एसओएस गण्डकीमा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण

एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा आयोजित एक विशेष समारोहमा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीताकुमारी सुन्दासले विद्यार्थीहरुलाई पुरस्कृत गरेकी थिइन् । कार्यक्रममा विद्यालयका सहप्राचार्य प्रभास पौडेलले र्सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयको मूल नीति, सिद्धान्त, उद्देश्य र गतिविधिमाथि प्रकाश पारेका थिए ।
समारोहमा शैक्षिक सत्र-२०८० मा उत्कृष्टता हासिल गर्ने प्रत्येक कक्षाका जम्मा ८६ विद्यार्थीलाई विषयगत रूपमा पुरस्कार वितरण गरिएको थियो । विषयगत उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि सीता सुन्दास, एसओएस बालग्रामका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए ।
एसओएस गण्डकीकी पूर्वशिक्षिका जया बरालद्वारा आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा स्थापित ‘नगेन्द्रकुमारी-नारायण स्मृति पुरस्कार’ पनि प्रदान गरियो । एसओएसका कक्षा ३, ४ र ५ मा सर्वोत्कृष्टता हासिल गर्ने एकजना विद्यार्थीलाई प्रदान गरिने पच्चीस हजार रकम राशिको उक्त पुरस्कारबाट शैक्षिक सत्र-२०८० मा कक्षा ५ का प्रज्ञान बराल पुरस्कृत भएका छन् ।
त्यस्तै कक्षा ८ को महानगरस्तरीय आधारभूत शिक्षा परीक्षामा विद्यालयका तर्फबाट गत शैक्षिक सत्रमा ४ जिपिए ल्याउने विद्यार्थीत्रय प्रज्ज्वल क्षेत्री, सुरभ तिवारी र स्मारिका न्यौपानेलाई जनही पाँच हजार नगद पुरस्कारसहित सम्मान गरियो । एसओएस बालग्राम गण्डकीकी पूर्वआमा शारदा पराजुलीद्वारा स्थापित अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।
यस्तै, विद्यालयका पूर्वशिक्षक सुरेश बरालद्वारा स्थापित अक्षयकोषबाट कक्षा २ मा अध्ययनरत कृषिका विकलाई विशेष शैक्षिक प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले विषयगत उत्कृष्टता हासिल गर्ने सम्पूर्ण विद्यार्थीप्रति बधाई ज्ञापन गर्दै हरेक क्षेत्रमा उत्कृष्टताको परिचायक बन्दै आइरहेको एसओएस गण्डकीले आगामी दिनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको संख्यामा समेत वृद्धि गर्दै लैजाने बताए ।