घिरिङ गाउँपालिका : सडक विस्तारसंगै व्यवसायिक कृषि, पशुपालन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
नारायण खड्का/तनहुँ

भिरालो भू-धरातलीय स्वरुपले बनेको यस गाउँ ३०० मिटरदेखि १००० मिटरसम्मको उचाईमा फैलिएको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल करिब १२६ वर्ग किलोमीटर रहेको छ । गाउँपालिकाको पूर्वमा ऋषिङ गाउँपालिका, पश्चिममा पाल्पा र स्याङ्गजा जिल्ला, उत्तर भिमाद ना.पा. र स्याङ्गजा जिल्ला र दक्षिणमा नवलपरासी र पाल्पा जिल्ला पर्दछन् । राजनैतिक विभाजनका हिसाबले यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा रहेको छ । गाउँपालिकाको मुख्य लाइफलाइन भनेको कृषि र पशुपालन हो । अत्रौली पुट्टार सिंचाई आयोजनाबाट सिंचित यहाँको अत्रौली, पुट्टार, वैडी, गजरकोट लगायतका फाँटमा व्यवसायिक कृषि खेती सञ्चालन गरी कृषि पर्यटनको आकर्षक गन्तव्य बनाउन सकिन्छ ।
त्यस्तै, यही गाउँपालिकासंगै बगेको कालिगण्डकीमा व्यवसायिक रुपमा र्याफ्टिङ्ग समेत सञ्चालन गर्न सकिन्छ । घिरिङकोट भरैव मन्दिर, थानीदेवी मन्दिर, राजभँयुर, तृष्णाघाट, वलिघाट आदि धार्मिकस्थल छन भने मगर समुदायको सोरठी, कौडा नृत्य, झाउरे नाच, ल्होछार, नेवर समुदायको लाखेनाच, चुड्का नाच, कुमाल समुदायको सोरठी नृत्य, ब्राहमण तथा क्षेत्री समुदायको भजन, चुड्का, वालन, गुरुङ समुदायको सोरठी, कौडा नृत्य, झाउरे नाच, ल्होछार लगायतका साँस्कृतिले गाउँपालिका भरिपूर्ण छ ।
अधिकांश भू-भाग वनजंगल रहेको गाउँपालिका प्राकृतिक रुपमा पनि मनोरम छ । डाँडाजोर प्राकृतिक पुल, कालीगण्डकी नदीको मनोरमदृष्य, ग्रामीण पर्यटनको सम्भावना बोकेका गाउँहरु उवाक्थोक, नेवापानी, च्याचुल, मोचावारीमा होमस्टे सञ्चालनको तयारी, आरनकोट, घुलिछाप, घुमाउने ताल, भ्यू टावर, चाले ताल, गजरकोट भ्यूटावर, च्याचूल भ्यूटावार, चन्हकोट भ्यू टावरको अवधारणा पनि गाउँपालिकाले अगाडि ल्याएको छ। यस गाउँपालिकाको मुख्य चुनौतीका रुपमा सडक रहेको हुँदा सडक विस्तार र स्तरोन्नतीलाई प्राथमिकताका साथ अगाडि बडाइएको छ ।

होम बहादुर थापा : गाउँपालिका अध्यक्ष
घिरिङ गाउँपालिकाले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेटको व्यवस्थापन गरेको अध्यक्ष होम बहादुर थापाले बताए । ‘विकासबाटै समृद्धि हाँसिल गर्ने गरी गाउँपालिका अगाडि बढेको छ’, उनले भने, ‘मुख्य त हामीले विकासको पहिलो खुड्किलो सडकलाई लिएका छौं । सबै वडाका गाउँबस्तिसम्म सडकको पहुँच विस्तार गरी स्थानीय स्तरमा उत्पादित उपजको बजारीकरणदेखि सहज यातायातको व्यवस्थापन गर्ने हाम्रो योजना रहेको छ ।’
घिरिङ गाउँपालिकाका लगभग सबै घरमा अहिले विद्युत सेवा पुर्याएर उज्यालो घिरिङ बनाइएको छ । आर्थिक र सामाजिक विकासका लागि गाउँपालिकाले आफ्नो क्षमताले भ्यासम्मको नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको अध्यक्ष थापा बताउँछन् । गाउँपालिकाले सडकलाई ए लेवल, बि लेवल र सि लेवलमा वर्गीकरण गरी सडक विस्तार तथा स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । गाउँपालिकाको ए लेवलको बाटोमा कृष्ण मोटरमार्ग, गल्याङदेखि गाइघाटसम्म राष्ट्रिय वैकल्पिक राजमार्गको रुपमा र गण्डकी प्रदेशदेखि मधेस जाने बाटोको काम अगाडी बढेको छ । वि लेवलमा एउटा पालिकाबाट अर्को पालिकामा पुग्ने बाटोहरुमा स्तरवृद्धिका काम भएका छन् ।

