पादनको बजार विस्तारका लागि सरकारी तथा निजी क्षेत्रबाट थप सहयोग आवश्यक रहेको बताइन्।