यस्तै, गाउँपालिकाले एक घर एक धारा अभियान तीव्र रुपमा अगाडी बढाइरहेको छ। गाउँपालिकाबाट गर्न सकिने गाउँपालिकाबाट नै र प्रदेश र संघबाट खानेपानीको अभियानलाई तीब्रता दिइरहेको गाउँपालिकाले सबै भन्दा अग्लो ठाउँ च्याचुलमा अलैची खानेपानी आयोजना सम्पन्न गरिसकेको छ भने, देउराली खानेपानी, फुला खानेपानी, पुट्टरा खानेपानी आयोजना पनि सम्पन्न गरी उपभोक्तालाई सहज रुपमा पानी वितरण गरेको छ ।
प्रदेश गौरवकै योजनाको रुपमा रहेको बैडी अत्रोलि पुट्टार सिंचाई आयोजनाबाट स्थानीय कृषकहरु व्यवसायिकता तर्फउन्मुख भएका छन् । सिंचाइको व्यवस्था भएसंगै आलु, मौसमि तथा वेमौसमि तरकारी खेतीलाई ब्लकका रुमपा अगाडि बढाइएको छ । कृषकले उत्पादन गरेको उपजलाई सहज रुपमा बजारीकरण तथा भण्डारमा भण्डारण गरी बेसिजनमा बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सित भण्डार निर्माण कार्य पनि भइरहेको अध्यक्ष थापाले बताए ।
यस्तै, गाउँपालिकाले स्वास्थ्य, शिक्षालाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ। न्यून आयस्तर भएका समदुायको बाहुल्यता रहेको गाउँपालिकामा कक्षा १० सम्म निःशुल्क पढाउने व्यवस्था मिलाएको छ । शिक्षकलाई तालिम, ३ कक्षासम्मका विद्याथीलाई दिवा खाजाको व्यवस्था गरिएको छ । शैक्षिक र भौगोलिक हिसाबले गाउँपालिका टाढा रहेको छ । गाउँपालिकाका बासिन्दाको शैक्षिक स्तर माथि उकास्न गाउँमै सीप मुलक शिक्षा प्रदान गरी रोजगारीको वातावरण सृजना गर्न सकिन्छ भन्ने तर्फगाउँपालिका अगाडि बढिरहेको छ । वडा नं. १ को पुट्टारमा कालिगण्डकी बहुउद्देश्यीय प्राविधिक विद्यालय स्थापना गरी रेन्जरको पर्ढाई, वडा नं. ३ चन्द्रज्योति माविमा सवइन्जिनियरको पर्ढाई भइरहेको छ ।

स्वास्थचौकी, स्वास्थ्य केन्द्रको पहुँच विस्तार गरी सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ सबैलाई पाएक पर्ने ठाउँमा स्वास्थ्य चौकीका भवन निर्माण तथा विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइएको छ । यस्तै, कृषिमा प्रविधिको प्रयोग गर्ने निती अनुसार गाउँपालिकाले कृषकहरुलाई आधुनिक कृषि औजार अनुदानमा वितरण गर्ने, विदेशबाट फर्किएका युवालाई गाउँमै काम गर्ने वातावरण बनाउनका लागि आवश्यक सहयोग गर्ने नीति बनाएको छ । कम्तिमा एक रोपनी क्षेत्रफलमा लसुन, प्याज लगायो भने प्रतिरोपनी ५ हजारको दरले अनुदान दिने, २ रोपनी क्षेत्रमा बेसार खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजारको दरले अनुदान दिने र कम्तिमा ४ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्ने कृषकलाई प्रतिरोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेको छ।
गाउँपालिकाले स्वास्थ्य चौकीहरुको सुधार, विद्यालय सुधार, विद्यालयको स्थिति आंकलन गरी आवश्यक सहयोग गर्ने, श्रोतको व्यवस्थापन गर्ने, जनशक्तिलाई सक्षम बनाउने, शिक्षकको योग्यता र क्षमता वृद्धि गराउनका लागि पालिकाले प्राथमिकतामा राखेको छ ।
राधादेवी अधिकारी : गाउँपालिका उपाध्यक्ष
जननिर्वाचित भएर आएपछि हामीले पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिएका छौं । सडक नै विकासको पहिलो सूचक मानिएको र गाउँपालिका बासिन्दाले पनि सडक नै चाहियो भन्ने माग बढि आउने गरेकाले सडक विस्तार तथा स्तरोन्तीका काम प्राथमिकतामा परेहा छन् । अध्यारो घिरिङलाई उज्यालो घिरिङ बनाउने काम पुरा भएसंगै हामीले सबैको पहुँचमा सहज रुपमा खानेपानी पुर्याउनुपर्छ भन्ने मान्यताका साथ अहिले एक घर एक धारा कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाएका छौ । कृषि, स्वास्थ्य शिक्षा तथा सीपमुलक तालिम पनि गाउँपालिकाको प्राथमिकतामा रहेको छ । स्थानीय स्तरमै स्वरोजगार बनाउने गरी विशेष गरी लक्षित वर्गको कार्यक्रम अर्न्तर्गत महिलाहरुलाई विभिन्न सीप मुलक तालिम प्रदान गर्ने गरिएको उपाध्यक्ष अधिकारीले बताइन् ।

गाउँपालिकाले सञ्चालन गरेको तालिममा सहभागि त हुने तर, सिकेको सीपलाई व्यवहारमा उतार्ने काम एकदमै कम भएकाले प्रतिफल देखिन नसकेको उपाध्यक्ष अधिकारी चिन्ता व्यक्त गर्छिन । व्यवसायिक कृषि पेशा तर्फआकषिर्त गर्न गाउँपालिकाले उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि अगाडि बढाएको छ । यस्तै, मलिाहरुलाई व्यवस्थित गरी बैठक बस्नका लागि टोलटोलमा महिला आमा समुहको सामुदायिक भवन निर्माण गरिएका छन् । गाउँपालिकाले महिलाहरुको नेतृत्व र क्षमता विकासका साथै आर्थिक शसक्तिकरणका लागि सीपमुलक तालिम सञ्चालन गरेको छ । ग्रामीण क्षेत्र र जनजाति समुदाय भएकाले महिला दिदीबहिनीहरु अगाडी आएर आफ्नो कुरा राख्न, घरबाट बाहिर हिड्न आप्ठ्यारो मान्नु हुन्थ्यो । अहिले विभिन्न तालिम, सचेतना मुलक कार्यक्रमले महिलाहरुमा आत्मनिर्भता बढेको छ। आफ्ना समस्याहरु खुलेर भन्न सक्ने बन्नु भएको उपाध्यक्ष अधिकारी बताउँछिन् ।
यस्तै, ग्रामीणक्षेत्रको पालिका भएकाले विशेष गरी न्यायीक समितिमा बाटोको विवाद, साधसिमाना मिचिएका, श्रीमान श्रीमती बीचको मनमुटाव, सम्बन्ध विच्छेद जस्ता मुद्दाहरु आउने गरेका र सम्भव भएसम्म दुबै पक्षलाई जितजितको अनुभूति दिने गरी मिलापत्र गराउने गरिएको उपाध्यक्ष अधिकारी बताइन । कानूनको ज्ञान नहुँदा तथा कानूनी सल्लाहकार पनि सहजै प्राप्त नहुँदा न्याय निरुपणमा विभिन्न समस्याहरु झेल्नुपरेको उपाध्यक्ष अधिकारी बताउँछिन् ।

विष्णु प्रसाद पोखरेल : प्रमुख प्रशासकीय अधिकृत
गाउँपालिकाले विकासबाटै समृद्धि हाँसिल गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल बताउँछन् । पूर्वाधार अन्तर्गत सडक विस्तार तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखेका अगाडि बढेको गाउँपालिकाले आर्थिक, सामाजिक, मानसिक विकासका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । बाटोको सहज पहुँच भयो भने अन्य कुराहरु क्रमिक रुपमा विकास हुँदै जान्छन भन्ने सोच पालिकाले बनाएको उनले बताए ।
‘सामाजिक विकास जस्तै स्वास्थ्य, शिक्षालाई पनि बढी प्राथमिकता दिनुपर्ने हुन्छ, जस कारण मानव विकासमा धेरै ठुलो टेवा पुर्याउन सक्छ’, प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘स्वास्थ्य चौकीहरुको सुधार, विद्यालय सुधार, विद्यालयको स्थिति आंकलन गरी स्रोतको व्यवस्थापन गर्ने, जनशक्तिलाई सक्षम बनाउने, शिक्षकका योग्यता र क्षमता वृद्धि गराउने लगायतका विषय प्राथमिकतामा छन् ।’

खानेपानीको समस्या भएका ठाउँमा ‘एक घर एक धारा’ अभियान, लिफि्टिङ खानेपानी योजना चलिरहेको उनले बताए । उनका अनुसार यस वर्ष पनि धेरै ठाउँमा खानेपानी योजना सञ्चालनको कार्यलाई अगाडि बढाइएको छ । भौतिक पूर्वाधार सहित अन्य विकासहरु गरेमा यहाकाँ जनतामा खुसी सिर्जना हुन्छ र खुसी सिर्जना भएपछि विकास र समृद्धि हाँसिल गर्न सकिन्छ भन्ने सोचका साथ गाउँपालिका अगाडि बढको छ ।
गाउँपालिकाले युवा लक्षित कार्यक्रम, कृषि क्षेत्रको प्रवर्द्धनका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम, पशुपालन प्रवर्द्धनका कार्यक्रमलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । उत्पादित उपजको बजारीकरणका विषयमा पनि सरोकारवालाहरुसंग छलफल तथा आवश्यक व्यस्थापनका कममा गाउँपालिकाले योजना बनाएको छ । घिरिङ बजारी पहुँचबाट टाढा छ तर पनि हामी जहाँ छौ त्यहीबाट सुधारको अभियान सुरु गर्नुपर्छ भन्ने सोचका साथ कार्यक्रम अगाडि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।
विद्यालय, स्वास्थ्य चौकीमा मौजुदा स्थितिलाई विस्तारै सुधार गरी परिवर्तन गर्दै सेवा प्रवाह राम्रो गर्नुपर्छ र गुणस्तर कायम गर्नुपर्छ भन्ने योजना गाउँपालिकाले बनाएको छ । उनले भने, ‘एकैचोटि ठुलो फड्को मार्न त नसकिएला तर क्रमिक रुपमा परिवर्तन गर्नका लागि मौजुदा स्थितिको आंकलन गरियो भने क्रमिक रुपमा सुधार हुँदै जान्छ र हामी हाम्रो गन्तव्यमा पुग्न सक्छौ ।’

यस्तै, गाउँपालिकाको आन्तरिक आय कम्जोर छ जनताको माग र आकांक्ष धेरै छन् । संघ र प्रदेशले दिएको बजेटबाट नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्दा धेरै समस्याहरु झेल्नुपरेको छ । संघ र प्रदेशबाट तोकिएर आएका बजेटबाट काम सम्पादन गर्दा समयमै रकम निकासा नहुने समस्या पनि झेल्नुपरेको छ । नदीजन्य वस्तु बिक्री वितरणका लागि ठेक्का नलाग्दा र लगाउन नपाउँदा गाउँपालिकाले आन्तरिक आय गुमाउनुपरेको छ । पालिका आन्तरिक आम्दानीमा कमजोर हुँदा लक्ष्य अनुसार अगाडि बढ्न सकेको छैन ।










